काठमाडौं। करका दर हेरफेर गरेर राज्यलाई ठूलो नोक्सानी पुर्याउन सहयोग गरेका तत्कालीन अर्थसचिव कृष्णहरि पुष्कर नै पुनः अर्थ मन्त्रालयमा फर्काउन चलखेल सुरु भएको छ।
निजामती सेवामा निरन्तर विवादको छवि बनाएका पुष्करलाई अर्थसचिवमा भित्र्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महत सकारात्मक देखिएका छन्।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘एस म्यान’ बनेर राज्यलाई गम्भीर आर्थिक संकटमा धकेल्न महत्वपूर्ण भूमिका खेलेका पुष्कर अर्थमा फर्किन अहिले शक्तिकेन्द्रको शरणमा पुगेका छन्।
उनको जे पनि हुन्छ, हजुर भन्ने शैलीसामु प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महत सकारात्मक देखिएका छन्। मुलुकको अर्थतन्त्र अप्ठेरोमा परेका बेला अनुभवी र दीर्घकालीन निर्णय लिन सक्ने अर्थसचिव ल्याउनुपर्ने हो । तर, उनै विवादास्पद छवि बनाएका पुष्करलाई ल्याउन सरकार तयार देखिन्छ।
अर्थमन्त्री महत पुष्करले अर्थसचिव हुँदा गरेको बदमासी के भनेर बचाउमा उत्रिन थालेका छन्। ‘पुष्करले गरेको गल्ती चै के हो? त्यसै पुष्कर हुँदैन भन्ने’ भनेर आफ्ना निकटसँग पुष्करको बचाउ गर्न थालेका छन्।
‘पुष्करले गरेको गल्तीका फेहरिस्त ल्याए, सोच्न सकिन्छ। आफूलाई मन परेन भन्दैमा पुष्कर ठीक छैन भन्न मिल्दैन’ अर्थमन्त्री महतले भनेका छन्।
अर्थ मन्त्रालयको प्राविधिक पक्षबारे सामान्य ज्ञान नहुँदै पुष्करलाई राजस्व सचिव बनाइएको थियो। त्यसबेला तत्कालीन अर्थमन्त्री शर्माले भनेअनुसार काम गर्छु भन्ने बाँचापछि राजस्व सचिवमा आएका थिए। विष्णु पौडेल पुनः अर्थमन्त्री बनेपछि पुस २१ गत पुष्करलाई अर्थसचिवबाट हटाएर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाइएको थियो।
‘अर्थ मन्त्रालयभित्रको कार्यसंस्कृतिबारे उनमा अहिले पनि पर्याप्त ज्ञान र अनुभव छैन’ एक पूर्व अर्थसचिव भन्छन्, ‘सधैं शक्तिकेन्द्र वरपर घुमेर अवसर लिने खुबी पुष्करमा छ।’
तत्कालीन शेरबहादुर देउवा सरकारले ११ भदौ २०७८ मा कृष्णहरि पुष्करलाई राजस्व सचिव नियुक्त गरेको थियो । जबकि उनी सचिवमा बढुवा भएको दुई महिना पनि पुगेको थिएन।
प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा रहेका पुष्कर सचिव पदमा अनुभवबिनै देशको ‘ढुकुटी चलाउने ठाउँमा पुगे ।
पुष्करलाई वर्तमान सरकारले अर्थसचिव बनाउन खोजिरहेको छ। यसअघि अर्थसचिव बनाउँदा राज्यकोषको दोहनमा ठूलो योगदान पुर्याएका थिए। अर्थ मन्त्रालयभित्रको प्रणालीलाई नबुझेका व्यक्तिलाई अर्थसचिव भए मुलुकको आर्थिक प्रणालीले थप मूल्य चुकाउनुपर्ने पूर्व अर्थसचिवहरूको भनाइ छ।
अर्थ मन्त्रालयभित्रैबाट आए पनि काँचो अनुभवकै बीचमा अर्थसचिव बन्दा के हुन्छ? भन्ने शिक्षा मधु मरासिनीबाटै लिन सकिन्छ। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विश्वासमा लिएर मुलुक र प्रणालीका लागि आवश्यक निर्णय लिनुपर्ने व्यक्ति ‘गणेश प्रवृत्ति’का भए परिणाम घातक हुनसक्ने उनको टिप्पणी छ।
‘चलखेल नगरी बस्नै नसक्ने, हैन, हुँदैन, मिल्दैन, सकिँदैन भन्न नसक्नेहरू अर्थ मन्त्रालयमा जानै हुँदैन’ ती पूर्वसचिव भन्छन्, ‘पुष्करको परिचय सरकारले जे पनि ‘हुन्छ हजुर’ भन्ने छ। विषमपरिस्थितिमा त्यस्ता प्रवृत्ति भएका व्यक्तिलाई अर्थसचिव बनाइए अर्थतन्त्र थप डामाडोल हुन सक्छ।’
अहिले उद्योगी व्यवसायी, अर्थतन्त्रसँग प्रत्यक्ष/परोक्ष सम्बन्ध राख्नेहरू अनुभवी सचिवलाई अर्थमा ल्याउनुपर्ने बताइरहेका छन्। व्यवसायीको खच्किएको मनोवल उकास्न, अर्थतन्त्रलाई चलायमान बनाउन कुशल नीति लिन, राजस्वमा देखिएको भ्वाङ टाल्न अर्थका क्याडरलाई नै अर्थसचिव बनाउनुपर्ने माग उठिरहेका बेला पुनः पुष्करनै अर्थको बागडोर सम्हाल्न आइपुग्ने अर्थका अधिकारीहरु बताउँछन्।
अर्थमन्त्रीलाई सकारात्मक बनाइसकेका पुष्करले बालुवाटारतिर लबिङ तीव्र पारेका छन्। त्यसका लागि उनले नेपाली कांग्रेसका केही नेता र बालुवाटार निकट व्यवसायीलाई परिचालन गरेको अर्थ मन्त्रालय स्रोतको दाबी छ।