काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा योपटक साझा उम्मेदवार नबनाउने वरिष्ठ उपाध्यक्षका प्रत्यासीबीच भद्र सहमति भएकाे छ।
विगतका निर्वाचनमा पदाधिकारीबाहेक सदस्यहरू भने साझा उम्मेदवार बन्ने चलन थियो। तर, योपटक भने तीनैजना वरिष्ठ उपाध्यक्षका प्रत्यासीले आफ्नो टिम गठन गर्दा कुनै पनि समूहमा नदोहोर्याउने सहमति गरेका हुन्।
खासगरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठको टिमबाट एसाेसिएट उपाध्यक्षका उम्मेदवार बनेका भरत आचार्यलाई अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठको समूहले समेत साझा उम्मेदवार बनाएपछि केही सदस्य पनि साझा बन्ने दौडमा लागेका थिए।
तर, साझा उम्मेदवार हुँदा पदाधिकारीमा कसले कसलाई भोट हाल्ने भन्ने यकिन नहुने र एकअर्काप्रति शंका बढ्ने भएपछि कडाई गरिएको एक उम्मेदवारले जानकारी दिए।
केही सदस्य भने उमेशलाल, अञ्जन र रामचन्द्र संघईको टिममा साझा उम्मेदवार बन्ने तयारीमा लागेका थिए। साझा उम्मेदवार बन्न नपाउने भएपछि तीनवटै वरिष्ठ उपाध्यक्षनिकट सदस्यहरू दोधारमा छन्।
सदस्यहरूबीचको बढेको आपसी दुरीका कारण अहिलेसम्म उमेशलाल र रामचन्द्रले आफ्नो टिम सार्वजनिक गरिसकेका छैनन्।
यता अञ्जनकाे टिमले भने शुक्रबार बेलुका १५ जना सदस्यको टुंगो लगाएको जनाएको छ। तर, ती सदस्यको नामावली सार्वजनिक भने गरिएको छैन।
त्यस्तै उमेशलाल समूहले पनि शुक्रबारदेखि नै उम्मेदवारी टुंगो लगाउने कसरतमा लागे पनि निर्णयमा पुगिसकेको छैन।
अहिले उमेशलालसँग रहेका धेरै सदस्यले अञ्जन र रामचन्द्रको टिमबाट पनि निर्वाचन लड्ने चाहना राखेका कारण टुंगो लगाउन नसकिएको एक सदस्यले क्यापिटल नेपाललाई जानकारी दिए।
वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलालले भने तीनवटा समूहमध्ये एउटाबाट मात्र उम्मेदवार बन्न पाउने भन्दै कडाई गरेका छन्।
विगतका निर्वाचनमा भने केही सदस्य सबै समूहको साझा उम्मेदवार बन्ने गरेका थिए। जसका कारण उनीहरूको जित निश्चित हुँदै आएको थियो।
योपटक भने तीनजना वरिष्ठ उपाध्यक्षका प्रत्यासी टिम बनाएर निर्वाचनमा लागेको र एकले अर्कालाई शंकाकाे घेरामा राखेको हुँदा साझा उम्मेदवार हुँदा सूचना चुहिने डरसमेत मान्न थालेका छन्।
त्यतिमात्र नभई, साझा उम्मेदवार बन्दा आफूनिकट व्यवसायीलाई जिताउन समस्या हुने भएकाले कुनै पनि उम्मेदवारलाई साझा नबनाउने रणनीतिमा अहिले उम्मेदवार लागिरहेका छन्।
अञ्जनले एसाेसिएटमा आचार्यलाई साझा बनाएसँगै अब उनको भोट कता जान्छ भन्ने शंका उमेशलाललाई छ।
एसाेसिएटमा १८ सदस्यका लागि दुवै टिमबाट ९/९ सदस्य राख्ने सहमति भएको छ। तर, अहिलेसम्म उम्मेदवारको नामावली भने सार्वजनिक भइसकेको छैन।