काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ। अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्र सकटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताए। अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उनले बताए।
अहिले बजारमा तरलता प्रवाह बढाउनुका साथै अन्य उपकरणको प्रयोग गरी ब्याजदर घटाउनुपर्ने सुझाव उनको थियो । बजारमा माग नहुँदा उद्यम व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेकाले बजारमा विश्वास बढाउनुपर्ने अध्यक्ष गोल्छाको राय थियो।
अब अवस्था सहज बनाउन सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनै पर्छ, अध्यक्ष गोल्छाले भने, 'वितरणमुखी हुने कुरामा हामी गयौं भने संकटमा पर्छ नै।' वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध भएसम्मका सबै उपाय र उपकरण प्रयोग गरेर भए पनि बजारमा लगानी बढाउन र निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नुपर्ने सुझाव राखे। अध्यक्ष गोल्छाले वाह्य लगानी ल्याउन दाताहरुसँग सम्मेलन गर्न पनि सुझाए।
बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धी कानुन यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिए। अध्यक्ष गोल्छाले बहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न पनि मन्त्री रिजालसमक्ष आग्रह गरे। महासंघको पहलमा निर्माण भएको नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ।
महासंघ स्टार्ट अप तथा इनोभेसन समितिका सभापति रन्जित आचार्यले हालै जारी भएको स्टार्ट अप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लगि पनि नीति आवश्यक रहेको बताए। महासंघको भिजन पेपर राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयनबरे महासंघ र मन्त्रालय बीचको समझदारीलाई अगाडि लैजाने कार्यमा सहयोग गर्न पनि आग्रह गरे।
सो अवसरमा उद्योगमन्त्री रिजालले महासंघका तर्फबाट राखिएका सुझावलाई कार्यान्वयन गर्न महासंघसँग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए। उनले स्टार्टप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन पनि दिए। मन्त्री रिजालले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग र सहकार्य गर्ने विश्वास दिलाए।