झापा। नेपालको अदुवा, अलैंची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ। पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार रूपैयाँ मूल्य बराबरको १ करोड २५ लाख ४७ हजार ६ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ ।
गत आव २०७८/७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार रूपैयाँ मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको १ करोड १ लाख ७८ हजार एक सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो।
यसैगरी चालु आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार रूपैयाँ मूल्य बराबरको ७२ लाख २१ हजार तीन सय ७४ केजी अलैँची भारत निर्यात भएको छ ।
गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट ३ अर्ब २२ करोड २७ लाख २२ हजार रूपैयाँ मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैंची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उक्त आवको १२ महिनामा भने ४ अर्ब ७६ करोड ४३ लाख ८६ हजार रूपैयाँ मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो ।
मेची भन्सार कार्यालयले जनाएअनुसार चालु आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट १ अर्ब १० करोड ९१ लाख रूपैयाँ मूल्य बराबरको तीन करोड ६८ लाख ६८ हजार छ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ ।
गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट २९ करोड सात लाख चार हजार रूपैयाँ मूल्य बराबरको चार लाख ६४ हजार चार सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने रु १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो ।
पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भए तापनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ ।रासस