वीरगञ्ज। केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रुपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ। यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ।
विगतमा सडक सञ्जालको विकास नहुँदा र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी सडक कालोपत्र भएपछि विकासको गतिमा अघि बढेको छ। पूर्वपश्चिम हुलाकी सडक कालोपत्र भएसँगै यहाँका बासिन्दा खुशी भएका छन्।
हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्जदेखि ठोरीसम्मको सडक कालोपत्र भएपछि उनीहरूलाई सदरमुकाम वीरगञ्जसम्म पुग्न सहज हुनाका साथै हिलो र धुलोबाट मुक्त भएका छन्।
'वीरगञ्ज बजारदेखि ठोरीसम्मको दूरी करिब ५२ किलोमिटर पर्छ, गाउँबाट वीरगञ्ज बजार पुग्न पहिला मोटरसाइकलमा सात/आठ घण्टासम्म लाग्दथ्यो,' ठोरी गाउँपालिका–४ का ललित श्रेष्ठले भने, 'सडक कालोपत्र भएपछि अहिले दुई घण्टामै सदरमुकामसम्म पुग्छौं।' अब धुलो र हिलोबाट मुक्ति पाइएको अभास भइरहेको उनको कथन थियो।
'विगतमा सडक जीर्ण हुँदा वीरगञ्जसम्म पुग्न सात घण्टा लाग्थ्यो,' नेकपा (एमाले) का स्थानीय नेता खगेन्द्र श्रेष्ठले भने, 'हाम्रो सदरमुकाम नै वीरगञ्ज हो, त्यसैले सदरमुकाम पुग्नै पर्दथ्यो तर बटो राम्रो नभएकाले पुग्न धेरै समय लाग्ने हुँदा त्यो दिन घर फर्किन नभ्याइने भएकाले बाध्य भएर बेलुका वीरगञ्जमै होटल बास बस्नु पर्दथ्यो तर अब त्यो सबै बाध्यताबाट मुक्त भएका छाैं। अब बेलुका भए पनि घरसम्म पुग्न कुनै समस्या हुँदैन।'
'पर्सा राष्ट्रिय निकुञ्ज भएकाले व्यापक पर्यटकीय सम्भावनाको क्षेत्र ठोरी भए पनि सडक पूर्वाधारका कारण पछाडि परेको थियो,' उनले भने, 'सडक बनेसँगै अहिले विस्तारै ठोरी पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेकाले स्थानीयवासीको आयश्रोतसमेत बढ्न थालेको छ।'
'विगतमा सडक जीर्ण हुँदा सवारीसाधन त्यति नचल्ने भएकाले गाउँमा उत्पादन भएको काउली, भन्टा, मूलालगायत नगदे बाली सहजरुपमा वीरगञ्ज बजारसम्म पुर्याउन समस्या हुन्थ्यो,' बहुदरमाई नगरपालिकाका श्रवण महतोले भने, 'अहिले भने उक्त सडकमा थुप्रै संख्या अटो रिक्सा चल्न थालेकाले सहजरुपमै ती बाली बजार पुर्याउन सकेका छौं।' यसबाट किसानसमेत उत्साहित भएको उनको भनाइ थियो।
ठोरीका ललित, खगेन्द्र र बहुदरमाईका श्रवण महतोको मात्र होइन, हुलाकी सडक कालोपत्र भएसँगै सो क्षेत्रका दुई दर्जनभन्दा बढी गाउँवासीलाई सदरमुकामसम्म आवतजावतमा सहज भएको छ।
नेपालकै पहिलो हुलाकी राजमार्गअन्तर्गत रौतहटदेखि चितवनसम्मको करिब ९० प्रतिशतभन्दा बढी सडकखण्डमा कालोपत्र भैसकको छ।
पूर्वमा रौतहटको दुर्गाभगवती गाउँपालिकास्थित बडहर्वादेखि पश्चिम चितवनको माडीस्थित कसहा क्षेत्रसम्मको दुई सय ८३ किलोमिटर सडकमध्ये हालसम्म दुई सय ५१ किमी सडकमा कालोपत्र सकिएको जनाइएको छ।
हुलाकी राजमार्ग निर्देशनालय वीरगञ्ज योजना कार्यालयका अनुसार हुलाकी सडकअन्तर्गत रौतहटदेखि चितवनसम्म करिब दुई सय ५१ किमी सडकमा कालोपत्र सकिएको छ। बाँकी करिब ३२ किमी सडकमध्ये वनजंगल तथा जग्गासम्बन्धी विवादलगायत कारणले काम अघि बढ्न नसकेको जनाइएको छ।
ठोरी क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगल परेकाले त्यहाँ सडक विस्तारलगायत विषयमा वातावरण प्रभाव मूल्यांकनका लागि हुलाकी सडक विभाग र मन्त्रालयमा सिफारिस पठाइएको उक्त कार्यालयका सूचना अधिकारी इञ्जिनियर दुर्गा मण्डलले जानकारी दिए। वातावारण प्रभाव मूल्यांकन प्रतिवेदन आएलगत्तै सो क्षेत्रमा सडक कालोपत्रलगायत काम अघि बढाइने उनले बताए।
सूचना अधिकारी मण्डलका अनुसार हुलाकी सडकअन्तर्गत रौतहटदेखि चितवनसम्म निर्माणाधीन पुलमध्ये चालु आर्थिक वर्षको हालसम्ममा पाँच वटा पुल निर्माण भइसकेको छ। चालू आवमा १४ वटा पुल निर्माण गर्ने लक्ष्य रहेकामा बाँकी नौ वटा पुलमा निर्माण भइरहेकोे छ।
अरुवा खोला, डोरा खोला, पर्साको तिलाबे खोला र चितवनको टुनामुना तथा चिताइ खोलाको पुल निर्माण भइसकेको तर रौतहटको बागमती नदीका साथै भकुवा, चितवनको रियू, बगै, घाँघर, भालु , पतरी, बाँदरमुडे र मुगै खोलामा पुल निर्माणाधीन अवस्थामा रहेको छ।
सडकतर्फ बाराको गढीमाई–बरियारपुर–कबही गोठ सडकको दस किमी सडकमध्ये साढे नौ किमी सडक कालोपत्र सकिएको र बाँकी ५०० मिटर सडक जग्गासम्बन्धी विवादका कारण रोकिएको सूचना अधिकारी इञ्जिनियर मण्डलले जानकारी दिए।
भरतपुर–ठोरी–माडी देवेन्द्रपुरदेखि बगै बसपार्कसम्म सडकमा भने वन जंगलका कारणका साथै निर्माण सामग्रीको अभाव तथा वातावरण प्रभाव मूल्यांकन हुन नसकेकाले करिब २० प्रतिशत मात्र सडकको काम रोकिएको उनको भनाइ थियो।
चालू आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माण गरिसक्नुपर्नेमा हुलाकी राजमार्गभित्र जंगल तथा सडकमा परेका घर, टहरा हटाउन भएको ढिलाइ, ठाउँठाउँमा जग्गासम्बन्धी विवादलगायतले हुलाकी राजमार्ग निर्माणको काम केही पछि धकेलिएको उक्त कार्यालयका प्रमुख दरोगाप्रसाद साहले जानकारी दिए।
हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनाका साथै हजारौं युवामा रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको विश्वास छ।
पूर्वपश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्न हुलाकी हिँड्ने छोटो बाटो थियो। उक्त बाटोलाई पद्मम शमशेरले आगाडि बढाएकाले पद्मम रोड पनि भन्ने गरिन्छ।
पूर्वपश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने आठ सय १७ किमीको ३२ वटा सहायक राजमार्ग छन्।
भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले विसं २०४७ मा नेपाल भ्रमणका क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
भारतीय सहयोगको सैद्धान्तिक सहमति विसं २०६१ मा भए पनि नेपालमा विसं २०६२/६३ को परिवर्तनपश्चात् भारत सरकारले नेपाल सरकारबाट छनोट भएका एक हजार चार सय ४० किमी सडकको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी सम्झौता गरिएको थियो।
सोबापत लाग्ने सम्पूर्ण खर्च भारत सरकारले बेहोर्दा र जग्गा अधिग्रहण, पोल, रुखहरू हटाउने र हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलको निर्माण नेपाल सरकारले गर्ने प्रावधानसहितको सम्झदारी भएको थियो। रासस