काठमाडौं। अर्थमन्त्रीले डा. प्रकाशशरण महतले विकासमा सबैलाई चित्त बुझाउने नाममा बजेट छर्ने काम रोक्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाजसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. महतले बजेटको प्राथमिककरण गर्नुपर्ने आवश्यकता आफूले महसुस गरेको बताए।
'पुँजीगत खर्चलाई जहाँ आवश्यक छ र जसका लागि स्रोत उपलब्ध हुनसक्छ भनेर काम गर्नुपर्छ। सबैलाई चित्त बुझाउने नाममा स्रोत बीनाको कार्यक्रम राख्ने काम गर्नु हुँदैन' उनले भने।
त्यस्तै चालू तथा साधारण खर्च घटाउनका लागि सरकारले काम गर्नैपर्ने उनकाे भनाइ छ। अहिले राजस्व घटेको तथा बजारमा मन्दी देखिएको समयमा सरकारले वितरणका काम अलि कम गर्ने उनले बताए।
बजारमा माग घटेको, सरकारी राजस्व घटेको तथा उच्च ब्याजदरका विषयमा सरकार सचेत भएको उनले बताए। ब्याजदर कम गर्न सकिने विषउमा निरन्तर छलफल भइरहेको र अधिकतम प्रयास गरिने उनको भनाइ छ।
अर्थसचिव तोयम रायाले चालू खर्च भनिए र देखिएजस्तो उच्च दरले नबढेको बताए।
बजेटको लेखांकनका कारण वा प्राविधिक कारणले चालू खर्च बढेको देखिए पनि वास्तविक रुपमा भनेजसरी नबढेको उनको भनाइ छ।
'चालू खर्च बढेको कुरा जसरी आएको छ त्यसरी बढेको छैन। केही बढेको छ तर भनेजसरी होइन। हामी संघीयताका गएपछि हस्तान्तरणको रकम चालूमा जान्छ तर त्यसको परिचालन विकास निर्माणमा पनि हुन्छ' उनले भने।
चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभए पनि गत वर्षको तुलनामा घट्ने क्रम न्यून भएको उनको भनाइ छ।