काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षका उम्मेदवारी घोषणा गरेका सुरकृष्ण वैद्य नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेको भेटिएको छ।
महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईको टिमबाट जिल्लानगर उपाध्यक्षका उम्मेदवारी दिने तयारीमा रहेका वैद्यलाई कांग्रेसले बागमती प्रदेशको समानुपातिकको बन्द सूचीमा राखेका छ।
उद्योग वाणिज्य महासंघको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष बन्न कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाउने व्यवस्था छ।
विधानमा कार्यकारिणी अधिकार भएको कुनै राजनीतिक पदमा नियुक्त भएमा वा निर्वाचित भएमासमेत सो पद खारेज हुने उल्लेख गरिएको छ।
तर, वैद्यलाई कांग्रेसले पठाएको बागमती प्रदेशको समानुपातिक बन्द सूचीमा ६ नम्बरमा राखिएको छ। यो सूची पाँच वर्षसम्मलाई कायम हुने छ। कुनै सांसदले पदबाट राजीनामा गरे वा मृत्यु भएमा उसको ठाउँमा तिनै बन्द सूचीमा रहेका भित्रबाट छनौट गरेर निर्वाचन आयोगले निर्वाचित गराउने प्रचलन रहेको छ।
यही चैत २८ र २९ गते हुने महासंघको ५७औं वार्षिक साधारणसभाका लागि संघईले आइतबार साँझ वैद्यसहितको टिमको उम्मेदवारी घोषणा गरेका थिए। संघईको टिमबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैध,वस्तुगततर्फ सकुन्तलाल हिराचन र एसोसिएटमा ज्याेत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।
यता वैद्यले भने आइतबार नै पार्टी कार्यालयमा निवेदन दिएर आफ्नो नाम झिकाउने निर्णय गराएर निर्वाचन आयोगमा बुझाइसकेको जानकारी दिए। ‘आइतबार निर्णय भएर निर्वाचन आयोगमा पठाइसकेको छु,’ वैद्यले क्यापिटल नेपालसँग भने, ‘सम्भवत: सोमबार बेलुकासम्म हटिसक्छ होला।’