काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईले वस्तुगततर्फ उपाध्यक्षमा हेमराज ढकाललाई साझा उम्मेदवारका रूपमा अगाडि बढाउने तयारीमा लागेका छन्।
वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको टिमबाट वस्तुगततर्फ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका ढकाललाई संघईले साझा उम्मेदवार बनाउने तयारीका लागि छलफल अगाडि बढाएका हुन्।
संघईको टिमबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका सकुन्तलाल हिराचनलाई `ब्याक´ गराएर ढकाललाई साझा बनाउने गरी केही व्यवसायीले छलफल चलाएका हुन्। वस्तुगततर्फ संघईको टिमबाट उपाध्यक्ष हिराचनले टिम बनाउन नसकेको र आफ्नो उम्मेदवार कमजोर रहेकाले श्रेष्ठको टिमका ढकाललाई साझा बनाएर अगाडि बढाउन संघई तयार भएको एक उम्मेदवारले जानकारी दिए।
अहिले वस्तुगतका लागि २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १४ जना अञ्जन श्रेष्ठ र बाँकी १४ पनि श्रेष्ठले आफ्नै रहेको दाबी गर्दै आएका छन्।
जसका कारण सदस्यहरू नै नभएकाले उपाध्यक्षको उम्मेदवार कमजोर भएको ठहरसहितको रणनीतिअनुसार ढकाललाई नै सघाउने गरी संघईले छलफल अगाडि बढाएका हुन्। चैत २८ र २९ गते हुने निर्वाचनका लागि अहिले उम्मेदवारमा टिम फेरबदलको खेल चलिरहेको छ।
उमेशलालको टिममा एसोसिएट उपाध्यक्ष भरतराज आचार्यलाई अञ्जनको टिमले साझा उम्मेदवार बनाएसँगै संघईले पनि थप रणनीति बनाएका हुन्। उनै संघईले अञ्जनको टिमबाट एसोसिएटमा उम्मेदवार बन्ने तयारी गरेकी ज्याेत्सना श्रेष्ठ अन्तिम समयमा आफ्नो पक्षमा ल्याएका थिए।
त्यही रिस फेर्न प्रबलजंग पाण्डेलाई ब्याक गराएर अञ्जनले उमेशलालको टिममा रहेका आचार्यलाई साझा बनाएका थिए। अञ्जन र उमेशलालबीच थप साझेदारी नहोस् भन्नकै लागि संघईको टिमले वस्तुगतका उम्मेदवार ढकाललाई सघाउन लागेको उनीनिकट एक व्यवसायीले बताए।
उपाध्यक्षका प्रत्यासी ढकालले पनि आफूलाई साझा उम्मेदवार बनिदिन आग्रह आइरहेको बताए।
‘मलाई संघईले मात्र हाेइन, अञ्जनको टिमको समेत प्रस्ताव आइरहेको छ,’ ढकालले क्यापिटल नेपालसँग भने, ‘मेरा टिमसँग कुरा मिले सहमति हुनसक्छ म सहमतिका लागि तयार छु।´
संघईको टिमबाट बस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार सकुन्तला हिराचनले भने साझा उम्मेदवारको विषयमा कुनै छलफल नभएको बताए। निर्वाचनका लागि आफु धेरै अगाडी बढिरहेकोले सहमतिको सम्भावना बन्द भएको र आफुनै संघईको टिमको उपाध्यक्षको उम्मेदवार रहेकोले भ्रममा नपर्न मतदाताहरुलाई समेत आग्रह गरेका छन्।
चण्डि फकाउँदै संघई
महासंघ निर्वाचनमा चतुर खेलाडीको उपमा पाउँदै आएका पूर्वअध्यक्ष चण्डिराज ढकाललाई आफ्नो समर्थनमा ल्याउन संघईले दौडधुप गरिरहेका छन्।
ढकाल भने अहिले उमेशलालको पक्षमा लागिरहेका छन्। चण्डिका भाइ हेमराजलाई साझा बनाएर जिताउने प्रतिबद्धतासाथ संघईले आफ्नो रणनीति अगाडि बढाइरहेका छन्।
खासगरी जिल्ला, नगर र वस्तुगतमा बलियो मानिएका चण्डिको साथ पाए पहिलो चरणमै विजयी हुने आँकलन संघईको छ। जसका कारण उनले योपटक वस्तुगतका उम्मेदवार हिराचन ब्याक गराएर ढकाललाई साथ दिएर अगाडि बढ्ने तयारी गरेका हुन्।