काठमाडौं। वीरगन्ज भन्सार कार्यालयले बिनाकारण २० दिनदेखि रोकेका कच्चापदार्थ बोकेका ट्रक मंगलबार साँझ नेपाल भित्रिएका छन्। वीरगन्ज भन्सार कार्यालयले अनेक बहाना बनाएर रोकेर राखेका २० कन्टेनर नेपाल भित्रिएका हुन्।
भन्सार कार्यालयले केचप, गार्मेन्ट, टेक्स्टाइल लगायत उद्योगका कच्चापदार्थ बोकेर आएका गाडी बिनाकारण रोकेर व्यवसायीसँग ‘बार्गेनिङ’ गरिरहेका थिए। तर, अर्थसचिव तोयम रायले तत्काल कच्चापदार्थ बोकेर आएका ती २० कन्टेनर छाड्न भन्सार विभागलाई निर्देशन दिएका थिए। त्यसपछि भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई तत्काल कन्टेनर छाड्न भनेको थियो।
यसअघिसम्म भन्सारले कच्चापदार्थ बोकेर आएका गाडी रोकेको थिएन। निर्वाध त्यस्ता सामग्री नेपाल भित्रिरहेका थिए। वीरगन्जबाहेक नाकाबाट अहिले पनि कच्चापदार्थ बोकेका गाडी आइरहेका छन्। तर, वीरगन्ज भन्सार कार्यालयले मात्रै कच्चापदार्थका गाडी रोकेको थियो।
वीरगन्ज भन्सार कार्यालयले अर्थसचिव रायको निर्देशनपछि एकपटकलाई मात्रै सामान छाडेको र दोस्रोपटक नछाड्ने भन्दै आयातकर्तालाई धम्क्याएको छ।
‘माथिबाट निर्देशन आएपछि सामान छाडेका छौ,’ भन्सार अधिकारीको भनाइ उद्धृत गर्दै ती आयातकर्ताले भने, ‘अर्कोपटक यस्तो हुँदैन। एकपटकका लागि मात्रै हो।’
नियमसम्मत भन्सार तिरेर सामान ल्याउँदा पनि भन्सार अधिकारीहरू आफू कानुनभन्दा माथि रहेको देखाउँछन्। ‘नियमअनुसार ल्याउन नपाउने सामान अर्थसचिवले निर्देशन दिएर छुट्छ र?,’ ती आयातकर्ताले प्रश्न गरे, ‘नियमसम्मत सामान आएकाले सचिवको निर्देशनमा छाडियो। त्यही सामान अन्य नाकाबाट निर्वाध भित्रिने तर वीरगन्जबाट मात्रै नभित्रिने भन्ने पनि हुन्छ?’
वैधानिक तवरबाट ल्याइएका सामान पनि भन्सारका अधिकारीले अनुचित लाभ उठाउन सामान रोकेको भन्सार विभागका अधिकारीको स्वीकारोक्ति छ।
‘यदि गैरकानुनी तवरबाट वा अनुमति लिनुपर्ने सामान भएको भए अर्थसचिवको निर्देशनले छुट्छ?,’ भन्सा विभागका ती अधिकारीले भने, ‘सकेसम्म केही झार्न सकिन्छ कि भनेर भन्सारका अधिकारीले प्रयत्न गरेको देखिन्छ।’
तर, विषय अर्थसचिव रायसम्म पुगेपछि उनले तत्काल निर्देशन दिनासाथ सामान छुटेको हो। यदि दोस्रोपटक त्यही सामान ल्याउँदा भन्सारले रोके अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष विषय पु¥याउने व्यवसायीको तयारी छ।