काठमाडौं। बजाज मोटरसाइकल नेपाल भित्रिएको २५ वर्ष पूरा भएको छ। विभिन्न भर्सनका नयाँ–नयाँ मोटरसाइकल उपलब्ध गराउँदै लोकप्रिय ब्रान्डका रूपमा स्थापित बजाजले गएको २५ वर्ष मोटरसाइकल बजार लिड गरेको बताउँदै आउने २५ वर्ष थप परिस्कृत र डिजिटलाइज हुँदै बजार लिड गर्ने दाबी गरेको छ।
नेपालका लागि बजाजको आधिकारी वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपालमा मोटरसाइकल उपलब्ध गराएको २५ वर्ष पुगेको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गर्दै अबको थप २५ वर्ष नेपाली बजार आफूले लिड गर्ने दाबी गरेको हो।
‘२५ वर्ष भनेको कम अवधि होइन, हामी यो अवधिभर नेपालमा स्थापित भएर बजार लिड गर्यौं र अहिले पनि लिड गरिरहेकै छौं,’ हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भने ‘गएको २५ वर्ष हामीले कठिन मिहिनेत गरेर बितायौं, अबको २५ वर्ष थप मिहिनेत गरेर हामी नै बजार लिड गर्नेछौं।’
उनले २५ वर्षसम्म आफ्नो व्यापारलाई पहिलो नम्बरमा राख्न निकै कठिन भएको बताए। ‘आजसम्मको २५ वर्षसम्म हामी बजारमा कसरी पहिलो नम्बरमा रह्यौं र अबको २५ वर्ष पनि कसरी यसलाई कायम राख्छौं भन्ने कुरा म सुनाउन चाहन्छु,’ निर्देशक गोल्छाले भने ‘हाम्रो व्यापारमा हामी तीन आधारमा निर्भर छौं। एउटा आकर्षक उत्पादन, जसमा निकै आइकोनिक मोडलहरू छन्। दोस्रोमा हाम्रो नेटवर्क, जहाँ नेपालभरबाट सय भन्दा बढी छ र तेस्रो भनेको हाम्रो ब्रान्ड हो।’
गोल्छाले यी तीन कुराले हालसम्म बजार लिड गरेको बताउँदै थपे, ‘हामीले यी तीन आधारलाई एकआपसमा जोडेर अगाडि बढ्न सकेको खण्डमा आफ्नो स्थान कायम राख्न सक्षम हुन्छौं। भौगोलिक अवस्था, आकर्षक डिजाइन र आर्थिक अवस्थाअनुसारको उत्पादन गरिरहेको र गर्ने भएकाले हामीले अबको २५ वर्ष पनि लिड गर्न सक्षम हुन्छौं।’ उनले अबको दिनमा पनि आफ्नो उत्पादनलाई समयानुकूल, डिजिटलाइज र ग्राहकको इच्छाअनुसारको बनाउँदै सहज उपलब्धतालाई ध्यान दिने बताए।
गोल्छाले गएको २५ वर्षको अवधिमा आठ लाखभन्दा बढी ग्राहकलाई सेवा दिएर सन्तुष्टि प्रदान गरेको पनि बताए। साथै शोरुम, वर्कसप, सर्भिस सेन्टरहरू थप गर्दै आफूहरूलाई थप स्थापित गर्ने उनको दाबी छ। ‘जोमसोम, जुम्लाजस्ता विकट स्थानदेखि तराईका विभिन्न स्थानमा बजाजका वर्कसप उपलब्ध छन्,’ गोल्छाले भने ‘नेपालकै पहिलो मोटरसाइकल टिभी रियालिटी शो ‘पल्सर डेयर भेन्चर’ आयोजना गर्नुका साथै फुटबल, क्रिकेटलगायतका सामाजिक क्षेत्रमा समेत हामीले सहयोगका कार्य गर्दै आएका छौं।’
नेपालमा सन् १९९८ देखि हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज मोटरसाइकलको बिक्री–वितरण सुरु गरेको थियो। हाल नेपाली बजारमा १ लाख ९५ हजार ९ सय रुपैयाँ मूल्यको बजाज प्लाटिनादेखि ६ लाख ५४ हजार रुपैयाँ मूल्यको डोमिनार एबीएस बीएस६ सम्मका विभिन्न मोडल नेपाली बजारमा बिक्रीका लागि उपलब्ध छन्। यी सबै मोटरसाइकल नेपालमै एसेम्बल हुने गरेका छन्।