काठमाडौं। उद्योगी तथा राजनीतिज्ञ विनोद चौधरी विश्वको १ हजार ६ सय ४७औं धनी बनेका छन्।
नेपाली कांग्रेसका सांसदसमेत रहेका चौधरीको सम्पत्ति बढेर १ खर्ब ८० अर्ब अमेरिकी डलर (१ डलरबराबर १ सय ३२ रुपैयाँ) मान्दा उनको सम्पत्ति २ खर्ब ३७ अर्ब ६० करोड रुपैयाँ) पुगेको छ।
चाैधरी गत वर्ष धनीहरूको सूचीमा १ हजार ९ सय २९औं स्थानमा थिए। याे वर्ष २ सय ८२ स्थान माथि उक्लिएर उनी १ हजार ६ सय ४७औं स्थानमा पुगेका हुन्।
सन् २०२२ मा चौधरीको कूल सम्पत्ति १ अर्ब ५० करोड डलर थियो। एक वर्षमा चौधरीको सम्पत्ति ३० करोड डलर (३९ अर्ब ६० करोड रुपैयाँ) बढेको फोर्ब्सले सार्वजनिक गरेको विश्वका धनीको सूचीमा उल्लेख छ।
६७ वर्षीय चौधरीसहित १ हजार ६ सय ४७औं स्थानमा अन्य १० जना अर्बपति छन्। चौधरीको सम्पत्ति २०२१ म १ अर्ब ४० करोड डलर थियो। २०१९ मा उनको सम्पत्ति १ अर्ब ७० करोड डलरसम्म पुगेको थियो।
कोरोना महामारीले उनको सम्पत्ति घटे पनि २०२३ मा आएर नयाँ रेकर्ड कायम भएको हो। २०१४ मा चौधरीको सम्पत्ति १ अर्ब १० करोड डलरमात्र थियो। चौधरी सिजी कर्प ग्लोबलका सञ्चालक हुन्। उनी नेपालका एकमात्र डलर अर्बपति हुन्।
उनको सबैभन्दा ठूलो सम्पत्ति नेपालको नबिल बैंक र वाइवाइ चाउचाउ निर्माता सिजी फुड्स हो। वाइवाइका कारखाना भारत, सर्बिया र बंगलादेशमा छन्।
अफ्रिकाको इजिप्टमा पनि वाइवाइ उत्पादन गर्न नयाँ प्लान्ट निर्माण भइरहेको छ। सिजीको विश्वभरि १ सय ४३ वटा होटल स्वामित्वमा छन्। जसमा भारतको ताज होटल चेनको साथमा अन्य लक्जरी होटल छन्।
नेपालमा रहेका उनका छोरा निर्वाण र विदेश बस्ने राहुल र वरुणले उनलाई सिजी कर्प ग्लोबलको बिजनेस चलाउन मद्दत गर्छन्। निर्वाण र राहुल समूहका प्रबन्ध निर्देशक हुन्।
चौधरीले नेपालमा मेघौली सेराइ, सिजी फुड्स, मध्यमोदी जलविद्युत आयोजना, पाल्पा सिमेन्ट र सम्राट सिमेन्टमा ठूलो लगानी गरेका छन्।
चौधरीले नेपालमा टेलिकम बिजनेस सञ्चालनका लागि तयारी गरिरहेका छन्। नेपाल दुरसञ्चार प्राधिकरणले उनलाई टेलिकम सेवा सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) दिन लागेको छ।
फोब्र्सका अनुसार फ्रान्सका बर्नाड अर्नल्ट परिवार विश्वको सबैभन्दा धनीको सूचीमा परेको छ। बर्नाड र उनको परिवारको गरी कूल सम्पत्ति २ खर्ब ११ अर्ब डलर पुगेको छ।
७४ वर्षीय बर्नाडको एलभिएमएचको लुइस भिटन र सेफोरा चर्चित फेसन र कस्मेटिक उत्पादन छन्। दोस्रो स्थानमा अमेरिकाका ५१ वर्षीय इलन मस्क छन्। मस्कको कूल सम्पत्ति १ खर्ब ८० अर्ब डलर छ। मस्कको टेस्ला विद्युतीय गाडी र स्पेश एक्सका साथै ट्वीटर इंक छन्।
तेस्रो स्थानमा अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेफ बेजोस छन्। ५९ वर्षीय बेजोसको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलरमा झरेको छ।
भारतका मुकेश अम्बानी नवौं स्थानमा छन्। ६५ वर्षीय अम्बानीको कूल सम्पत्ति ८३ अर्ब ४० करोड डलर छ। उनी भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडको कार्यकारी अध्यक्ष हुन्। रिलायन्स वार्षिक कारोबार बढेर १ खर्ब डलर पुगेको छ।