काठमाडौं। समग्र उद्योगी–व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्व हाँक्न उद्योगी–व्यवसायीको रुचि घट्दै गएको देखिएको छ।
७७ जिल्ला, सात प्रदेश र विभिन्न नगरपालिकामा शाखा सञ्जाल रहेको महासंघ नेतृत्व गर्न विगतका निर्वाचनभन्दा योपटक संख्यामा कमी आएसँगै उद्योगी–व्यवसायीको चासो कम रहेको आँकलन सुरु भएको छ।
तीन वर्षअघि भएको महासंघ निर्वाचनका लागि केन्द्रीय सदस्यसहित १ सय २३ जनाले उम्मेदवारी दिएका थिए। तर, योपटकको निर्वाचनका लागि भने १ सय १९ जनाको मात्र उम्मेदवारी परेको छ।
अझ विगतका निर्वाचनमा दुई ‘प्यानल’ हुने गरेको थियो। तर, यसपालि निर्वाचनमा तीन प्यानल होमिँदा समेत उम्मेदवारहरूको उल्लेख्य सहभागिता नहुनुलाई महासंघ नेतृत्व हाँक्न उद्योगी–व्यवसायीले खासै रुचि नराखेको आभाष हुन थालेको चर्चा व्यवसायी वृत्तमा चल्न थालेको छ।
महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले मुलुकको अर्थतन्त्र नै धराशयी बनिरहेका बेला महासंघ नेतृत्वमा जाने र राजनीति गर्ने विषयमा चासो कम भएको हुनसक्ने बताए।
पछिल्लो समय महासंघ निर्वाचनमा खर्च धेरै हुने र सदस्य शुल्क नै ७५ हजार रहेकाले पनि धेरैले खर्च गर्न डराएका कारण उम्मेदवार संख्या घटेको हुनसक्ने उनको भनाइ छ।
अहिले केन्द्रीय सदस्य उम्मेदवारका लागि ७५ हजार, उपाध्यक्षका लागि ३ लाख र वरिष्ठ उपाध्यक्षका लागि ५ लाख रुपैयाँ शुल्क तोकिएको छ।
लामो समय कोभिड र त्यसपछि रुस–युक्रेन युद्धका कारण व्यवसाय संकटमा परिरहेका बेला खर्च गर्नसक्ने क्षमता व्यवसायीमा घटेको छ। यही कारण पनि निर्वाचनमा सहभागी हुनेको संख्या कम भएको हुनसक्ने व्यवसायीको भनाइ छ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवारले करोडौं रुपैयाँ खर्च गर्नुपर्ने र केन्द्रीय सदस्यका उम्मेदवारले पनि त्यति नै दरमा खर्च गर्नुपर्ने भएपछि नेतृत्वमा आउने चाहना रहँदा रहँदै ‘ब्याक’ भएको हुनसक्ने व्यवसायी बताउँछन्।
महासंघका अर्का पूर्वअध्यक्ष भवानी राणाले पनि व्यवसायी आफैं आर्थिक समस्याबाट गुज्रिरहेका बेला निर्वाचनमा हुने भड्किलो खर्च गर्नसक्ने अवस्था नरहेको बताउँछिन्।
‘यस्तै कारण महासंघ नेतृत्वमा आउन चाहनेको संख्या कम भएको हुनसक्ने मेरो अनुमान छ,’ राणाले क्यापिटल नेपालसँग भनिन्।
यसपालि वरिष्ठ उपाध्यक्षका लागि तीनजनाले उम्मेदवारी दिएको र केन्द्रीय सदस्य संख्या भने पहिलाभन्दा घट्नुलाई निर्वाचनको खर्च गर्ने प्रवृत्तिप्रति नेतृत्वले सोच्नुपर्ने बेला आएको राणाको भनाइ छ।
उद्योग–व्यवसायमा उत्पादन नै खुम्चिएको, बजारमा व्यापार घटेको र बैंक तथा वित्तीय संस्थाको ब्याज आकासिएका कारण खर्च धान्न मुस्किल छ। यिनै समस्यामा परेका व्यवसायी महासंघ नेतृत्व तहका लागि रुचि नराखेको हुनसक्ने देखिन्छन्।
चैत २८ मा हुने निर्वाचनका लागि वस्तुगततर्फका उम्मेदवार खुमबहादुर सुवेदीले दर्ता शुल्क नै चर्को भएको बताए। एक केन्द्रीय सदस्यले ७५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने र निर्वाचन प्रचार पनि महँगो हुँदै गएका कारण धेरै उद्योगी–व्यवसायीको चासो हुँदाहुँदै उम्मेदवार बन्नबाट पछि हटेको हुनसक्ने उनले बताए।
१ सय १९ जनाको उम्मेदवारी दर्ता
निर्वाचन आयोगले दिएको जानकारीअनुसार एक वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ। यस्तै उद्योग वाणिज्य समूह (जिल्लानगर) तर्फ एक उपाध्यक्षका लागि तीन, वस्तुगततर्फ एक उपाध्यक्षका लागि तीन र एक एसोसिएट उपाध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ।
प्रदेश अन्तर्गत एक/एक केन्द्रीय सदस्यका लागि कोशी प्रदेशमा तीनजना, मधेश प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा तीन र सुदूरपश्चिमका लागि दुईजनाले उम्मेदवारी दिएका छन्।
एक संस्थापन सदस्य समूहका लागि दुईजनाको उम्मेदवारी परेको छ। यस्तै वस्तुगत संघको १४ केन्द्रीय सदस्यका लागि २८, जिल्लानगरतर्फ १८ जनाका लागि ३२ र एसोसिएटमा १९ का लागि ३० जनाको उम्मेदवारी परेको छ।
द्विराष्ट्रिय उद्योग वाणिज्य सघंतर्फ एकजनाको मात्र उम्मेदवारी परेको छ। महासंघमा ६१ सदस्यीय कार्यसमितिका लागि अहिले १ सय ८ जनाले उम्मेदवारी दिएका छन्। चार केन्द्रीय सदस्य भने कार्यसमितिले मनोनयन गर्ने छ।