चितवन। भरतपुर महानगरपालिका–२९ मा ९ करोड रूपैयाँको लागतमा खानेपानी योजना सम्पन्न भएको छ। योजना सम्पन्न भएपछि यहाँका ३ सय ५० परिवार लाभान्वित भएका छन्।
संघीय सरकार र प्रदेश सरकारको ५ करोड ९५ लाख रूपैयाँ, भरतपुर महानगरको १ करोड ७५ लाख तथा स्थानीयको ६२ लाख रूपैयाँ बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो।
पाँच वर्षपछि उक्त योजना सम्पन्न भएको हो । योजना सञ्चालनमा आएपछि लामीडाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे र सतीडाँडाका बासिन्दा लाभान्वित भएका छन्।
स्थानीय सुशीला गुरुङले आधा घन्टाभन्दा बढी हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको बताउनुभयो । भोर्ले खोलाभन्दा माथिको गुण्डा खाालाबाट पानी ल्याउनुपर्ने बाध्यता आयोजना सञ्चालनमा आएसँगै हटेको छ। योजनाका सचिव केशव ढकालले भन्नुभयो, “बोत्तलमा पानी थापेर ल्याउनुपर्ने बाध्यता अब हटेको छ।”
आयोजनाअन्तर्गत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङ्की छ। थामडाँडामा दुई लाख लिटरको वितरण ट्याङ्की निर्माण गरिएको छ। वडाध्यक्ष सूर्यबहादुर गुरुङले महानगरपालिकाको एक मात्र पहाडी क्षेत्रमा सधैंको खानेपानी समस्या समाधान भएको बताए।