काठमाडौं। प्रबलजंग पाण्डे र भरत आचार्यको सम्बन्ध असल साथीमात्रैमा सीमित छैन, उनीहररू कुशल साझेदार पनि हुन्। नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष भवानी राणाको कार्यकालबाट उनीहरूको सम्बन्ध थप कसिलो बन्न पुगेको हो।
भवानी अध्यक्ष हुँदा भरतलाई अघि बढाउन प्रबलले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। एकले अर्कालाई प्रवर्द्धन गर्दै अघि बढेका दुई दौंंतरी यसपालि चुनावमा फरक-फरक समूहबाट एउटै पदमा प्रतिस्पर्धी बन्ने पक्का भएको छ।
केही समय अघिसम्म प्रबल भरतलाई महासंघको एसोसिएटतर्फको उपाध्यक्ष बनाउन भित्रीरूपमा लागेका थिए। निकै लामो समयसम्म प्रबलले भरतलाई वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जन श्रेष्ठको प्यानलबाट एसोसिएट उपाध्यक्ष बनाउन दौडधुप गरे।
तर, भरत उमेशलाल श्रेष्ठको प्यानलबाट एसोसिएट उपाध्यक्ष बन्ने पक्का भएपछि अञ्जनको प्यानलबाट ज्योत्सना श्रेष्ठलाई अघि सारियो। तै पनि प्रबलको भित्री इच्छा भरत आए पनि केही फरक पर्दैन भन्ने थियाे।
त्यसको कारण थियो– भरतको बौद्धिकता, कुशल साथी र साझेदार। त्यही भएर उनले भरतको कहिल्यै आलोचना गरेनन्, बरु अप्रत्यक्ष सहयोग नै गरिरहे।
वरिष्ठ उपाध्यक्ष प्रत्याशी अञ्जनले आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा प्रबलले `भरतले बाटो बिराएको´ भनेर मन दुखाएका थिए। सकेसम्म यही टिमबाट एसोसिएट उपाध्यक्षको उम्मेदवार बनोस् भन्ने प्रबलको कामना थियो। तर, त्यो सम्भव भएन।
त्यही भएर अञ्जनको टिमबाट ज्योत्सनालाई अघि बढाइयो। एकाएक महासंघको राजनीतिले नयाँ मोड लिएपछि दौंतरी नै एकअर्काका प्रतिस्पर्धी बन्न पुगे।
‘हिजोसम्म एकले अर्कालाई काँध थापेर हिँडेकाहरू यसरी प्रतिस्पर्धामा उत्रिएलान् भन्ने अनुमान गरिएको थिएन,’ महासंघको राजनीतिलाई नजिकबाट नियालिरहेका एक व्यवसायीले क्यापिटल नेपालसँग भने, ‘राजनीति कस्तो नशा रहेछ भन्ने यहीँबाट देखिन्छ।’
व्यवसायी–व्यवसायीबीच चुनाव हुनु स्वाभाविक हो। एउटा लगानीकर्ता एउटा समूहबाट, अर्को लगानीकर्ता अर्को समूहबाट चुनावी मैदानमा उत्रिएका छन्।
खासगरी ज्योत्सनाले अञ्जनको टिमलाई अन्तरघात गरेपछि एसोसिएटको उपाध्यक्षमा प्रबलजंग भित्रिँदा भरतसँग प्रतिस्पर्धी बन्न पुगेका हुन्।
वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईले अन्तिम आवरमा आफ्नो एसोसिएट उपाध्यक्षमा ज्योत्सनालाई भित्र्याएपछि देखापरेको महासंघको परिदृश्यले सबै व्यवसायी चकित परेका छन्। त्यही परिदृश्यपछि प्रबल उपाध्यक्षमा आइपुगेका हुन्।
भरत आफ्नो मित्र भएकै कारण योपटक महासंघको कुनै पनि पदमा नउठ्ने प्रबलले यसअघि नै बताइसकेका थिए।
उनी चाहन्थे, भरतसँग प्रतिस्पर्धा नगर्ने। तर, अन्तिममा उनै मित्र चुनावी प्रतिस्पर्धामा एउटै पदमा भिड्न आइपुगेका छन्।
प्रबल र भारतको साझेदारी औषधिको प्याकेजिङ सामग्री बनाउने उद्योग छ।