काठमाडौं। सत्तारुढ गठबन्धन सरकारले आफ्नो साझा न्यूनतम कार्यक्रममा आर्थिक, वित्तीय र मौद्रिक नीतिको सामन्जस्यपूर्ण ढंगले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने जनाएको छ।
सरकारले बिहीबार आफ्नो साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएको हो। ‘अर्थतन्त्रमा देखापरेको मन्दी औद्यागिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, लगानी जोखिम वित्तीय क्षेत्रमा देखिएको संकुचन, ब्याजदर र न्यून पुँजीगत खर्च घट्दो राजस्व संकलन तथा पुँजी बजारमा आएको गिरावटलगायत समस्यालाई आर्थिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढंगले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाइने छ,’ साझा न्यूनतम कार्यक्रम वाचन गर्दै सञ्चार सूचना तथा प्रविधिमन्त्री रेशा शर्माले भनिन्।
बजेट प्रणालीलाई नीतिगत, संरचनागत तथा कार्यगतरूपमा पुनर्संरचना गर्ने पनि उनले बताइन्। ‘जल जमिन, जंगल, जडीबुटी, जनशक्तिजस्ता महत्वपूर्ण स्रोतसाधनको उच्चतम प्रयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोहोर्याउनका लागि पुँजी निर्माण तथा परिचालन नयाँ प्रविधिको उपयोग, उत्पादक शक्तिको क्षमता विकास पूर्वाधार क्षेत्रमा लगानी र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै समन्यायिक वितरणमा आधारित नीति अवलम्बन गरिने छ,’ मन्त्री शर्माले भनिन्।
त्यस्तै राष्ट्रिय अर्थतन्त्रको विकासका लागि कृषि, जलस्रोत र पर्यटन विकासलाई प्राथमिकतामा राख्ने पनि कार्यक्रममा उल्लेख छ। नेपालको मौलिक उत्पादनको विकास र विस्तारका लागि अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने पनि नीति तथा कार्यक्रममा छ। देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचना तथा कार्यगत सुधार गर्ने जनाइएको छ।
यस्ताे छ सरकारले सार्वजनिक गरेकाे साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)