एजेन्सी। भारतीय मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्डले बजार विस्तार निरन्तरता दिन नेपाल र बंगलादेशमा ‘एसेम्बल प्लान्ट’ खोल्ने घोषणा गरेको छ।
अहिले कम्पनीका २ सय ५० सिसीदेखि ७ सय ५० सिसीसम्मका मिडलवेट मोटरसाइकल ४० भन्दा बढी देशमा उपलब्ध छन्।
यो अवस्थामा थप विस्तार गर्न नयाँ उत्पादन र बजार हिस्सा बढाउने लक्ष्यअनुसार कम्पनीले नयाँ उत्पादनमा जोड दिएको हो।
रोयल इन्फिल्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बी गोविन्दराजनले नेपाल र बंगलादेशमा एसेम्बल प्लान्ट स्थापना गर्ने जानकारी समाचार एजेन्सी पिटिआईलाई दिएका छन्।
‘रोयल इन्फिल्ड उपस्थित सबै बजारमा हामीले थप साझेदारी बढाउने ठूलो सम्भावना छ,’ सिइओ गोविन्दराजनले भने, ‘कानुनका कारण भारतमा पूर्णरूपमा निर्मित मोटरसाइकल ती देश निर्यात गर्न नसक्ने भएकाले नेपाल र बंगलादेशमा एसेम्बली प्लान्ट स्थापना गर्ने प्रक्रिया अगाडि बढाएका हौं।’
यस्तै उनले यो काम स्थानीय साझेदारीमार्फत गर्ने पनि स्पष्ट पारेका छन्। रोयल इन्फिल्ड मोटरसाइकलको बजार हिस्सा बढ्दै गएपछि कम्पनीले नेपाल र बंगलादेशमा एसेम्बल प्लान्ट राख्ने योजना बनाएको हो।
रोयल इन्फिल्डले उत्तर अमेरिकी क्षेत्रमा आफ्नै सहायक कम्पनीका साथ आफ्नो यात्रा सुरु गरेको पनि उनले जानकारी दिए। गोविन्दराजनले करिब ८.१ प्रतिशत बजार हिस्सा हासिल गरेको बताउँदै एपिएसी क्षेत्रमा झन्डै नौ प्रतिशत र इएमइए (युरोप, मध्यपूर्व र अफ्रिका) क्षेत्रमा करिब १० प्रतिशतहाराहारी बजार हिस्सा पुगेको बताए।
पछिल्लो पाँच वर्षमा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा २०–२५ प्रतिशतको वृद्धि देखाउँदै आएको छ। रोयल इन्फिल्डले आर्थिक वर्ष २०२३ मा १ लाख ५५ हजारथान बाइक निर्यात गरेको थियो। मोटरसाइकल निर्यातमा रोयल इन्फिल्डले रेकर्ड कायम गरेको छ।
तर, आर्थिक वर्ष २०२२ मा भने ८१ हजार ३२ थानमात्र निर्यात गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढी हो। यसले कुल बिक्रीमा ३९ प्रतिशतले वृद्धि गर्दै ८ लाख ३४ हजार ८ सय ९५ युनिट बनाएको थियो। २०२२ मा यसको बिक्री ६ लाख २ हजार २ सय ६८ थान थियो।
‘अहिले हाम्रो ध्यान उत्तर अमेरिका, ल्याटिन अमेरिका, एपिएसी क्षेत्र, बंगलादेश र नेपाल तथा युरोपमा केन्द्रित छ,’ नयाँ आर्थिक वर्षको अन्तर्राष्ट्रिय योजनाबारे सिइओ गोविन्दराजनले भने।
उनले गत आर्थिक वर्ष केही ऐनका कारण केही गर्न नसकेको बताउँदै सार्क राष्ट्रलाई विशेषरूपले हेर्ने बताए।
‘हामीलाई लाग्छ कि दीर्घकालीनरूपमा यदि हामी ती बजारमा बढ्नका लागि त्यहाँ रहनुपर्छ भने हामीले त्यसमा सिकेडी सुविधा पनि राख्नुपर्छ,’ उनले भने।
तर, यसअघि नै रोयल इन्फिल्डको मोटरसाइकल नेपालमै उत्पादन गर्न यसको आधिकारी विक्रेता त्रिवेणी समूहले स्वदेशमै एसेम्बल प्लान्ट स्थापना गर्ने योजना अघि बढाइसकेको छ। जसका लागि उद्योग विभागमा उद्योगसमेत दर्ता भइसकेको छ।
नेपालमा यो उद्योग बारा जितपुर उपमहानगरपालि–९ मा स्थापना हुने जनाइएको छ। साथै यसले वार्षिक ८ हजार मोटरसाइकल एसेम्बल गर्ने लक्ष्य राखेको छ।
नेपालमा यस्तो तयारी हुँदै गर्दा बंगलादेशमा समेत एसेम्बल प्लान्ट राख्ने योजनाबारे कम्पनीको यस्तो धारणा आएको हो। एसेम्बल प्लान्ट स्थापनाको टाइमलाइनमा सिइओ गोविन्दराजनले नेपालका लागि कम्पनीले चालू आर्थिक वर्षमा प्लान्ट लाग्ने अपेक्षा गरे पनि बंगलादेशका लागि भने अलि बढी समय लाग्ने बताए।