काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि १०१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
एकजना वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षका लागि आठजनाले उम्मेदवारी दर्ता गराएको महासंघको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लीलामणि पोखरेलले जानकारी दिए।
उनका अनुसार वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठको उम्मेदवारी परेको छ। जिल्लानगरका अरुण सुमार्गी, सुरकृष्ण वैद्य र दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्।
यस्तै वस्तुगततर्फ मनिषलाल प्रधान र सकुन्तलाल हिराचनको उम्मेदवारी परेको छ। एसोसिएटतर्फ भने ज्याेत्सना श्रेष्ठ र भरत आचार्यको उम्मेदवारी परेको छ।
महासंघको विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षहरु निर्वाचीत हुनेछन्। कोषाध्यक्ष भने सिंगो कार्यसमितिबाट निर्वाचित हुनेछन्।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार सदस्यमा ९० जनाको उम्मेदवारी परेको छ। जिल्लानगरका लागि १८ केन्द्रीय सदस्य चाहिनेमा ३२ जना, एसोसिएटमा १९ जनाका लागि ३० र वस्तुगतमा १४ का लागि २८ जनाको उम्मेदवारी परेको छ।
मनोनयनबाट ४५ लाख संकलन
उम्मेदवार मनोनयनबाट मात्र महासंघले ७१ लाख ४० हजार संकलन गरेको छ। निर्वाचन आयोगले बनाएको प्रावधानअनुसार वरिष्ठ उपाध्यक्षका लागि ५ लाख, उपाध्यक्षका लागि ३ लाख र केन्द्रीय सदस्यका लागि ७५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो।
जसअनुसार तीन वरिष्ठ उपाध्यक्षका उम्मेदवारबाट १५ लाख, आठ उपाध्यक्षका उम्मेदवारबाट २४ लाख र ९० केन्द्रीय सदस्यका उम्मेदवारबाट ६७ लाख ५० हजार रुपैयाँ संकलन भएको छ।
जिल्लानगर, एसोसिएट र वस्तुगतबाट आएका प्रतिनिधि र सहायक प्रतिनिधिले समेत शुल्क बुझाउनुपर्छ। जिल्लानगर र वस्तुगतबाट दुई/दुई र एसोसिएटबाट एक प्रतिनिधि आउन पाइन्छ।
तीमध्ये प्रमुख प्रतिनिधिले ७ हजार र सहायक प्रतिनिधिले ५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ। प्रतिनिधि कति जना रहने र कति शुल्क उठ्यो भन्ने जानकारी भने महासंघले दिइसकेको छैन।
महासंघको ५७औं साधारणसभा चैत २८ र २९ गते काठमाडौंमा हुँदैछ। तीन वर्षका लागि नयाँ नेतृत्व पाउने महासंघले साधारणसभासँगै हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतःअध्यक्ष बन्दैछन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष बन्नेछन्।