काठमाडौं। देश बनाउन राजनीतिमा हाेमिएका रवि लामिछानेकाे पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भष्ट भएकाे खुलेकाे छ।
गृहमन्त्री पद खुस्केपछि पुन:सरकारमा जाने मनसायका साथ उपनिर्वाचनकाे तयारीमा लामिछाने छन्। उनैका पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै पार्टी भ्रष्ट भएकाे खुलेकाे हाे।
मन्त्री बनाइदिने भन्दै सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच बार्गेनी भएकाे अडियो कपुरबोट मिडियाले सार्वजनिक गरेको हो।
अडियाेअनुसार श्रेष्ठले आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको र स्वास्थ्यमन्त्री बनाइदिने भन्दै २ करोड मागेका छन्।
अडियाेमा श्रेष्ठले आफ्नाे पार्टीलाई सहयाेग गर्ने छुट्टै दुई/तीन जना रहेकाे बताएका छन्। साेही टिमबाट आफूलाई कुरा आएको बताउँदै उनले भने, 'आज नै फिक्स गर्नुपर्छ पैसा। उधारो हुँदैन, २ साढे २ भन्छन्। मैले १ दिए पनि मान्छन् होला। चेक दिएपछि पनि मान्छन् होला।’
उक्त अडियाे व्यवसायी प्रसाईंले २ करोड दिने वाचा गरेका छन्। उनले संवादमै पैसा सभापति रवि लामिछानेलाई नै पुग्छ त भन्दै प्रश्नसमेत गरेका छन्। उनकाे जवाफमा श्रष्ठले रवि लामिछानेभन्दा पनि उनी निकटबाट कुरा आएको प्रष्ट्याएका छन्।
सांसद र व्यवसायीबीचकाे अडियाे सार्वजनिक भएपछि पार्टीले भने उक्त भिडियाे पुरानाे भएकाे दाबी गरेकाे छ।
अडियाे सार्वजनिकपछि सांसद निलम्बन
अडियाे सार्वजनिकपछि ती सांसद निलम्बित भएका छन्। रास्वपाले आइतबार सांसद श्रेष्ठलाई निलम्बन गरेको हाे।
उनले पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बनाइदिने भन्दै व्यवसायी प्रसाईंसँग पैसा मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो।
अडियाे प्रकरणपछि निलम्बन गरिए पनि अनुशासन समितिले छानबिन गरेपछि के कारबाही गर्ने भन्ने किलियर हुने रास्वापाले जनाएकाे छ।