काठमाडौं। २०७७ मंसिरमा उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्ष बनेका शेखर गोल्छाको कार्यकाल सकिन एक साता बाँकी छ। चैत २८ र २९ मा हुने ५७औं साधारणसभापछि गोल्छा महासंघबाट बाहिरिनेछन्।
व्यावसायिक घराना गोल्छा परिवारबाट पहिलोपटक अध्यक्ष बनेका शेखरको कार्यकाल सुरु भएदेखि नै विभिन्न प्राकृतिक विपत्ति सामना गर्नुपर्याे। जसका कारण अन्य अध्यक्षको जस्तो कार्यकाल सहज बिताउन पाएनन् र व्यवसायमा इतिहास रचेको गोल्छा परिवारबाट पहिलो अध्यक्ष बने पनि अपेक्षाअनुसार महासंघभित्र रहेर काम गर्न नसकेको आरोप खेप्दै बाहिरिन लागेका हुन्।
गोल्छासँग काम गर्न पूरै दुई वर्षको समय भए पनि उनले योजनाअनुसार काम भने गरेनन्। यो आरोपको स्वतन्त्र पुष्टि उनकै अग्रज पूर्वअध्यक्षहरूले गरेका हुन्।
व्यावसायिक जगतमा शालिनरूपमा अगाडि बढेका गोल्छा महासंघ छिरेपछि गुटबन्दी राजनीतिको रनभुलमा रमाए र सीमित कोटरीको कुरा सुने भन्ने प्रमुख आरोप उनले खेपे।
व्यावसायिक घराना गोल्छा परिवारबाट पहिलोपटक अध्यक्ष बनेका शेखरको कार्यकाल सुरु भएदेखि नै विभिन्न प्राकृतिक विपत्ति सामना गर्नुपर्यो। जसका कारण अन्य अध्यक्षको जस्तो कार्यकाल सहज बिताउन पाएनन् र व्यवसायमा इतिहास रचेको गोल्छा परिवारबाट पहिलो अध्यक्ष बने पनि अपेक्षाअनुसार महासंघभित्र रहेर काम गर्न नसकेको आरोप खेप्दै बाहिरिन लागेका हुन्।
गोल्छा परिवारको व्यावसायिक ‘लिगेसी’ महासंघ प्रवेश गरेपछि त्यसको आचरण पनि भित्रिन्छ भन्ने धेरैलाई लागेको थियो, तर ‘व्यवसायमा सफल महासंघमा असफल’ को जस लिएर गोल्छा बाहिरिँदैछन्।
महासंघमा रहँदा अध्यक्षले गर्नुपर्ने धेरै कर्तव्यमा गोल्छा चुकेको पूर्वअध्यक्षहरूकै भनाइ छ। महासंघभित्र हुने राजनीतिक र व्यक्तिवाद हावी हुँदा नेतृत्वमा रहेकाहरूले अग्रजहरूलाई बेवास्ता गर्दै गएको आरोप पूर्वअध्यक्षहरूको छ।
‘महासंघभित्र राम्रोभन्दा हाम्रो मान्छे मनस्थिति हावी भएर काम गरेका कारण जुन प्रतिफल दिनुपर्ने हो, त्यो हुन सकेन,’ पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले क्यापिटल नेपालसँग भने।
गोल्छा अध्यक्ष बन्दै गर्दै महासंघलाई नयाँ ढंगबाट लैजान विधान संशोधन गर्ने प्रतिबद्धता जनाएका थिए। तर, उनले विधान संशोधनका लागि सुरुवाती प्रक्रिया अगाडि बढाए पनि पछि के भयो र कहाँ पुगेर रोकियो भनेर पूर्वअध्यक्षहरूलाई जानकारीसमेत नगराएको श्रेष्ठको गुनासो छ।
पूर्वअध्यक्षहरू पशुपति मुरारका, कुशकुमार जोशी र तत्कालीन वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान सम्मिलित समितिले ठूलो मिहिनेतसाथ बनाएको प्रतिवेदनमाथि छलफलसमेत नहुनु अर्को विडम्बना भएको पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठले बताए।
कोभिडको प्रभाव भर्खरै सकिएको र अर्थतन्त्रले गति लिन लागेका बेला महासंघ नेतृत्व सम्हालेका गोल्छा आफूले गर्न चाहेका धेरै कुरा सार्वजनिक गरे पनि कार्यन्वयनका लागि अगाडि नबढेको श्रेष्ठले बताए। ‘सरकारको आर्थिक सल्लाहकारको भूमिकामा महासंघ जुन बेला अगाडि बढ्नुपर्ने थियो, त्यो हुन सकेन,’ श्रेष्ठको ठहर छ।
गोल्छाले सेयर बजार, राष्ट्र बैंकका निर्देशन र ब्याजदरका विषयमा मात्र बढी समय खर्च गरेको र अर्थतन्त्रको मूलमुद्दामा जानै नसकेको श्रेष्ठको आरोप छ। सरकारको आर्थिक सल्लाहकारका हैसियतमा अगाडि बढाउँदै अन्तर्राष्ट्रिय निकायमा समेत बलियो उपस्थिति जनाउन अध्यक्ष गोल्छा चुकेको पूर्वअध्यक्ष श्रेष्ठको अर्को आरोप छ।
पछिल्लो समय नेपालमा विदेशी लगानी बढ्न सकेको छैन्। कागजमा लगानी बढे पनि वास्तविक बढेको पाइँदैन। अहिले लगानी बढेको क्षेत्रमा ऊर्जा देखिएको छ। कतिपयमा निजी क्षेत्रको सहभागिता नै छैन। भारत र चीनसहितका देशको लगानी रहे पनि निजी क्षेत्रमा ठूला लगानी आएको पाइँदैन। जुन निजी क्षेत्रका लागि दुखद पक्ष हो।
त्यसैगरी पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले मुलुकको आर्थिक अवस्था जर्जर भइसक्दा पनि त्यसबाट कसरी उम्किन सकिन्छ भन्ने विषयमा अध्यक्ष गोल्छाले गम्भीर भएर छलफल नगरेको बताए।
‘महासंघ समग्र अर्थतन्त्रबारे चिन्तित हुनुपर्नेमा त्यसो भएको देखिएन,’ श्रेष्ठले भने, ‘गोल्छाले सरकारसँग सिरियस भएर कुरा गर्न सकेनन्। यो गोल्छाजीको कमजोरी हो।’
गोल्छाले प्रतिबद्धता जनाएको विधान संशोधन प्रक्रिया अगाडि बढाउन नसक्नु नै असफलताको पहिलो कडीका रूपमा देखिएको पूर्वअध्यक्ष श्रेष्ठको आरोप छ।
‘अहिले नेपालको शासकीय स्वरूप नै परिवर्तन भइसकेका बेला महासंघको विधानलाई पहिलाकै ढाचाँमा चलाइरहनुहुँदैन,’ श्रेष्ठले भने, ‘समयसापेक्ष संशोधन हुँदै जानु पर्नेमा रोकिनु चिन्ताको विषय हो। यसमा अध्यक्षकै गैरजिम्मेवारीपन देखिन्छ।’
पछिल्लो समय नेपालमा विदेशी लगानी बढ्न सकेको छैन्। कागजमा लगानी बढे पनि वास्तविक बढेको पाइँदैन। अहिले लगानी बढेको क्षेत्रमा ऊर्जा देखिएको छ। कतिपयमा निजी क्षेत्रको सहभागिता नै छैन। भारत र चीनसहितका देशको लगानी रहे पनि निजी क्षेत्रमा ठूला लगानी आएको पाइँदैन। जुन निजी क्षेत्रका लागि दुखद पक्ष हो।
यसबीच ठूला विदेशी लगानी नभित्रिनुमा पनि महासंघ अध्यक्षको नेतृत्वको सक्षमताप्रति नै प्रश्न तेर्सिने पूर्वअध्यक्ष श्रेष्ठको भनाइ छ। महासंघका अर्का पूर्वअध्यक्ष चण्डिराज ढकालले जिल्ला तथा नगरका व्यवसायीले त अध्यक्ष गोल्छालाई नै बाहिर राखेर कार्यक्रमहरू गरेको बताए।
बैंक तथा वित्तीय संस्थाले जथाभावी ब्याजदर बढाउँदा महासंघ नेतृत्व मौन रहेका कारण साना तथा मझौला व्यवसायीले अध्यक्ष गोल्छा छन् भन्ने नै बिर्सिएको ढकालको भनाइ छ।
‘महासंघ अध्यक्ष हुँदाहुँदै जिल्लामा हुने महासंघका कार्यक्रममा समेत अन्य पदाधिकारीलाई प्राथमिकता दिनुले पनि अध्यक्ष गोल्छाको लोकप्रियता कस्तो छ भन्ने स्पष्ट हुन्छ,’ पूर्वअध्यक्ष ढकालले भने, ‘त्यही भएर होला गोल्छा आफ्नो कार्यकालभरि जिल्ला पुगेनन्। कतै पनि गएनन्।’
जसरी वरिष्ठ उपाध्यक्षमा रहँदा महासंघको भूमिका बढाउँदै सरकारी एवं निजी क्षेत्रमा बलियो उपस्थिति राख्न खोजेका थिए, अध्यक्ष भएपछि त्यो कुनै पनि हुन नसकेको आरोप गोल्छामाथि लागेको छ।
व्यवसायमा सफलता हात पारिसकेका गोल्छाले महासंघ नेतृत्व लिएपछि राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा समेत बलियो उपस्थिति जनाउने अपेक्षा धेरैको थियो। तर, जुन अपेक्षा अध्यक्ष गोल्छाप्रति आमउद्योगी– व्यवसायीले राखेका थिए, त्यसमा तुषारापात भएको उनीनिकट उद्योगी–व्यवसायी बताउँछन्।
‘भिजन पेपरमा उल्लेख भएका सोच राम्रो छ, लेख राम्रो छ तर ती भन्दै आएका कुरा हुन्,’ ती व्यवसायीले भने, ‘महासंघले डकुमेन्टका रूपमा पछिसम्म हुनेखालको भिजन पेपर तयार पारे पनि त्यसलाई कार्यन्वयनमा लैजान गोल्छाले टिम निर्माण गर्न सक्नुभएन र त्यसमै चुक्नुभयो।’
गोल्छाले नेतृत्व लिएलगत्तै ‘भिजन पेपर’ सार्वजनिक गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको उक्त भिजन पेपरअनुसार अगाडि बढ्न नसक्नु नै दुखद पक्ष भएको व्यवसायीको भनाइ छ। भिजन पेपरमा भएका विषय कार्यान्वयनमा लैजान गोल्छाको आफ्नै टिमले समेत साथ नदिएको एक व्यवसायीले बताए।
‘भिजन पेपरमा उल्लेख भएका सोच राम्रो छ, लेख राम्रो छ तर ती भन्दै आएका कुरा हुन्,’ ती व्यवसायीले भने, ‘महासंघले डकुमेन्टका रूपमा पछिसम्म हुनेखालको भिजन पेपर तयार पारे पनि त्यसलाई कार्यन्वयनमा लैजान गोल्छाले टिम निर्माण गर्न सक्नुभएन र त्यसमै चुक्नुभयो।’
गोल्छा महासंघ नेतृत्वमा आएपछि सीमित व्यक्तिको घेरामा फसेको आरोपसमेत लागेको छ। यही कारण गोल्छाले चाहेजस्तो काम गर्न नसकेको आँकलन गर्न थालिएको छ।
व्यक्तिगतरूपमा महासंघ सचिवालयलाई बलियो बनाउन लागेको देखिए पनि सरकारलाई नीतिगत सुधारमा महासंघले गम्भीरतापूर्वक सुझाव दिन सकेन भन्ने गुनासो जिल्लादेखि केन्द्र हुँदै एसोसिएट सदस्यका समेत गुनासो रहँदै आएको पूर्वअध्यक्ष कुशकुमार जोशी बताउँछन्।
व्यवसायीको माग सम्बोधनमा सरकारी पक्षलाई झकझकाउने सन्दर्भमा पनि अध्यक्ष गोल्छाको उपस्थिति कमै मात्रामा देखिएको छ। अर्थात, उनी सरकारी निकायमा आवाज उठाउन पछि हटेका हुन् कि भन्ने प्रश्न उब्जिएका छन्।
हिमालय रिइन्स्योरेन्सको लाइसेन्स लिन लबिङमा लाग्नु र त्यसलाई नै व्यवसायमा लैजानका लागि हिँड्नु, साना व्यवसायीका मागमा गम्भीर नबन्नु, राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रम गर्न असफल हुनु, नीतिगत भ्रष्टाचारमा सहभागी हुनु, निश्चित व्यवसायीलाई मात्र च्याप्नु लगायत गोल्छामाथि लागेका आरोप हुन्।
‘पछिल्लो समय महासंघकै केही पदाधिकारीले आन्दोलनसमेत गरेका थिए। जुन आफैंमा लाजमर्दो विषय हो,’ महासंघकै वर्तमान एक कार्यकारिणी सदस्यले भने, ‘आफ्नै घरभित्र समस्या समधानको विषयमा छलफल गर्नुपर्नेमा उल्टै सडकमा आउनु गलत हो।’
जिल्लाले गरेको ‘डेलिगेसन’ मा पनि महासंघको उपस्थिति कमजोर देखिन्छ। जुन सामान्य अवस्थामा गल्ती हो।
‘विगतमा अर्थतन्त्रबारे बहस हुँदा उद्योगी–व्यवसायी हुन्थे तर अहिले भने अर्थविद बढी देखिनुलाई अब निजी क्षेत्रले आफ्नो ठाउँ गुमाउदै गएको छ वा उद्योगी–व्यवसायी बहसमा उत्रिन नसकेको हो भन्ने तर्कसमेत उठ्न थालेको छ,’ पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठले भने।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि विभिन्न राजनीतिक दलको घोषणापत्रमा उल्लेख हुने आर्थिक अजेन्डामा समेत महासंघले ‘लबिङ’ गरेर सकेसम्म एउटै धारणा ल्याउन पहल गर्न पूर्वअध्यक्षहरूले दिएको सुझावसमेत अध्यक्ष गोल्छाले बेवास्ता गरेको बताइन्छ।
धेरै पूर्वअध्यक्षहरूका कार्यकालमा विभिन्न राजनीतिक दलका अध्यक्ष र मन्त्रीहरूलाई महासंघकै कार्यकक्षमा बोलाएर तिनका घोषणापत्रमा आर्थिक अजेन्डा उल्लेख गराउने गरिएको थियो। जुन अहिले हुन सकेको छैन। व्यक्तिगतरूपमा राजनीतिक दललाई आवाज गएको भए पनि संस्थागतरूपमा जान नसक्नु कमजोरी देखिन्छ।
महासंघ नेतृत्व लिएलगत्तै नेपालसहित विश्वभरि कोभिड संक्रमण फैलनु, त्यसको केही समयपछि रुस र युक्रेनबीचको युद्धले विश्वअर्थतन्त्र नै तहसनहस बनेका कारण गोल्छाले आफ्नो कार्यकालमा केही गर्न खोजे पनि नसकेको भनेर पन्छिन मिल्ने बाटो भने खुलेको छ।
तथापि, महासंघभित्रै पनि केही नयाँ गर्ने सम्भावना रहँदा रहँदै नगरेको भन्ने नकारात्मक टिप्पणी भने गोल्छामाथि लाग्दै आएको छ। रुस–युक्रेन युद्ध भइरहेका बेला भारतले विभिन्न खाद्यवस्तुमा भन्सार दर बढाएको थियो। जसले नेपाललाई ठूलो असर पर्यो। किनकि, भारत पहिला आफ्नो जनतालाई आवश्यक खाद्यान्न जोहोमा लागेको देखिन्छ। तर, त्यसको असर नेपालमा ठूलोरूपमा पर्न गयो।
यस्तो बेलामा नेपालको निजी क्षेत्रका तर्फबाट गोल्छाले आफ्नो कुरा स्पष्टसँग राख्न नसकेको आरोप लागेको छ।
‘नेपाल र भारत वा नेपाल र चीनबीच यति राम्रो सम्बन्ध छ। जसले दुवै मुलुकले नेपाललाई समेट्दा कुनै असर पर्दैन। तर, हाम्रो आवाज र काम त्यहाँसम्म पुगोस् भन्ने हो,’ पूर्वअध्यक्षहरू भन्छन्, ‘तर, अन्तर्राष्ट्रिय मुद्दामा आवाज उठाउन महासंघ नेतृत्व चुक्न पुग्यो।’
गोल्छाले आफू अध्यक्ष हुँदै गर्दा आफ्नो व्यवसायमा फाइदा पुग्ने मोटरसाइकल एसेम्बल प्लान्ट राख्दा अन्तःशुल्क करमा फाइदा लिएका थिए, तर त्यो फाइदा उपभोक्तालाई पुगेको थिएन।
त्यस्तै हिमालय रिइन्स्योरेन्सको लाइसेन्स लिन लबिङमा लाग्नु र त्यसलाई नै व्यवसायमा लैजानका लागि हिँड्नु, साना व्यवसायीका मागमा गम्भीर नबन्नु, राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रम गर्न असफल हुनु, नीतिगत भ्रष्टाचारमा सहभागी हुनु, निश्चित व्यवसायीलाई मात्र च्याप्नु लगायत गोल्छामाथि लागेका आरोप हुन्।
यी आरोपलाई उनले चिरेर आफ्नो कार्यकाल सफल भएको देखाउन गोल्छालाई अबको एक साताले पुग्दैन।
उनीमाथि लागेका आरोप तथा उनको कार्यकालमा भएका र हुन नसकेका विविध विषयबारे प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क र म्यासेज गर्दासमेत गोल्छा सम्पर्कमा आउन चाहेनन्।