काठमाडौं। अभानी नेपालकी सहसंस्थापक आरुश्री शर्माले ‘समिट वुमन अफ द इयर २०२३’ को शीर्ष उपाधि जितेकी छिन्। शर्माले १ लाख नगद पुरस्कार पाइन्।
ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा समिट आयोजना गरिएको थियो। तेस्रो वर्ष आयोजित समिटमा पेटमामा नेपालकी सहसंस्थाप तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) निकिता जलानलाई ५० हजार नगदसहित ‘वैद्य अर्गनाइजेसन इनोभेसन प्राइज २०२३’ प्रदान गरियो।
पुरस्कृतलाई नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए।
आयोजकका अनुसार अवार्डका लागि सात प्रदेशबाट ८० भन्दा बढी आवेदन प्राप्त भएका थिए। तीमध्ये शर्मा र जलान उत्कृष्ट ठहरिएका हुन्।
निर्णायकमण्डलमा युनाइटेड ट्रेडर्स सिन्डिकेट र भ्वाइथ ग्रुपकी प्रबन्ध निर्देशक रितुसिंह वैद्य, क्युएफएक्स सिनेमा र लबिम मलका सहसंस्थापक नकिम उद्दिन, महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी, नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली र लोटस होल्डिङ्स प्रालिकी अध्यक्ष सुलोचना श्रेष्ठ शाह थिए।
समिटको उद्देश्य ३० वर्षभन्दा कम उमेरका महिला व्यवसायी पहिचान गर्नु र उनीहरूको सम्मान गर्नु रहेको आयोजकले जनाएको छ।
समिट आयोजना गर्न एपेक्स कलेज, वाइपिओ नेपाल, ग्लोकल, स्टिङ, नबिल बैंक, यती एयरलाइन्स, सिलिंक्स होलिडेज, हर भेन्चर्स, शालिमार ज्वेलर्स, मामाअर्थ, एनवाइइएफ, कायो, टोयोटा, काठमाडौं ह्यान्डमेड, अल्लादिन, होटल सोल्टी र अरण्य बुटिक होटलले सहयोग गरेका थिए।