काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंक तथा वित्तीय संस्था मर्ज अवधारणाले कर्मचारीलाई जागिर छाड्नसम्मकाे वातावरण सिर्जना भएकाे बताएका छन्।
बुधबार आयाेजित नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं महाधिवेशन तथा ३३ औं दिवस कार्यक्रममा बोल्दै महामन्त्री थापाले त्यस्ताे बताएका हुन्। उनले भने, 'बैंक तथा वित्तीय संस्था मर्ज हुँदा कर्मचारीलाई बेवास्ता गरिएका कारण मर्कामा परेका छन्।'
महामन्त्री थापाले बैंकिंङ क्षेत्रमा बिग मर्जरको अवधारणाअघि बढाइए पनि कर्मचारी व्यवस्थापनमा चुकेको आराेप लगाए। मर्जरपश्चात् कर्मचारीलाई अपायक पर्ने ठाउँमा पठाएर काम छाेड्नेसम्मकाे वातावरण सिर्जना भएकाे उनकाे भनाइ छ।
बिग मर्जर पछाडि लगानीकर्ताको लगानी सुरक्षित रहेकाे उनकाे दाबी छ। उनले भने, 'अर्थतन्त्रको आवश्यकता पनि बैंकहरूको मर्ज हुनुपर्छ तर, वर्षौंदेखि काम गरेर आएका कर्मचारीलाई बेवास्ता गरिएको छ।' मर्जरका बेलामा कर्मचरीको वृत्ति विकास वा अधिकारको ख्याल नगरिएकाे उनकाे आराेप छ।
बैंकले कर्मचारीलाई जथाभावी सुरूवा गरेर हतोत्साहित हुने काम गर्दै काम छोड्न बाध्य हुने वातावरण सिर्जना गर्ने गरेकाे उनकाे भनाइ छ।
कर्मचारीकाे यस्ताे अवस्थाप्रति व्यवस्थापको आँखा नपुगेको बताउँदै उनले भने, 'बाहिरबाट मर्जर भए पनि भित्रि रुपमा सकसको अवस्था छ।'
नेपालको अर्थतन्त्र संकटग्रस्त नभइ समस्याग्रस्त अवस्थामा पुगेको बताउँदै वाह्य क्षेत्रमा कडाइ गरेपछि विदेशी मुद्राको सञ्चिति बढेको बताए। 'आयातमा कडाइ गर्दा राजश्व संकलनमा कमी आउँदा चालू खर्च गर्न ऋण लिनुपर्ने स्थिति आएको हाे,' उनले भने, 'नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएपनि सरकारसँग पारस्परीक सम्बनध कायम गरेर अर्थतन्त्र सुधार गर्नुपर्छ।'
जग्गामा सबैभन्दा बढी कर्जा गएकाे बताउँदै उनले अनुत्पादक क्षेत्रमा लगानी नढाउन आग्रह गरे। अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र रास्ट्र बैंकबीच पारस्परिक सम्बन्ध हुनुपर्ने उनकाे भनाइ छ। उनले भने, ‘राष्ट्र बैंकले को कहाँबाट सरकारमा आएको छ भनेर हेर्नु हुँदैन, विश्वसनीय र पारदर्शी सम्बन्ध कायम गर्नुपर्छ।’
यस्तै उनले महामन्त्री थापाले बैंक विरुद्धका गतिविधि गर्ने अराजक समूहलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए।