काठमाडौं। निजामती सेवामा प्रशासन समूहको उपसचिव हुँदादेखि नै विवादास्पद छवि बनाएका कृष्णहरि पुष्कर पुनः अर्को विवादमा तानिएका छन्। डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयको जिम्मेवारी पाएलगत्तै पुष्करले अर्थसचिवको कुर्सी ‘हत्याउन’ भारतीय दूतावासमार्फत दबाब सिर्जना गराएकाे समाचार बाहिरिएपछि उनी विवादमा तानिएका हुन्।
बजेटमार्फत करका दर हेरफेर गरेर सीमित समूह र नेतालाई लाभ पुर्याउन सहयोग गरेका उनै सचिव पुष्करलाई पुनः अर्थसचिवमै फर्काउन भारतीय दूतावास सक्रिय भएको समाचार क्यापिटल नेपालमा प्रकाशित भएको थियो।
भारतीय दूतावासका राजदूत, डिसिएम तथा रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुखले पुष्करलाई अर्थसचिव बनाउन अर्थमन्त्री महतमाथि निरन्तर दबाब दिइरहेको समाचारमा उल्लेख छ।
भारतीय दूतावासबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजुलाई ‘निर्देशन’ गएपछि आरजुले अर्थमन्त्री महतलाई अर्थसचिवमा पुष्कर ल्याउन दबाब दिइरहेकी छिन्।
स्रोतका अनुसार अर्थमन्त्री महतले देउवापत्नी आरजुको कुरा नकार्नै सक्दैनन्। ‘त्यही भएर अर्थमन्त्रीले अहिलेसम्म अर्थसचिवमा को ल्याउने भन्ने निर्णय गर्न सकेका छैनन्,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘अर्थमन्त्रीको भित्री इच्छा अब्बल सचिव ल्याएर बजेट बनाउने र दाजु रामशरणको लिगेसी जोगाउनेमा छ।’
पुष्कर भारत बस्दा उनले भारतीयसँग कुशल सम्बन्ध बनाएका थिए। त्यही भएर भारतीय दूतावासको प्रेम पुष्करमाथि भएको र उनैलाई अर्थसचिव बनाउन निरन्तर दबाब दिइरहेको खुलेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग पुष्करको निकटता रहेको हल्ला चलाइए पनि उनीसँग कसिलो सम्बन्ध छैन। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका पालामा पनि भारतीय दूतावासको इशाराअनुसार उनलाई त्यहाँ ल्याइएको थियो।
अर्थसचिव हुँदा विवादित व्यक्तिलाई पुनः अर्थसचिव बनाएर ल्याउँदा सन्देश राम्रो नजाने भन्दै प्रधानमन्त्री दाहालले अरू सचिव ल्याउन भनेका थिए।
‘तर, देउवापत्नी आरजुको दबाब निरन्तर भइरहेका कारण अन्य सचिवको नाम अर्थमन्त्री महतले ल्याउन सकेका छैनन्,’ स्रोतले भन्यो, ‘निश्कलंक छवि बनाएका सचिव ल्याउँदा अहिलेको समस्याबाट पार पाउन सकिनेमा अर्थमन्त्री विश्वस्त छन्।
तर, पुष्कर ल्याउँदा शर्माको भन्दा झन् हालत खराब हुन्छ भनेर डराइरहेका छन्।’
पुष्करले भारतीय दूतावाससँग आफू पुनः अर्थसचिव बन्न इच्छुक रहेको सन्देश दिएर अमेरिका पुगेका छन्। अहिले पुष्कर अमेरिकामै छन्। तर, उनलाई अर्थसचिव बनाउने वाचा दूतावासले दिएकाले उनी आफू अर्थसचिव बन्नेमा ढुक्क छन्।