काठमाडौं। मेलम्चीको पानी आगामी बर्खामा बन्द नहुने भएको छ। खानेपानी मन्त्रालयले विगत दुई वर्ष हिउँदमा पानी काठमाडौं ल्याएर बर्खाले क्षति हुने भन्दै बन्द गराउँदै आएको थियो। तर, आगामी बर्खामा भने मेलम्चीको पानी आपूर्ति सुचारु गर्ने तयारी मन्त्रालयको छ।
मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार नियमित पानी ल्याउन अहिलेकै अवस्थामा सम्भव छैन। तर, संरचनामा आवश्यक तयारी गरे बर्खामा पानी बन्द नगर्ने योजना छ।
‘विगतका वर्षमा जस्तो अबको बर्खामा पानी बन्द नगरी नियमित आपूर्ति गर्ने तयारी गरेका छौं,’ सचिव गेलालले क्यापिटल नेपालसँग भने, ‘त्यतिकै हुँदैन, ५/७ करोड रुपैयाँ खर्च गरेर त्यहाँको संरचना व्यवस्थित बनाउनुपर्छ।’
सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा ‘मेलम्ची खानेपानी विकास समिति’ खारेज गर्ने उल्लेख गरेको थियो।
मेलम्ची खानेपानीमा काम गर्दै आएको समिति नै खारेज गर्ने सरकारको योजनाका कारण समितिमा रहेर काम गर्दै आएका कर्मचारीले तलबसमेत पाएका छैनन् भने मेलम्ची खानेपानीको क्षेत्रका महत्वपूर्ण निर्णयसमेत हुनसकेका छैनन्।
‘विकास समिति ब्युँताउन हामीले हतार गर्नुको कारण पनि मेलम्चीको पानी बर्खामा नियमित गर्न सकिन्छ कि भनेर हो। सोमबारको मन्त्रिपरिषदले उक्त प्रस्ताव पास गरे हामीले वैशाख १ सम्म पानी नियमित गर्ने निर्णय गर्न सक्छौं,’ सचिव गेलालले भने, ‘करिब ४५ दिन जतिमा सम्भाव्य क्षति रोक्ने काम गर्न सक्यौं भने पानी बन्द गर्नुपर्दैन।’
मन्त्रिपरिषदले बजेट वक्तव्यमार्फत खारेज गर्ने भनिएको समिति पुनः ब्युँतिए कर्मचारीले नियमित सेवासुविधा र तलब प्राप्त गर्ने सचिव गेलालको भनाइ छ।
सरकारले तलबभत्ता बढाएको वर्ष समितिले आफ्नो मातहतका कर्मचारीको दरबन्दी स्वीकृतिका लागि मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ। तर, यो वर्ष समिति खारेज गर्ने घोषणा भएपछि दरबन्दी स्वीकृत हुन सकेको छैन। जसका कारण गत भदौदेखि समितिमा आबद्ध कर्मचारीले तलब पाएका छैनन्।
‘भदौसम्म तलब पाएका थियौं तर सरकारले यो वर्ष बढाएको तलब त्यसमा जोडिएको थिएन, साविककै तलब आएको हो। असोजदेखि तलब आएको छैन,’ समितिका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राजेन्द्रप्रसाद पन्तले भने, ‘लामो समयसम्म पैसा नआउँदा हाम्रो व्यक्तिगत समस्या बढ्दै गएको छ।’
मेलम्ची खानेपानी तथा विकास समितिमा ६८ कर्मचारी छन्। तीमध्ये केही काजमा आएका र केही समिति आफैंले दरबन्दी खडा गरी राखेका हुन्।
२०७८ असरमा खानेपानी आयोजना स्थलमा गएको बढीका कारण निर्माण अन्तिम चरणमा पुगेको आयोजनामा क्षति पुगेको थियो।
मेलम्ची पानी सुरुङमार्फत काठमाडौं ल्याउनुपर्छ। तर, परीक्षण क्रममा रहेकै अवस्थामा बाढीले क्षति पुर्याएपछि भने विकास समितिले बर्खामा पानी आपूर्ति बन्द गराएर बाढी कम भएपछि हिउँदमा काठमाडौं पानी ल्याउने गर्दै आएको छ।
२०७८/२०७९ बर्खामा बन्द गरिएको पानी २०८० मा भने बन्द नगरी नियमित ल्याउने तयारीमा मन्त्रालय छ।