काठमाडौं। केचप, टेक्सटाइललगायतको कच्चा पदार्थ बोकेका २० ट्रक २० दिनदेखि वीरगञ्ज भन्सारमा अलपत्र परेका छन्। यसअघिसम्म निर्वाध रूपमा नेपाल भित्रिने त्यस्ता कच्चा पदार्थ वीरगञ्ज भन्सार कार्यालयले नियोजित रूपमा रोकिदिएपछि ठूलो परिमाणमा सामान भन्सारमै अलपत्र परेका हुन्।
त्यही सामान भैरहवा, नेपालगञ्ज र विराटनगरबाट निर्वाध रूपमा नेपाल भित्रिएका छन्। तर, वीरगञ्ज भन्सार कार्यालयले अनेकन बहाना बनाएर कच्चा पदार्थ बोकेका गाडी रोकेको व्यवसायीहरूले बताएका छन्।
‘केचप, टेक्सटाइल, धागो तथा कपडा उद्योगको कच्चा पदार्थ बोकेर आएका गाडी वीरगञ्ज भन्सार कार्यालयले २० दिनदेखि रोकेर राखेको छ,’ आयातकर्ता अरुण डोकानियाले भने, ‘त्यही सामान वीरगञ्जबाहेक सबै नाकाबाट आइरहेका छन्। त्यहाँ कुनै अवरोध खडा गरिएको छैन। तर, वीरगञ्ज भन्सार कार्यालयले छाड्नै मानेको छैन।’
उनका अनुसार एसिटिक एसिड, कास्टिक सोडा, स्टेवल ब्लिचिङ र पाउडरलगायत औद्योगिक कच्चा पदार्थ बोकेका ट्रक वीरगञ्ज भन्सारका कार्यालयले रोकेको हो।
उनका अनुसार, वीरगञ्ज भन्सारका कार्यालयले उक्त सामान नेपाल भित्र्याउन प्रतिबन्ध रहेको भित्र्याउनै परे गृह मन्त्रालयको अनुमति लिएर आउन भनेपछि भन्सारमै अलपत्र भएका हुन्।
गृह मन्त्रालयले देशभित्र एसिड आक्रमण बढेपछि त्यस्ता वस्तुको आयातमा रोक लगाउने गरी कार्यविधि बनाएको थियो। उक्त कार्यविधिले उद्योगहरु अप्ठ्यारोमा परेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर एसिटिक एसिड, कास्टिक सोडा र स्टेबल ब्लिचिङ, पाउडरलगायतको वस्तु आयातमा अनुमति नचाहिने बनायो।
त्यसलगत्तै भन्सार विभागले २०७८ मंसिर १४ गते सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई पत्राचार गरेर वाणिज्य मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसारका वस्तु निर्वाध रूपमा आउन दिनु भनियो।
त्यही सूचनालाई आधार मानेर अन्य भन्सार कार्यालयले सामान छाडिरहेका थिए। तर, २० दिनदेखि वीरगञ्ज भन्सार कार्यालयले अनेकन बहाना देखाएर सामान रोकेको डोकानियाले बताए।
अर्थसचिव तोयम रायका अनुसार, वाणिज्य मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सामान छाड्न निर्देशन दिने बताए। ‘राजपत्रमा अनुमति लिनुपर्ने वस्तु ल्याएको हो भने अनिवार्य अनुमति लिनुपर्छ, अन्य सामानमा पर्दैन्’ अर्थसचिव रायाले भने, ‘के कति कारणले रोकिएको हो, म बुझ्छु।’
वीरगञ्ज भन्सार कार्यालयले गृहको अनुमति नलिइ कुनै हालतमा सामान नछाड्ने अडान लिइरहेको छ। व्यवसायीले अन्य भन्सारबाट यही सामान नेपाल आइरहेको छ भन्दासमेत भन्सार कार्यालय प्रमुख सामान छाड्न अटेरी गरिरहेका छन्।
एकातिर अर्थमन्त्री डा. प्रकाशशरण महत व्यवसायीको मनोवल उच्च बनाउन व्यवसायीका समस्या सुनिरहेका छन्, भनेको भन्सार कार्यालयका कर्मचारी व्यापारीसँग अनुचित लाभ लिन खोजिरहेका छन्।
‘तपाईंहरूले पनि व्यापार गरेर कमाइरहनु भएको छ, धेरथोर हामीलाई पनि हेर्नुस्, हामी सामान छुटाइहाल्छौं, आगामी दिनमा अवरोध पनि गर्दैनौ’ भनेर आयातकर्तासँग अनुचित लाभको अपेक्षा गरिरहेको आयातकर्ताहरू बताउँछन्।
ठूलो उद्योग आफैंले एलसी खोलेर त्यस्ता कच्चा पदार्थ मगाउँछन्। साना उद्योगले यहीका आयातकर्तासँग किनेर कपडा, केचप बनाइरहेका छन्। नेपालमा यस्ता सामान आयात गर्ने व्यापारीहरू आधादर्जन छन्।