काठमाडौं। जुन कामका लागि कर्जा लिएको हो, त्यहीनुरूप सदूपयोग नभएको पाइएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामाथि सूक्ष्म निगरानी बढाएको छ।
केन्द्रीय बैंकको बैंक सुपरभिजन टिमले गरेको अडिटबाट केही बैंकले एउटा उद्देश्य राखेर दिएको कर्जा अर्कै उद्देश्य प्राप्तिका लागि प्रयोग भएको पाइएपछि बैंकहरूमाथि सूक्ष्म निगरानी सुरु गरेको हो।
‘व्यक्तिले कुनै व्यवसाय गर्न भनेर बैंकबाट ऋण दिएको अडिटबाट देखियो,’ राष्ट्र बैंकका एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘उक्त ऋणीले जुन काम गर्न ऋण लिएको हो, त्यसमा नलगाई दोस्रो व्यक्तिलाई दिएको देखियो। बैंकबाट ऋण लिएर दोस्रो व्यक्तिलाई किन दियो भन्ने खुलेको छैन।’
अहिले केही बैंकमाथि सुपरभिजनको टिमले अडिट गरिरहेको छ। बैंकबाट ऋण लिएको, कुनै व्यक्तिलाई बैंकबाट लिएको ऋण दिएको र पछि ऋणीलाई नै फिर्ता गरेपछि केन्द्रीय बैंक थप सशंकित बन्न पुगेको हो।
बैंकको स्रोत कुन क्षेत्रमा प्रयोग भइरहेको छ भनेर केन्द्रीय बैंकले हेर्दा त्यस्तो फेला परेपछि अहिले बैंकमाथि सूक्ष्म निगरानी बढाइएको ती अधिकारीले बताए। कर्जा प्रवाह भएको क्षेत्र नखुल्दा अनेकन शंका गर्ने ठाउँ हुन्छ।
अहिले मिटरब्याजीको बिगबिगी छ। कतै बैंकिङ प्रणालीमा भएको पैसा निकालेर मिटर ब्याजीसमक्ष पुर्याएको हुनसक्ने केन्द्रीय बैंकको अनुमान छ।
बैंक ऋण नभएका तर सम्पत्ति राखेर ऋण लिन सक्नेले धमाधम ऋण निकालेर अप्ठेरोमा परेका व्यवसायीलाई चर्को ब्याजमा लगाएको हुनसक्ने केन्द्रीय बैंकको शंका छ।
अहिले धेरै व्यवसायीलाई चैतमसान्तको दबाब छ। पुसपछि माघ र फागुनमा नियमित किस्ता बुझाएकालाई चैतमा नबुझाउँदा पनि बैंकले ऋणीमाथि कारबाही गर्न नसक्ने नियामकीय व्यवस्था छ।
माघ र फागुनमा पनि किस्ता बुझाउन नसक्नेलाई बैंकले पेल्न थालेपछि ऋणीले बैंकबाट ऋण लिने र महँगो ब्याजमा ऋण दिने कार्य बढेको हुनसक्ने केन्द्रीय बैंकको आँकलन छ। त्यही भएर बैंकले दिएको कर्जामाथि सूक्ष्म निगरानी बढाइएको केन्द्रीय बैंकले जनाएको छ।
अहिले व्यवसायीहरू बैंकको ब्याज तिर्न मिटर ब्याजमा ऋण लिएर इज्जत जोगाउन लागेका छन्। त्यसका लागि एउटा ऋणीले बैंकबाट पैसा लिने र अर्को ऋणीलाई दिने र उक्त ऋणीले बैंकलाई बुझाउनुपर्ने साँवा–ब्याज बुझाउने खेल भएको हुनसक्ने केन्द्रीय बैंकको अनुमान छ।
लगानीयोग्य स्रोत नभएको अवस्थामा पनि जुनसुकै क्षेत्रमा कर्जा दिएर कर्जा निक्षेप अनुपात (सिडी रेसियो) नपुर्याउने, सिआरआर, खुद तरल सम्पत्ति कार्यान्वयन नगर्नेजस्ता गतिविधि बैंकहरूले गरेको केन्द्रीय बैंकले जनाएको छ।
‘एभर ग्रिनिङ’ गरेर निष्क्रिय कर्जा नदेखाउने र ‘प्रोभिजन’ नगर्नेजस्ता कार्य भएको बैंक सुपरभिजनले पत्ता लगाएको छ।