काठमाडौं। नेपाली नयाँ वर्ष २०८० को अवसरमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे: १६ औं दरवारमार्ग सडक महोत्सव हुने भएको छ।
महाेत्सव वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एन्ड बार एसाेसिएसन नेपाल (रेवान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा हुन लागेको हो।
लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको हो। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ।
काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवर्द्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ। साथै काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुति दिइनेछ। गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरु प्रदर्शन गरिने छ। महाेत्सव बिहान ११ बजेदेखि बेलुका ८:३० बजेसम्म आयोजना गरिनेछ।
महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समूहहरुको प्रस्तुति हुनेछन्। कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम व्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ- आफना प्रस्तुति राख्नेछन्।
महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहनेछन्। विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन / प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरु हुनेछन्।
यसैगरी महोत्सवमा भिडियाे गेमका पारखीहरुका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ। दरवार मार्गको दक्षिण क्षेत्र महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्राहालय गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ।
महोत्सव संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह- प्रायोजकमा कार्लबर्ग वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन्।
पछिल्लो पटक देखिएको तरलता संकटलगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाडोभन्दा चाडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ।
पचास देखि ६० हजार को उपस्थित रहने अपेक्षा गरिएकाे छ। ५० वटा स्टलहरु महिला उद्यमी र हस्तनिर्मित उत्पादनलाई बढावा दिन विशेष प्रोत्साहन गरिने छ।