काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन तयार नहुँदै भित्र्याइएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधिको विषयमा प्रश्न उठाएका छन्।
शुक्रबारको सम्सद बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणले कानून नै तयार नहुदै टेरामक्स प्रविधि राख्न हतार गरेको भन्दै थापाले प्रश्न उठाएका हुन् ।
`नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स भन्ने प्रबिधि कानून निर्माण नहुदै भित्र्याएको छ,´ थापाले भने `यो प्रविधि ल्याइसकेपछी कार्यान्वयनमा जाँदै गर्दा एउटा व्यक्तिले अर्को व्यक्तिलाई कल गर्दा कहाँबाट गर्यो र कति समय गर्यो भन्ने र हामीले गरेको म्यासेजको कन्टेन्ट पनि दूरसञ्चार कम्पनीसँग मात्र होइन बाहिर पनि जान्छ यसको आवश्यकता किन पर्यो?´
थापाले यसको रेकर्ड टर्कीको कम्पनीमा रेकर्ड रहने थाहा पाएकाे भन्दै औचित्य माथी प्रश्न गरे। `विधेयक ल्याएपछि त्यसमा काम गर्नुपर्ने होला तर अहिले टेरामक्स जडानमा किन हतार गरिदै छ? यसको जवाफ चाहिन्छ´ थापाले भने।
टेरामक्स यस्तो प्रविधि हो, जसमा सेवा प्रदायक कम्पनीका ग्राहकका सबै किसिमका रेकर्ड, एक व्यक्तिले अर्को व्यक्तिलाई लेखेको म्यासेजको रेकर्ड, कसले कसलाई कल गर्यो र के भन्यो भन्ने जस्ता सबै रेकर्ड रहन्छ।
आवश्यक सामग्री भित्र्याइसकेको प्राधिकरणले हाल टेरामक्स प्रविधि जडानका लागि दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलसँग सहकार्य गर्ने तयारी गरिरहेको छ।
कूल २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ८ करोड १० लाख रुपैयाँ) लागत रहेको उक्त योजनाको आवश्यक सामग्री आपूर्ति गर्ने जिम्मा पाएको लेबनानको भानराइस सोलुसन कम्पनीले पहिलो चरणमा आवश्यक सर्भर, मोबाइल र टेस्टकिटलगायत सामग्री ल्याइसकेको छ।
यो प्रविधि जडान भएपछि सबै सेवा प्रदायकका सिस्टमको रेकर्डदेखि ती सेवा प्रदायकका ग्राहकका सम्पूर्ण किसिमका रेकर्ड यसमा रहन्छ। भ्वाइस, एसएमएस र डेटाको ट्राफिक मनिटरिङ, फ्रड डिटेक्सन र सेवा गुणस्तर जाँच गर्न भन्दै प्राधिकरणले यो प्रविधि ल्याएको भए पनि यसले हालको दूरसञ्चार विधेयक मस्यौदाले किटान गरेका सबै विषयको कार्यान्वयन गर्न सक्छ।