काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ मुख्यालय टेकुमा मंगलबार मध्याह्न १२ बज्नै लाग्दा उम्मेदवारी दर्ता गर्न उपस्थित अञ्जन श्रेष्ठको समूहका समर्थकले हल भरिभराउ थियो।
वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठसहितले उम्मेदवारी दर्ता गरिसकेका थिए भने उनकै समूहबाट एसोसिए उपाध्यक्ष बन्ने घोषणा गरेका प्रबलजंग पाण्डे भने हतास मुद्रामा देखिइरहेका थिए। कहिले निर्वाचन कार्यालय रहेको हलभित्र त कहिले बाहिर गर्दै फोनमा व्यस्त थिए।
अधिकांशले उम्मेदवारी दर्ता गरिसक्दासमेत पाण्डे भने कसैको प्रतीक्षामा रहेको देखिन्थे। धेरैलाई आफ्नो कागजपत्र छुटेको भन्दै टारिरहेका बेला हलमा एकाएक भरत आचार्यको प्रवेश भयो। भरत तिनै हुन्, जसले सोमबार वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको टिमबाट एसोसिएट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए।
आचार्य हलभित्र प्रवेश गरेको धेरै उद्योगी–व्यवसायीका नेताले चालसमेत पाएनन्। तर, नजिकै रहेका प्रबल भने एकाएक हर्षित मुद्रामा देखिँदै केही कुरा राख्न थाले। तर, निर्वाचन कार्यालय रहेको हल साँघुरो भएको भन्दै महासंघकै अर्को ठूलो हलमा गए। र, त्यहाँ प्रबलले भरतको हात समाउँदै आफ्नो समर्थन रहेको जानकारी पत्रकारहरूलाई गराए।
व्यावसायिक एवं आत्मीय सम्बन्धलाई चुनावी प्रतिस्पर्धा गर्न आफ्नो नैतिकताले नदिएको भन्दै योपटक उपाध्यक्षमा भरतलाई सहयोग गर्ने र दुवै टिमको साझा उम्मेदवार रहेको घोषणा गरे। उनको यो घोषणासँगै भरत केही मुस्कुराए। प्रबलको त्यो त्यागप्रति भरत केही भावुक भए। तर, उनले खुलेर अंकमाल भने गर्न सकेनन्।
साक्षीका रूपमा नजिकै रहेका वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जनले दुवैलाई दायाँबाँया राखेर फोटो खिचे। सँगै उनले आफ्नो टिमको उम्मेदवार पनि भरत नै रहेको उद्घोष गरे। अञ्जनको यो उद्घोषसँगै तालीले हल गुञ्जियो। भरतले पनि प्रबल र आफू मिल्ने साथी भएकाले निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका बेला फिर्ता लिएकोमा धन्यवाद दिए।
भरतले प्रबललाई धन्यवाद दिइरहँदा अञ्जनले जसरी वचन भने दिन सकेनन्। जसरी अञ्जनले ‘आफ्नो टिमको साझा उम्मेदवार भरत हो र हाम्रो भोट उहाँलाई हुन्छ’ भनिरहँदा भरतले भने ‘मेरो भोट अञ्जनलाई’ भनेर भन्न सकेनन्। अर्थात, प्रबलले दिएको ‘सप्र्राइज’ मा जति खुसी हुनुपर्ने हो, उनको मुहारमा देखिएन।
हुन त प्रबलले धेरै अगाडिदेखि नै भरतलाई एउटै टिममा उपाध्यक्ष भएको हेर्न चाहेका थिए। अन्तिम समयसम्म पनि भरतलाई उमेशलालको टिममा नगई अञ्जनको टिममा आउन र सर्वसम्मत उपाध्यक्ष बनाउन ठूलै ‘लबिङ’ गरेका थिए। तर, भरत भने प्रबलसँग कुनै समन्वय नगरी उमेशलालको टिममा गएको भन्दै ज्योत्सनालाई समर्थन गरेका थिए।
तर, ज्योत्सनाले पनि टिमलाई नै चकित बनाएर आइतबार दिउँसो एकाएक अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईको टिमबाट उम्मेदवारी दर्ता गराएपछि अञ्जनको टिमलाई ठूलो झड्का लागेको थियो। त्यही झड्काको बदला लिन अञ्जनको टिमले भरतलाई साझा उम्मेदवारका रूपमा अगाडि बढाएर अर्को खेल खेलेका छन्।
महासंघ राजनीति नजिकबाट नियाल्दै आएका व्यवसायीले भने यो खेलले भरतलाई सहज भए पनि अञ्जन र उमेशलाल दुवैलाई भने एकअर्काप्रतिको शंका झनै बढेर जाने बताउँछन्। अहिले भरतले एसोसिएटका लागि बनाउने टिममा अञ्जन र उमेशलाल दुवै पक्षका सदस्य पर्छन्।
तर, ती सबै सदस्यले अञ्जन वा उमेशलाल कसलाई भोट हाल्ने भन्ने अनिश्चित छ। यसरी हेर्दा भरतलाई ‘सेफ’ गरिरहँदा अञ्जन र उमेशलालबीच शंकाको खाडल भने गहिरिँदै जाने महासंघका एक पूर्वपदाधिकारीको भनाइ छ।
चन्द्रको चलाखी
भरतलाई दुवै टिमको साझा उम्मेदवार बनाइरहँदा यसको श्रेय भने वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई जाने देखिन्छ। ढकालले वरिष्ठ उपाध्यक्षमा कुनै पनि टिममा खुलेर समर्थन नगरे पनि भरतको साथ उमेशलाललाई देखिएपछि उनको पनि साथ उतै छ भन्ने आँकलन गरिएको छ।
तथापि, यस विषयमा ढकालले आफ्ना लागि तीनैजना वरिष्ठ उपाध्यक्षका उम्मेदवार समान रहेको बताउँदै आएका छन्। ढकालका विश्वासपात्र मानिएका भरतलाई सफल पार्न साझा उम्मेदवार बनाउँदा ढकालको चलाखीपन झल्किएको विश्लेषण व्यवसायीबीच हुन थालेको छ।