काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धन सम्बन्धी ठोस नीति एवं योजना ल्याउन आग्रह गरेकाे छ।चेम्बरले पदाधिकारी तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँगकाे भेटमा त्यस्ताे आग्रह गरेको हाे।
चेम्बरले भनेकाे छ, ‘निर्यात प्रर्वद्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा ७ वटै प्रदेशमा अबिलम्व लागू गरी निर्यात उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्छ।’
मन्त्री रिजालसँगको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात ब्यापारलाई मूल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाउनसमेत आग्रह गरे।
यस्तै निर्यात अनुदानलाई एकद्वार प्रणालीअन्तर्गत निकासीकर्तालाई सरल र सहज ढंगले प्रदान गर्नुपर्ने उनकाे जोड छ।
चेम्बरले औद्योगिक उत्पादन वृद्धि गरी निर्यात प्रर्वद्धन गर्न एवं विभिन्न आर्थिक विधेयकलाई अगाडी बढाउन आग्रह गर्दै १७ बुँदे सुझावसमेत पेस गरेको छ।
वार्षिक १० खर्बभन्दा बढी रेमिट्यान्स मुलुक भित्रिदासमेत औद्योगिक उत्पादनमा सदुपयोग गर्न नसकिएको अध्यक्ष मल्लले बताए।
यस्तै कालोबजारी ऐन २०३२ का कतिपय प्रावधान पनि हालको अवस्थामा असान्दर्भिक भएकाले समय सापेक्ष सुधार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड छ।
संसदमा विचाराधीन निजी क्षेत्रसँग सम्बन्धित आर्थिक एवं अन्य विधेयकहरुलाई समयमै पारित हुने वातावरण बनाउनसमेत मन्त्री रिजालसँग मल्लले आग्रह गरे।
भेटपछि मन्त्री रिजालले औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताए। मन्त्रीले निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको भन्दै आफू खुला बजार अर्थनीतिको पक्षमा रहेको बताए।
मन्त्री रिजालले भने, ‘म बजारमा आधारित अर्थतन्त्रमा विश्वास गर्ने व्यक्ती हुँ। उद्योग खोल्ने काम, ब्यापार गर्ने काम सरकारले गर्ने होइन। निजी क्षेत्रका लागि उपयुक्त वातावरण बनाईदिने हो।’
औद्योगिक क्षमता विस्तार गरेर निर्यात प्रर्वद्धन गर्ने नीति सरकारको साझा न्यूनतम कार्यक्रममा समेत उल्लेख भएकाले सरकार अब रणनीतिका साथ अघि बढ्ने मन्त्री रिजालको भनाइ छ।