काठमाडौं। निजी लगानीमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकारको परीक्षण सञ्चालन आगामी वैशाखमा हुने भएको छ।
परीक्षण सञ्चालन सफल भए व्यावसायिकरूपमा केबुलकार चल्ने छ। केबुलकार सञ्चालनको सबै काम पूरा भएर वैशाख २५ गते परीक्षण सञ्चालन गरिने बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए।
केबुलकार पूर्वाधार निर्माण २०७५ साउनदेखि सुरु भएको थियो। कोरोना महामारीलगायत कारणले ढिलाइ हुँदै आएको थियोे। केबुलकारसहित पाँचतारेस्तरको होटल बनाउन ३ अर्ब ४९ करोड रुपैयाँ लगानी भएको छ।
बन्दीपुरले सिसाको पुल (स्काइवाक) बनाउन थप १ अर्ब रुपैयाँ लगानी गर्दैछ। जिपलाइन, बन्जीजम्प, क्यान्टिलिभरसहित सिसाको पुल, क्विन टावरलगायत पूर्वाधार निर्माण गर्दैछ।
बन्दीपुर केबुलकार वैशाखदेखि सञ्चालनमा आए पनि पाँचतारे होटल कात्तिकदेखि सञ्चालनमा आउने अध्यक्ष शर्माले जानकारी दिए।
बटम स्टेसनमा भएको टेरेस क्याफे केबुलकारसँगै सञ्चालनमा आउने छ। २०८१ सम्म सिसाको पुलसमेत सञ्चालनमा ल्याउने तयारी भएको उनले सुनाए। अहिले होटलको फिनिसिङ भइरहेको छ।
केबुलकारबाट सिधै होटलभित्र छिर्ने व्यवस्था मिलाइएको छ। पहिलो चरणमा बटम स्टेसन, केबुलकार, होटल भवन, रेस्टुरेन्ट र पार्किङ संरचनाको काम सकिएको छ।
दोस्रो चरणमा हिलटपमा होटल सञ्चालनमा आउने छ। बेसमेन्टसहित होटल १७ तलाको हुनेछ। अहिले होटलको कोठा संख्या ६६ बाट बढाएर ८७ पुर्याइएको छ। सेमिनारलगायत अन्य कामका लागि १ हजारजना अट्ने हल पनि बनेको छ।
बन्दीपुर केबुलकारमा नेपाल एसबिआई बैंकको अगुवाइमा एनएमबी बैंकको ऋण लगानी छ। आयोजनामा ३८.४० प्रतिशत बैंक ऋण र ६१.६०प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ।
कम्पनीले केबुलकारभित्रै रेस्टुराँ सञ्चालनको तयारीसमेत गरेको छ। साँझ ५ बजेपछि केबुलकारभित्रै रेस्टुराँ सञ्चालन हुनेछ।
बन्दीपुर गाउँपालिका–४ ठूलढुङ्गाबाट सुरु हुने केबुलकार सोही वडाको बरालथोकसम्म पुग्छ। केबुलकारले १ हजार ६ सय मिटर यात्रा गर्ने छ।
परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिज्म इन्भेस्टमेन्ट फन्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहेको छ।
आइपिओ निष्कासन गर्ने
तनहुँ बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबुलकारले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।
बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडले प्राथमिक सेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ। लिमिटेडले प्रतिसेयर १ सय रुपैयाँ दरका २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ। चुक्ता पुँजीको दुई प्रतिशत अर्थात ४ करोड ३० लाख रुपैयाँबराबरको साधारण सेयर परियोजना प्रभावित स्थानीयलाई छुट्ट्याइने छ भने १० प्रतिशत अर्थात २१ करोड ५० लाख रुपैयाँबराबर सेयर सर्वसाधारणलाई दिइने छ।
सिसाको पुल बनाइने
बन्दीपुर केबुलकारले नेपालमा पहिलोपटक सिसाको पुल बनाउन लागेको छ। बन्दीपुर स्काइवाक एन्ड बन्जीजम्पले सिसाको पुल बनाउन लागेको हो। यो बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडको सहायक कम्पनी हो।
सिसाको पुल बनाउन १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। सिसाको पुल बनाउन अहिले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम भइरहेको छ। बन्दीपुर केबुलकार चढेर माथिल्लो भाग पुगेपछि सिसाको पुलबाट घना जंगललगायत अन्य मनमोहक दृष्यावलोकन गर्न सकिने छ।
सिसाको पुल जमिनको सतहबाट ३ सय मिटरमाथि निर्माण हुनेछ। पुलमुनि खोप्चा घना जंगल छ। भीरबाट सिधै सिसाको पुलमा हिँड्न मिल्ने छ। काम सुरु गरेको एक वर्षमा सिसाको पुल बनाइसक्ने लक्ष्य कम्पनीको छ।