काठमाडाैं। नेपाली सेनाको नेतृत्वमा ‘हिमाल बचाउने प्रयास’ नारासहित आयोजना भइरहेको चौथो हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवाला निकायहरूको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबैभन्दा ठूलो डोनर रहेको छ ।
यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान हो । पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य हो ।
सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुण हिमाल गरी ८ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाइ गर्ने यो कार्यक्रममा कोका–कोलासहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागी छन् । चैत १४ देखि जेठ २२ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको छ। संकलन भएका सबै फोहोरहरू उचित व्यवस्थापनका लागि रि–साइक्लिङ पार्ट्नरहरूलाई हस्तान्तरण गरिनेछ ।
हिमाल सरसफाइ अभियान २०२३ का क्याम्पेन डिरेक्टरले भने, ‘हिमालहरू हाम्रा राष्ट्रको गौरव हुन्, र स्थानीय समुदाय र भावी पुस्ताका लागि तिनीहरूलाई सफा राख्ने र संरक्षण गर्नु हाम्रो दायित्व हो। हामी यी हिमालहरुमा बढ्दै गरहेको फोहोरका बारेमा जनचेतना जगाउनको लागि हामीले स्थानीय समुदाय र अन्य सरोकारवाला निकायहरुसँग मिलेर काम गरिरहेका छौं। यसमा कोका–कोला फाउन्डेसन र अन्य सम्पूर्ण सरोकारवाला निकायहरूबाट प्राप्त निरन्तर साथ र सहयोगको लागि हामी आभारी छौं।’
प्रतिकूल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ । टोलीमा आरोही, डाक्टर र शेर्पाहरू छन्। प्रत्येक टोलीको नेतृत्व एक क्याम्पेन लिडरले गरेका छन्, जसलाई नेपाली सेनाका दुई बेस क्याम्प म्यानेजर र २ डेप्युटी डिरेक्टरहरु समावेश छन्। त्यसैगरी फोहोर संकलन, लोडिङ र अन्य सहयोगको लागि ४५ शेर्पाहरु पनि छन् । त्यस्तै सन्चालन, समन्वय र रियर अपरेसनको लागि अन्य २० जना कर्मचारीहरु रहेका छन् ।
कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले भने, ‘पहाडी इकोसिस्टमले बाढीलाई नियन्त्रण गर्नुको साथै सफा पानी र हावा प्रदान गरी मानव जीवनलाई अत्यावश्यक सेवाहरू प्रदान गर्छ। जलवायु परिवर्तन विशेष गरी पहाडहरूमा तीव्र छ र हामीले तिनीहरूलाई बचाउन काम गर्नुपर्छ।
कोका–कोला फाउन्डेसनको सहयोगले आशा छ कि यस्ता पहलहरूले नेपाल र विश्वभरमा अझ बढी जलवायु कार्य सञ्चालन गर्न मद्दत गर्नेछ। हामीले नेपाली सेनालाई साथ दिन पाउँदा खुसी छौं र संलग्न सम्पूर्णमा सफलताको लागि शुभकामना दिन चाहन्छौं।’
नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९ मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाइ अभियानमा १० हजार ५ सय ८६ किलो फोहोर संकलन भएको थियो। सोही प्रयासलाई निरन्तरता दिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा ६ वटा हिमालबाट २७, ६७१ किलो फोहोर निकालिएको थियो।
अभियानको तेस्रो संस्करण २०२२ मा भएको थियो जहाँ चारवटा हिमालबाट ३३ हजार ८ सय ७७ केजी फोहोर (७,२२७ केजी बायोडिग्रेडेबल र २६,६५० केजी नन–बायोडिग्रेडेबल) संकलन गरिएको थियो । सगरमाथा, ल्होत्से हिमाल, मनास्लु हिमाल र कञ्चनजंघा हिमालबाट संकलन भएका यस्ता फोहोरहरूमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनरह, प्लास्टिक र इलेक्ट्रोनिक फोहोर आदि पर्छन् ।