काठमाडौं। पाँच वर्षअघि स्थापना भएको आरएम ग्रुपले जलविद्युतमा आक्रमकरूपमा लगानी विस्तार गरिरहेको छ।
हालसम्म ग्रुपले सहायक कम्पनीमार्फत २ सय ४४ मेगावाट क्षमताका पाँच आयोजना अघि बढाएको छ। सञ्चालनमा आएका र निर्माणाधीन आयोजनामा आरएमले १५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।
ग्रुपको नेतृत्व कृष्ण आचार्यले गरेका छन्। आचार्य स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान) का अध्यक्ष पनि हुन्। ग्रुपले जलविद्युतबाहेक अन्य क्षेत्रमा लगानी बढाएको छ।
ऊर्जा क्षेत्रको नेतृत्व भने आचार्य आफैंले लिएका छन्। कास्कीमा १५ मेगावाट क्षमताका रुदी–ए र रुदी–बी जलविद्युत आयोजना बनाएको ग्रुपले अहिले ४८.८ मेगावाटको खिम्ती–२ र २० मेगावाटको लाङटाङ खोला आयोजना बनाइरहेको छ।
ग्रुपले स्थापना गरेको विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८.८ मेगावाटको रुदीखोला र ६.६ मेगावाटको रुदी–बी जलविद्युत आयोजना सम्पन्न गरेको छ। रुदी खोला आयोजना तीन वर्षदेखि सञ्चालनमा छ।
यस्तै पिपुल्स इनर्जी लिमिटेडले बनाइरहेको खिम्तीको ५५ प्रतिशत काम सकिएको छ। खिम्तीमा ८ अर्ब ६४ करोड रुपैयाँ लगानी हुँदैछ। सानिमा बैंकको अगुवाइमा उक्त आयोजनामा ऋण लगानी भएको हो।
त्यस्तै लाङटाङ खोला आयोजना पनि निर्माणाधीन अवस्थामा छ। लाङटाङ आयोजनाको ७५ प्रतिशत काम सकिएको छ। यो आयोजना बनाउन ४ अर्ब रुपैयाँ लाग्ने छ।
ग्रुपले अहिले ताप्लेजुङमा १ सय ६० मेगावाटको घुन्सा खोला आयोजना पहिचान गरेको छ। आयोजनाको सम्भाव्यता अध्ययन सुरु भएको ग्रुपका अध्यक्ष आचार्यले बताए।
जलविद्युत प्रवद्र्धक भएको ग्रुपमा सफ्टवेयर, व्यापार, भेटेरिनरीको काम बैंक तथा वित्तीय संस्थामा लगानी गरेको छ।
२० मेगावाटको लाङटाङ आयोजना मल्टिइनर्जी डेभलपमेन्ट कम्पनीमार्फत सुरु भएको हो। २० मेगावाटको लाङटाङ खोलाको ७५ प्रतिशत काम सकिएको छ। यो आयोजना १५ महिनाभित्र पूरा गर्ने लक्ष्य छ। केही आयोजना पहिचानका क्रममा रहेको अध्यक्ष आचार्यले बताए।
यातायात, पर्यटन, ‘फुडप्रोसेसिङ’ हुँदै ग्रुपले अहिले जलविद्युतका अतिरिक्त पर्यटन उद्योगमा लगानी विस्तार गर्न लागेको उनको भनाइ छ।
ग्रुपमार्फत सफ्टवेयर कम्पनी सञ्चालन पनि भइरहेको छ। आफैं सफ्टवेयर बनाएर विदेशमा बेच्ने गरेको उनी सुनाउँछन्।