काठमाडौं। ह्याम्स हस्पिटलका अध्यक्ष रामशरण भण्डारी (आरएस) नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा चुनावी मैदानमा उत्रिने भएका छन्।
व्यावसायिक रूपमा सफल भण्डारी महासंघको ५७ औं साधारणसभामार्फत चुनावी मैदानमा उत्रिने भएका हुन्।
सिन्धुपाल्चोकमा ५० शय्याको अस्पताल सञ्चालन गरिसकेका रामशरण भण्डारी अहिले काठमाडौंमा ह्याम्स अस्पताल खरिद गरेर सञ्चालन गरिरहेका छन्।
ह्याम्स खरिददेखि पूर्वाधार तथा प्रविधि जुटाउन लागिपरेका भण्डारी पेसाले मेडिकल इक्युपमेन्ट व्यवसायी हुन्।
आजभन्दा २५ वर्षअघि सिन्धुपाल्चोकबाट काठमाडौं आएका भण्डारीले करिब १९ वर्षसम्म मेडिकल उपकरणको व्यवसाय गरे ।
ह्याम्स हस्पिटल आजभन्दा २३ वर्षअघि स्थापना भए पनि नयाँ लगानी, पूर्वाधार तथा प्रविधियुक्त बनाई सञ्चालन गरेका भण्डारी महासंघतर्फ अघि बढिरहेका हुन्।
ह्याम्स हस्पिटल अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अस्पतालभित्र पर्छ। सरकारले निजी क्षेत्रका अस्पतालको पूर्वाधार र प्रविधिअनुसार वर्गीकरण गर्नुपर्ने र आफ्नो चुनावी एजेन्डा पनि त्यही भएको बताउँछन्।
सरकारले अस्पतालको पूर्वाधार, गुणस्तर, सेवा र लगानीका आधारमा शुल्क संरचना तोक्नुपर्ने भण्डारी बताउँछन्। ‘जसले गर्दा मानिसलाई स्वास्थ्य सेवा लिँदा पैसा तिरेअनुसार सेवा पाएको छु भन्ने विश्वास होस्’ उनले भने।
अहिले अस्पताल सञ्चालन गर्न बनाएको नीति–नियम कडाइका साथ लागू गर्नुपर्छ । अहिले पनि सरकारले अस्पताल सञ्चालन गर्न बनाएको नीति–नियम नराम्रो भने छैन । यसलाई कार्यान्वयन गर्ने पक्षमा मात्र कमजोरी देखिन्छ ।
सबै स्वास्थ्य संस्था र अस्पतालमा हाल भएकै नीति–नियम लागू गर्ने हो भने पनि धेरै समस्या आफैं समाधान भएर जान्छ। सरकारले बनाएका नीति नियम मान्दै सबै क्षेत्रमा लागू हुनुपर्ने उनको भनाइ छ।