काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि)को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययनका लागि संस्कृती,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अध्ययन समिति बनाएका छन्।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द र सहारा न्यौपाने सदस्यमा छन्।
यो समितिले निगमको समग्र संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ। तथापी, यो समितिले कहिलेसम्ममा रिपोर्ट बुझाउने भन्ने खुलाएको भने छैन्।
नेवानिको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन पहिलो पटक भने भएको हैन। यसअघि पनि धेरै पर्यटन मन्त्रीहरुले समिति गठन गर्दै प्रतिवेदन बुझ्दै आएका छन्। तर, प्रतिवेदनमा आएअनुसार कार्यन्वयन भने हुन सकेको छैन।
पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले पूर्व पर्यटन सचिव शुसिल घिमिरेको संयोजकत्वयमा अध्ययन समिति गठन गरेको थियो। सो समितिले नेवानिलाई तत्कालै कम्पनी मोडलमा वा विदेशी व्यवस्थापक ल्याउन सुझाव दिएको थियो।
मन्त्री भट्टराईले सुझाव दिने समितिकै संयोजक घिमिरेलाई नेवानिको कार्यकारी अध्यक्ष बनाएका थिए। घिमिरेकै पालामा नेवानिका सञ्चालक समितिका सदस्य डिमप्रकाश पौडेललाई महाप्रवन्धकमा नियुक्त गरेका थिए।
महाप्रवन्धक पौडेलले घिमिरे संयोजक रहेको समितिले औल्याएको कम्पनी मोडलमार्फत नेवानिलाई सञ्चालनका लागि आवश्यक मस्यौदा तयार पारेसँगै नेवानिका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए।
जसका कारण तत्कालीन पर्यटनमन्त्री प्रेम आलेको पालमा महाप्रवन्धक पौडेललाई बर्खास्त गर्दै कम्पनी मोडलको व्यवस्थालाई क्लोज गरी दिएका थिए।