काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट लेखन टिम तयार पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सहसचिव भुपाल बराललाई अर्थमा ल्याएर बजेट लेखनको जिम्मेवारी दिएको हो।
बजेट लेख्ने टिमको नेतृत्व बरालले गर्ने भएका छन्। सहसचिव उत्तर खत्री र बाबुराम सुवेदी पनि बजेट लेखन टिममा छन्। यस्तै सहसचिव धनीराम शर्मा, आनन्द काफ्ले र जनकराज शर्मा पनि बजेट लेखन समितिमा सदस्य छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बराल, सुवेदी र खत्रीलाई अर्थमा भित्र्याएर बजेट लेखन प्रक्रियालाई तीव्रता दिएका हुन्। विगतमा यतिखेर बजेटको मस्यौदा तयार भइसकेको हुन्थ्यो। अर्थमन्त्री नआउनु, बीचमा सरकार परिवर्तन भएकाले बजेट लेखन टिम बन्न सकेको थिएन।
टिमले आजैबाट विभागीय प्रमुखको जिम्मेवारी लिने र बजेट लेखन कार्यमा खटिने भएको छ। बिहीबार अर्थ मन्त्रालयमा तीनै जना सहसचिव हाजिर भइसकेका छन्। तर, उनीहरूको पोस्टिङ आज हुन्छ।
समितिले संसदको दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको हो। आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको मस्यौदा तयार गरी पेस गर्ने जिम्मेवारीसमेत समितिको हो।
समितिले अर्थमन्त्री डा. महत, अर्थसचिव तोयम राय, राजस्व सचिव रामप्रसाद घिमिरेलगायतसँग समन्वय गरी बजेट लेखन कार्य अघि बढाउने भएका छन्। बराल यसअघि पनि ७ महिना मन्त्रालयको बजेट महाशाखा प्रमुख भइसकेका छन्।
राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँकभित्र रही बजेट तयार पार्न सरकारलाई सिलिङ दिएको छ।
आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा १ खर्ब ५ अर्ब ४३ करोड रुपैयाँ कम हो । चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बराबरको बजेट ल्याएको थियो ।
तर, मध्यावधि समीक्षामार्फत सरकारले बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ घटाएको छ ।
बजेट परिचालनबाट आगामी आर्थिक वर्ष ०८०/८१ मा ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान आयोगको छ। सुरुआती विनियोजनको तुलनामा मध्यावधि समीक्षामार्फत बजेटको आकार १४ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ कायम गरिएको छ ।