काठमाडौं। विकास साझेदार विश्व बैंकले नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ।
आयात प्रतिबन्ध, मौद्रिक नीतिमा कडाइ, उच्च मुद्रास्फीति र सरकारी खर्चमा आएको कमीले राजस्व संकलन प्रभावित भएका कारण यस वर्ष नेपालको वृद्धिदर अघिल्लो अनुमानभन्दा सुस्त हुने विश्व बैंकले जनाएको छ ।
मंगलबार पछिल्लो नेपाल विकास अपडेट सार्वजनिक गर्दै बैंकले उथलपुथल वातावरणमा फाइन ट्युनिङ नीतिले नेपालको अर्थतन्त्र यो वर्ष ४.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो।
यो गत अक्टोबर २०२२ को प्रक्षेपणको तुलनामा तलको परिमार्जन हो। पर्यटनको पुन:स्थापना, रेमिट्यान्समा भएको वृद्धि र मौद्रिक नीतिको क्रमिक सहजताले आगामी आर्थिक वर्ष २०२४ मा वृद्धि ४.९ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ।
'वाह्य क्षेत्रको दबाबलाई सम्बोधन गरिएका उपायबीचमा नेपाली अर्थतन्त्रले आर्थिक वृद्धिमा आएको सुस्तता र राजस्व परिचालनमा आएको कमीका अनपेक्षित परिणामहरूको सामना गरेको छ’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने।
विश्व बैंकका अनुसार छिमेकी भारतको आर्थिक वृद्धि ६.३, बंगलादेशको ५.२, भुटानको ४.५, पाकिस्तानको ०.४ हुने छ। यस्तै माल्दिभ्सको ६.६ प्रतिशत हुँदा श्रीलंकाको आर्थिक वृद्धि ४.३ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण बैंकको छ।
दक्षिण एसियामा मुद्रास्फीति यस वर्ष औसत ८.९ प्रतिशतमा झर्ने र २०२४ मा ७ प्रतिशतभन्दा तल पुग्ने छ।