काठमाडौं। पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा विश्वभरि सबैभन्दा बढी चर्चाको शिखरमा कुनै विषय छ भने त्यो हो– च्याट जिपिटी।
‘आर्टिफिसल इन्टेलिजेन्स’ (एआई) प्रविधिमा आधारित च्याट जिपिटीले छोटो समयमै व्यापक लोकप्रियता पाएपछि त्यसलाई थप ‘एडभान्स’ बनाउँदै च्याट जिपिटी–४ विकास गरिसकेको छ।
च्याट जिपिटी यस्तो प्रविधि हो, जसले छोटो समयमा सबैभन्दा बढी प्रयोगकर्ता कमाउने एपका रूपमा आफूलाई स्थापित गरेको छ। त्यसैले पनि यो एप चर्चाको शिखरमा रहनु स्वाभाविक हो।
हाल विश्वभरि च्याट जिपिटीका फाइदा/बेफाइदा, मानवीय संशाधनमा पुर्याउने सहयोग/असर र यसको प्रभावकारिता तथा सीमाबारे निकै चर्चा भइरहेका छन्। धेरै ठाउँमा यसलाई मानिसको सहयोगीका रूपमा चर्चा गरिँदा कतिपय देशले भने गोपनियता देखाउँदै तथा मानवीय रोजगारी खोस्ने र मानिसलाई असर पुर्याउने बताउँदै प्रतिबन्ध लगाइसकेका छन्।
ओपनएआई नामक अमेरिकी स्टार्टअप कम्पनीले बनाएको र माइक्रोसफ्टले सहयोग गरेको च्याट जिपिटी भर्खरैमात्र युरोपेली देश इटालीले प्रतिबन्ध लगाएको छ।
गोपनियताका कारण देखाउँदै इटालीले च्याट जिपिटी प्रतिबन्ध लगाउँदै यसबारे तत्काल अध्ययन थाल्ने बताएको छ। त्यसैगरी चीन, रुस, उत्तर कोरिया र इरानमा ओपनएआईले आफूहरू पहुँचविहीन रहने निर्णय गरिसकेका छन्।
इटालीले च्याट जिपिटीमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि च्याट जिपिटी संस्थापक साम अल्टम्यानले इटाली आफ्नो मनपर्ने देशमध्ये एक भएको उल्लेख गरेका थिए।
‘हामी पक्कै पनि इटाली सरकारको पक्षमा छौं र इटालीमा च्याट जिपिटी प्रस्ताव गर्न बन्द गरेका छौं (यद्यपि, हामी सबै गोपनियता कानुन पालना गरिरहेका छौं जस्तो लाग्छ),’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘इटाली मेरा मनपर्ने देशमध्ये एक हो र म चाँडै फेरि भ्रमण गर्न तत्पर छु।’
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार इटालीको डेटा प्रोटेक्सन अथोरिटीले च्याट जिपिटी निर्माता ओपनएआईले आफ्ना प्रयोगकर्ताको डेटा चोरी गरेको आरोप लगाएर प्रतिबन्ध लगाएको छ।
साथै, इटालियन अधिकारीले नाबालिगलाई अवैध सामग्रीको सम्पर्कमा आउनबाट रोक्न च्याट जिपिटीसँग उमेर प्रमाणीकरण प्रणाली नभएको बताएको छ।
कम्पनीले थप जानकारी नदिएसम्म इटालीमा नियामकले ओपनएआईलाई देशका इन्टरनेट प्रयोगकर्तालाई च्याट जिपिटीमा पहुँच प्राप्त गर्नबाट रोक्न भनेको एनवाइटी रिपोर्टमा उल्लेख छ।
ओपनएआईलाई देशको प्राविधिक भविष्यबारे अन्तिम निर्णय गर्नुअघि एजेन्सीलाई सामग्री र सम्भावित उपाय उपलब्ध हुन २० दिनको समय दिइएको छ।
यसैबीच भारतको एक कम्पनीले कर्मचारीको क्षमता बढाउन च्याट जिपिटीको ‘सब्सक्रिप्सन’ खरिद गर्ने विषय पनि हालै सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार भारत बैंगलोरमा अवस्थित ‘क्यापिटल माइन्ड’ कम्पनीले कर्मचारीको काममा सहयोग पुर्याउने भन्दै च्याट जिपिटीको सब्सक्रिप्सन खरिद गर्न लागेको छ।
उक्त कम्पनीले च्याट जिपिटीको सहयोगमा कर्मचारीको कार्यक्षमता पाँच गुणाले बढ्ने भएकाले सब्सक्रिप्सन लिन लागेको उल्लेख गरेको छ।
तर, क्यापिटल माइन्डले आफ्ना कर्मचारीको क्षमता बढाउन भनेर यस्तो कदम चाल्ने तयारी गरेको भए पनि विश्वमा च्याट जिपिटीले मानिसको रोजगारी खोस्न सक्नेदेखि मानवीय नियन्त्रणभन्दा बाहिर रहन सक्ने विषय पनि चर्चामा छ।
नेपालको सन्दर्भमा च्याट जिपिटी
यसैसन्दर्भमा विभिन्न देश र व्यक्तिले च्याट जिपिटीबारे अलग–अलग कोणबाट आफ्नो धारणा प्रस्तुत गर्दै गर्दा नेपालको सन्दर्भमा यो कति उपयोगी र फाइदाजनक छ र यसले के कस्ता विषयमा नकारात्मक असर पुर्याउन सक्छ भन्ने विषय पनि महत्वपूर्ण बनेको छ। नेपालजस्तो विकासोन्मुख देशमा यसको सेवा प्रवाहले कतै मानिसको सिर्जनशीलतामा ह्रास ल्याउने त होइन भन्ने विषयमा पनि चिन्ता व्यक्त हुन थालेका छन्।
यही मेसोमा नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी च्याट जिपिटीमा मानिस पूर्णरूपमा निर्भर भएको खण्डमा भने यसले नकारात्मक असर पु¥याउने बताउँछन्।
‘यदि च्याट जिपिटीमाथि पूर्णरूपमा निर्भर भएको खण्डमा भने यसले मानव विकास र मानिसको सिर्जनशील क्षमतामा असर पुर्याउँछ,’ प्रवक्ता अधिकारीले क्यापिटल नेपालसँग भने, ‘तर, यसको फाइदा लिएर थप सिक्दै जान्छु भन्ने सोचसाथ प्रयोग गरेको खण्डमा भने यसले मानिसलाई सहयोग पुर्याउँछ।’
मानिसले सिक्ने हिसाबले च्याट जिपिटी प्रयोग गरे ठिक हुने तर ‘त्यहाँ छँदैछ मैले किन सिक्नुप¥यो’ भन्ने कुरा गरे घाटा हुने उनको भनाइ छ।
अधिकारीले च्याट जिपिटी विकासको चरणमा नै रहेको पनि बताए। ‘एआईमा आधारित यस्ता प्लेटफर्मले सिक्दै र सिकाउँदै जाने हुन्,’ अधिकारीले भने, ‘च्याट जिपिटीले नै केही समयमै च्याट जिपिटी फोर भनेर थुप्रै एडभान्स विशेषता थप गरेको हामीले देखिसकेका छौं।’
उनका अनुसार एआईमा आधारित यस्ता प्रविधिले बच्चाले पढ्दै र सिक्दै गएजस्तै विभिन्न चरणमा नयाँ कुरा सिक्दै र नयाँ विशेषता थप्नै जाने गर्छन्।
‘प्रविधिको युगमा एआई विभिन्न उद्देश्यमा प्रयोग हुने गरेको छ। विभिन्न देश तथा कम्पनीले पनि यसको प्रयोग विभिन्न उद्देश्यका लागि गरेको देखिन्छ,’ अधिकारीले भने, ‘तर, यसलाई सकारात्मकतर्फ लग्ने कि नकारात्मक तर्फ लग्ने भन्ने विषयले यसको फाइदा वा बेफाइदाको विषय निर्धारण गर्छ।’
उनले सबै विषयको राम्रो र नराम्रो दुवै पाटो हुने भएकाले यसलाई पनि सोहीरूपमा लिनुपर्ने बताए। यसको गलत प्रयोग गरे बेफाइदा पनि त्यतिकै हुने र सहि उपयोग गरे फाइदा पनि धेरै पुग्ने उनको भनाइ छ।
त्यस्तै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) अध्यक्ष रणजितकुमार पौदार एआईमा आधारित यस्ता प्रविधि प्रयोग कसरी र कहाँ गरिन्छ भन्ने विषयले सबैभन्दा ठूलो भूमिका खेल्ने बताउँछन्।
‘एआईमा आधारित यस्ता प्लेटफर्म र प्रविधिलाई विभिन्न कोणबाट हेर्न सकिन्छ,’ अध्यक्ष पौदारले भने, ‘हामीले यस्तो प्लेटफर्म र प्रविधि आवश्यक पर्दैन भनेर भनौं भने यसले हाम्रो कार्र्य सहज बनाइरहेको छ।
अब आवश्यक पर्छ भनौं भने सबै काम यसले गर्ने भएपछि मानिसले किन दुःख गरेर पढ्ने, किन खोज्ने र किन मिहिनेत गर्ने भन्ने धारणा पनि सिर्जना गर्न सक्छ।’
मानिसले घन्टौं लगाएर गर्न नसकेको काम यसले केही समयमा नै गर्ने भएकाले मानिसको अध्ययन, अनुसन्धान र खोजी गर्ने बाध्यतामा पूर्णविराम लगाइ आउँदो पुस्तालाई झन् निष्क्रिय बनाउने हो कि भन्ने ठाउँ पनि रहने बताए।
‘हिजोका दिनमा हामीले मिहिनेत गरेर, समय लगाएर कुनै काम गर्थ्याैं भने आज यसले सबै काम केही क्षणमै गरिदिन्छ,’ पौदारले भने, ‘तर, सबै काम यसले गरिदिएपछि भोलिका दिनमा मानिसले किन धेरै पढ्ने? किन धेरै दिमाग खियाउने? भन्ने सोच मानिसमा पैदा गरेर नकारात्मक असर पुर्याउन सक्ने अवस्था पनि यसले सिर्जना गर्न सक्छ।’
त्यस्तै गोपनियताको विषयमा भने खासै असर नपर्ने देखेको उनी बताउँछन्। केही मुलुकले गोपनियताको विषय देखाएर पनि यसमाथि प्रतिबन्ध लगाउन थालेको भए पनि यसलाई जुन प्रश्न गरेको छ, त्यसैको जवाफ दिने भएकाले गोपनियतामा असर गर्ने नदेखेको उनको भनाइ छ।
तर, यसको प्रयोग हामी कहाँ र कसरी गर्छौं भन्ने विषयले यसको निर्धारण गर्ने उनले स्पष्ट पारे। ‘नेपालको सन्दर्भमा एकातर्फ यसले सामाजिक, आर्थिक, शैक्षिक विषयमा सहयोग गर्ने देखिएको छ भने अर्कातर्फ मानिसलाई नै खोज्न र मिहिनेत गर्न तथा उसको सिर्जनशिलता रोक्ने हो कि भन्ने ठाउँ पनि राखेको छ,’ पौदारले भने, ‘नेपालको सन्दर्भमा मानिसको क्षमता वृद्धि गर्ने तथा मानिसको सहयोगीका रूपमा यसलाई प्रयोग गर्न सकेको खण्डमा यसले फाइदा गर्ने मैले देखेको छु।’
नेपालजस्तो विकासोन्मुख देशमा प्रशासनिकदेखि अन्य ठाउँमा यसलाई मानिसको सहायक प्रविधिका रूपमा विकास गर्न सके आर्थिक तथा सामाजिक विकासमा मद्दत गर्न सक्ने उनले स्पष्ट पारे।
च्याट जिपिटीले हरेक प्रश्नका उत्तर दिने, चिठी, गीत लेख्ने, एप बनाउने लगायत काम गरिसकेको छ। हालैमात्र ओपन एआईले २५ हजार शब्दसम्म लेख्न सक्नेगरी पछिल्लो भर्सन च्याट जिपिटी–४ लन्च गरेको छ।
यसमा हातैले बनाएका जस्ता स्केच र केही सेकेन्डमा गेम पनि बनाइदिने विशेषता छन्। नोभेम्बर ३० मा सार्वजनिक भएको च्याट जिपिटीले मानिसलाई गर्न र खोज्न धेरै समय लाग्ने थुप्रै काम केही समयमा नै सम्पन्न गरिसकेको छ।
यस्तै च्याट जिपिटी सबैभन्दा छोटो समयमा १० करोड प्रयोगकर्ताको आँकडा पार गर्ने प्लेटफर्म पनि हो। यसले १० करोड प्रयोगकर्ताको आँकडा सार्वजनिक भएको दुई महिनामा पार गरेर उक्त रेकर्ड बनाएको थियो।
रोयटर्सका अनुसार डिसेम्बर अन्तिमसम्म च्याट जिपिटीमा १ करोड प्रयोगकर्ता थिए भने जनवरी अन्तिमसम्म उक्त प्लेटफर्ममा ९ करोड प्रयोगकर्ता थपिएका थिए।