काठमाडौं। बजेटमार्फत करका दर हेरफेर गरेर सीमित समूह र नेतालाई लाभ पुर्याउन ‘सहयोग गरेका’ सचिव कृष्णहरि पुष्करलाई पुनः अर्थसचिवमै फर्काउन भारतीय दूतावास सक्रिय भएको खुलेको छ।
भारतीय दूतावासका राजदूत, डिसिएम तथा रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुखले पुष्करलाई अर्थसचिव बनाउन अर्थमन्त्रीमाथि निरन्तर दबाब दिइरहेको खुलेको हो।
भारतीय दूतावासबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजुलाई ‘निर्देशन’ गएपछि आरजुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अर्थसचिवमा पुष्कर ल्याउन दबाब दिएको खुलेको हो।
‘दूतावासले भनेको कुरा आरजुले काट्न सक्ने अवस्था छैन,’ सम्बद्ध स्रोतले क्यापिटल नेपालसँग दाबीसाथ भन्यो, ‘दूतावासबाट आएको निर्देशन आरजुले ग्रहण गरेर अर्थमन्त्री महतलाई भनिसकेकी छिन्।’
स्रोतका अनुसार अर्थमन्त्री महतले देउवापत्नी आरजुको कुरा नकार्नै सक्दैनन्। ‘त्यही भएर अर्थमन्त्रीले अहिलेसम्म अर्थसचिवमा को ल्याउने भन्ने निर्णय गर्न सकेका छैनन्,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘अर्थमन्त्रीको भित्री इच्छा अब्बल सचिव ल्याएर बजेट बनाउने र दाजु रामशरणको लिगेसी जोगाउनेमा छ।’
पुष्कर कायस्थ हुन्। कायस्थप्रति भारतीय दूतावासको लगाव हुन्छ। कांग्रेस नेता विमलेन्द्र निधीलाई स्थापित गराउन भारतीय दूतावासले शिलायात्रासमेत गरेको थियो।
पुष्कर भारत बस्दा उनले भारतीयसँग कुशल सम्बन्ध बनाएका थिए। त्यही भएर भारतीय दूतावासको प्रेम पुष्करमाथि भएको र उनैलाई अर्थसचिव बनाउन निरन्तर दबाब दिइरहेको खुलेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग पुष्करको निकटता रहेको हल्ला चलाइए पनि उनीसँग कसिलो सम्बन्ध छैन।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका पालामा पनि भारतीय दूतावासको इशाराअनुसार उनलाई त्यहाँ ल्याइएको थियो।
दाहालले अर्थसचिव पुष्करलाई बनाउन चाहेको हल्ला गरिए पनि प्रधानमन्त्री दाहालले बैकुण्ठ अर्याल ल्याउँदा बजेट बनाउन सजिलो हुन्छ भनेर अर्थमन्त्रीलाई सुझाएको स्रोतको दाबी छ।
अर्थसचिव हुँदा विवादित व्यक्तिलाई पुनः अर्थसचिव बनाएर ल्याउँदा सन्देश राम्रो नजाने भन्दै प्रधानमन्त्री दाहालले अरू सचिव ल्याउन भनेका थिए।
‘तर, देउवापत्नी आरजुको दबाब निरन्तर भइरहेका कारण अन्य सचिवको नाम अर्थमन्त्री महतले ल्याउन सकेका छैनन्,’ स्रोतले भन्यो, ‘निश्कलंक छवि बनाएका सचिव ल्याउँदा अहिलेको समस्याबाट पार पाउन सकिनेमा अर्थमन्त्री विश्वस्त छन्। तर, पुष्कर ल्याउँदा शर्माको भन्दा झन् हालत खराब हुन्छ भनेर डराइरहेका छन्,।’
पुष्करले भारतीय दूतावाससँग आफू पुनः अर्थसचिव बन्न इच्छुक रहेको सन्देश दिएर अमेरिका पुगेका छन्। अहिले पुष्कर अमेरिकामै छन्। तर, उनलाई अर्थसचिव बनाउने वाचा दूतावासले दिएकाले उनी आफू अर्थसचिव बन्नेमा ढुक्क छन्।
पुष्करको विवादित विगतबारे देउवापत्नी आरजु राम्रोसँग जानकार छिन्। तर, भारतीय दूतावासको निर्देशनपछि उनी अर्को अर्थसचिव ल्याउनेबारे टसमस भएकी छैनन्। त्यही भएर नयाँ सचिव अर्थमा आउन सकेका छैनन्।
‘बजेट बनाउने बेला घर्किसकेको छ। अर्थमन्त्री सचिव फेरेर नयाँ सचिव ल्याई संकटको बैतरणी तर्ने दाउमा छन्,’ स्रोतले भन्यो, ‘तर, नयाँ सचिव ल्याउँदा पुष्करबाहेक अन्य ल्याउन उनलाई अनुमति मिलेको छैन।’
पुष्करको विवादित विगत
विवादास्पद सचिवको सूची बनाउने हो भने पुष्कर अग्रस्थानमा पर्छन्। प्रशासन समूहका उनी उपसचिव हुँदादेखि नै विवादको भूमरीमा थिए।
तत्कालीन श्रम तथा यातायातमन्त्री मोहमद आफ्ताब आलमका विश्वासपात्र रहेका उनी टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशक बने। केही महिनामै म्यानपावर कम्पनीहरूसँग अवैध असुली गर्न खोजेको आरोप लगाउँदै मन्त्री गुरुङले उनलाई विभागबाट सरुवा गराएका थिए।
त्यसपछि उनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा पनि काम गरे। तर, जहाँ–जहाँ कामका लागि पुगे, त्यहाँ उनी सधैं विवादमा मुछिए।
मकवानपुरमा रहँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापनपत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा भयो। बारामा सिडिओ हुँदा पनि व्यवसायीहरूले उनीमाथि अनेक नाममा दुःख दिएको आरोप लगाएका थिए।
यस्ता विवादित छविका व्यक्तिलाई अर्थसचिवमा ल्याउन दूतावास, देउवापत्नी आरजु र विभिन्न स्वार्थसमूह निरन्तर लाग्दा अर्थमन्त्री महत गम्भीर अप्ठयारोमा परेका छन्। अर्थतन्त्र बुझेका, अहिलेको समस्या हर्न काबिल सचिव ल्याउन महत चाहन्छन्। तर, नसकेको उनका सहयोगी बताउँछन्।