काठमाडौं। भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेप ह्याचरी उद्योग संघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्।
दाना उद्योग संघ अध्यक्ष रविन पुरी र ह्याचरी अध्यक्ष ऋषिराम पौडेलसहितको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका हुन्।
भेटमा उनीहरूले मुलुकको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिब १ खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताए।
५ लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय तथा पोषणयुक्त कुखुराको मासु र अँन्डा उपलब्ध गराउँदै आएको व्यवसाय अवैध तस्करीले संकटमा परेको प्रतिनिधिमण्डलले जानकारी गराएको थियो।
‘नेपालको पोल्ट्री क्षेत्रमा सबैभन्दा प्रमुख समस्या खुला सीमानाको छ। भारतीय सीमाबाट अवैध पोल्ट्रीजन्य वस्तु चल्ला, कुखुरा, तयारी मासु र अन्डा दिनहु भित्रिँदा यो पेसामा अत्यन्त ठूलो जोखिम रहेको छ,’ दुवै संघले बुझाएको ज्ञापनपत्रमा छ।
भारतमा बेलाबेला देखापर्ने बर्ड फ्लु रोग संक्रमणले रोग भित्रिने सन्त्रास र अवैध आयात हुँदा मुलुकको राजस्व चुहावटसमेत हुने गरेको उनीहरूको भनाइ छ।
भारतबाट प्रज्ञापनपत्र लिएका मालबाहक कन्टेनरमा स्विट कर्न, फ्रेन्च फ्राइमात्र उल्लेख भई भन्सार कार्यालयबाट पास भए पनि मालबाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै उनीहरूले नाकामा कडाई गर्न आग्रह गरेका हुन्।
नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, वीरगन्ज, बारा, पर्सा, रौतहट, सर्लाही, मलंगवा, जलेश्वर, विराटनगरलगायत नाकाबाट अवैध कुखुरा, तयारी मासु, चल्ला, अन्डा आयात हुने गरेको उनीहरूको दाबी छ।
विशेषगरी भारतीय सीमानाकाका जिल्लामा सञ्चालित कोल्ड स्टोरले भारतबाट अवैध कुखुरा आयात गरी ड्रेसिङ गरेर नेपालका प्रमुख सहरमा मासु निर्यात गरिरहेको, नाकाका भन्सार कार्यालयमा सतर्कतापूर्वक जाँच नगर्ने गरेको उनीहरूको गुनासो छ।
सीमामा गृह मन्त्रालयमातहतकै सशस्त्र प्रहरी बल खटिँदै आएको छ।
दुवै संघले भारतीय सीमानाकाबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अन्डालगायत नियन्त्रणका लागि सुरक्षा निकायलाई आवश्यक निर्देशन दिन माग गरेका छन्।
व्इवसायीको गुनासो सुनेपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरीमात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिने गरी अगाडि बढेको बताएका थिए।
आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधि सह्य नहुने र यसमा संलग्न जो कोहीलाई कारबाही दायरामा ल्याउने भन्दै श्रेष्ठले तत्काल सम्बन्धित निकायलाई मन्त्रालयबाट निर्देशन जाने वचन दिएका थिए।