काठमाडौं। होटल संघ नेपाल(हान)का प्रतिनिधिहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट गरी व्यवसायीहरुले लिएको ऋणको पुनर्तालिकीकरण र पुनर्कर्जाको व्यवस्था गरिदिन माग गरेका छन्।
संघका अध्यक्ष सिर्जना राणाले अर्थमन्त्री डा.महतसँग भेटी कोभिड–१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको जानकारी गराएकी हुन्।
उनले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनर्तालिकीकरण र पुनर्कर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था हुन विशेष अनुरोध गरेकी छन्।
संघले धेरै धनराशी खर्च भई, वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत तथा बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह आगामी बजेट र कानूनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा समावेश गरी यस उद्योगको जर्गेना गरिदिनु माग गरेका छन्।
यस्तै व्यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेको बैंकको बढ्दो ब्याजदर होटल जस्तो अति संवेदनशील
उद्योगमा धान्नै नसकिने गरी अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकूल देखिएकाले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाइदिन अर्थमन्त्री महतसँग माग गरे।
होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने बुझाउने हाम्रो जिम्मेवारी रहेको हुँदाहुँदै पनि यस परिस्थितिमा अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेको होटल उद्योगले हालको अवस्थामा कुनै पनि हालतमा बैंकलाई साँवा र ब्याज बुझाउन सक्षम नरहेको तर बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यगवसायीहरु आन्दोलित रहेको हुँदा तोकिएको समयसीमा बढाई थप सहजिकरणका लागि समेत अनुरोध गरेका हुन्।
अर्थमन्त्रीलाई भेट्न संघका प्रथम उपाध्यक्ष विनायक शाह, द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कार्यसमिति सदस्य युवराज श्रेष्ठ तथा कानुनी सल्लाहकार गान्धी पण्डितको उपस्थिति थियो ।