काठमाडौं। उधारो नउठेपछि उद्योगीले धमाधम ‘बैंक ग्यारेन्टी क्लेम’ (दाबी) गर्दै रकम लिन थालेपछि बैंकिङ प्रणालीमा ठूलो समस्या सिर्जना हुन थालेको छ।
उधारो लिएका व्यवसायी सम्पर्कविहीन हुन थालेयता बैंक ग्यारेन्टी क्लेम गरेर रकम उठाउने कार्यलाई उद्योगीले तीव्रता दिएपछि बैंकहरू आत्तिएका हुन्।
बैंक ग्यारेन्टीमार्फत जाने रकम ठूलो परिमाणको भएपछि बैंकहरू उद्योगीसमक्ष पुगेर ग्यारेन्टी क्लेम नगरिदिन आग्रह गर्न थालेका छन्। ‘बैंक ग्यारेन्टीमार्फत रकम उठाएपछि बैंकले फोर्स लोन बुक गर्नुपर्छ।
सम्बन्धित पार्टीले उक्त रकम तीन महिनाभित्र नतिरे सतप्रतिशत प्रोभिजन गर्नुपर्ने नियामकीय व्यवस्थाले बैंकहरू डराएका हुन्,’ एक बैंकरले क्यापिटल नेपालसँग भने, ‘अहिले कोहीसँग पनि नगद छैन। फोर्स लोन तीन महिनामा उठ्ने कुनै छाँट नभएपछि बैंक ग्यारेन्टी क्लेम नगर्न आग्रह गर्न पुगिरहेका हौं।’
अहिले हरेक दिन ८ देखि १० करोडको बैंक ग्यारेन्टी क्लेम भइरहेको छ। क्लेमका लागि निवेदन दिएको एक साताभित्र बैंकले सम्बन्धित पार्टीलाई भुक्तानी दिइसक्नुपर्ने नियामकीय व्यवस्था छ।
केन्द्रीय बैंकले कोभिडकालमा व्यवसायीको पुनरुत्थान भन्दै नयाँ नोट छापेर पठाएपछि धेरै व्यवसायीले बैंक ग्यारेन्टी बुझाएर सामान उधारोमा लगेका थिए।
‘बैंक ग्यारेन्टी दिँदा बैंकको खर्च पनि केही लागेन। बरु तीन/चार प्रतिशत चाखो मार्जिन आइहाल्थ्यो,’ ती बैंकरले भने, ‘एउटा डकुमेन्ट दिएका भरमा खुुरुखुरु मार्जिन आउने भएपछि बैंकको जोडबल बैंक ग्यारेन्टी इस्यु गर्नतर्फ रह्यो तर अहिले आएर समस्या भइरहेको छ।’
उनका अनुसार बैंकरले नगद अभावका कारण यतिविघ्न रूप लिन्छ भन्ने अनुमान गरेका थिएनन्। बैंकसँग पर्याप्त तरलता थियो। जसलाई जति ऋण चाहिन्छ, दिने गरेका थिए।नेपाल बैंकर्स संघका अनुसार बैंक ग्यारेन्टी क्लेम गरेर उधारो उठाउने कार्यले तीव्रता पाएको छ।
यसरी बैंक ग्यारेन्टी दाबी गर्नेबित्तिकै उधारो लिनेहरूमा थप दबाब आउँछ। किनभने, तीन महिनाभित्र बैंक ग्यारेन्टीवापतको रकम बैंकलाई भुक्तानी नगर्नेबित्तिकै सतप्रतिशत प्रोभिजन गर्नुपर्छ।
उसै पनि आर्थिक अवस्था दयनीय बनिरहेका बेला थप ब्याज महँगो हुनेबित्तिकै उनीहरू झन् अप्ठ्यारो स्थितिमा पुग्ने बैंकहरू बताउँछन्।
धेरैजसो व्यवसायीले बैंक ग्यारेन्टी लिएरमात्रै उधारो दिएका हुन्छन्। थोरैमात्रै व्यक्तिगत सम्बन्धका आधारमा उधारो जाने गर्छ। त्यसो हुँदा उधारो दिने पार्टीले बैंक ग्यारेन्टी क्लेम गरेर भए पनि आफ्नो उधारो उठाउँछ।
व्यवसायीका अनुसार निर्माण व्यवसायीको सबैभन्दा बढी बैंक ग्यारेन्टी क्लेममार्फत नगद उठाउने कार्य भइरहेको छ। अहिले हरेक बैंकमा ४० वटासम्म बैंक ग्यारेन्टी क्लेमका फाइल आउने गरेका छन्।