काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईले पाँच बुँदालाई प्राथमिकतामा राखेर घोषणा-पत्र सार्वजनिक गरेका छन्।
आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा आफू विजयी भएमा मुख्य पाँच क्षेत्रलाई आधार मानेर महासंघमा काम गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।
आर्थिक समृद्धिको आधार: राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र पूर्वाधार,व्यावसायिक वातावरणको मूल आधार:सर्वसुलभ कर्जा र स्थिर ब्याजदर, व्यवसाय गर्ने वातावरण देऊ: हामी उत्पादन, रोजगारी र राजश्व बढाउछौँ, हाम्रो जिम्मेवारी: उत्पादन वृद्धि र रोजगारी र मेरो ध्यान: साना र मझौला उद्योगको प्रवद्र्धन भन्ने नारालाई प्राथमिकतामा राखेका छन्।
व्यावसायिक हकहितका कामलालाई अघि बढाउन महासंघको सशक्तताका लागि प्रदेश च्याप्टरहरूलाई थप सबल र सक्षम बनाउँदै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई समेत सबलीकरण गर्ने प्रयासलाई थप तीव्र बनाउनु जरुरी रहेको उल्लेख छ।
विभिन्न संकटका बीचमा पनि उद्योगी व्यवसायीको हक, हित प्रवर्द्धन र महासंघको सस्थागत सुधारमा वर्तमान अध्यक्ष शेखर गोल्छाको नेतृत्व अत्यन्त सफल रहेको उनको दाबी छ।
सबैलाई समेटेर लैजान सक्ने, सरकारसँग व्यवसायीका समस्यालाई जोडदार ढंगले राख्न सक्ने र सहकार्यको संस्कारअघि बढाउन सक्ने सफल नेतृत्वकर्ताका रूपमा गोल्छाको भूमिका स्मरण गरिरहेको बताउँदै गोल्छाकै नेतृत्वमा भिजन २०३० अघि सारेर त्यसलाई सरकारले समेत अनुमोदन गरी अघि बढाइरहेको अवस्था रहेको उल्लेख छ।
भिजन २०३० ले अघि सारेको ‘सम्मानित निजी क्षेत्र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न अब महासंघ जुट्नुपर्ने भएको छ। श्रमिक र रोजगारदाताबीच आपसी सम्बन्ध सुमधुर बनाउँदै उत्पादन बढाउने, ब्याजदर स्थिर राख्ने, पूर्वाधारको विकास तथा विद्युतीय ऊर्जालाई सस्तो मूल्यमा २४ सै घण्टा आपूर्ति हुने वातावरण तयार गर्ने एवं साना तथा मझौला व्यवसायीलाई विना धितो कर्जा उपलब्ध गराएर उद्यमशीलताको विकास गर्ने भिजन २०३० को कार्यान्वयन नै अबको महासंघको नयाँ नेतृत्वको मूल प्राथमिकता हुनुपर्दछ भन्ने उल्लेख छ।
अहिले ४५ खर्ब हाराहारीमा रहेको नेपालको अर्थतन्त्रलाई २०३० सम्म एक सय खर्ब पुर्याउने गरी भिजन २०३० ले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि सरकार र निजी क्षेत्रको सहकार्य अघि बढ्न सकेमा निश्चय पनि आर्थिक समृद्धिको चाहना पूरा हुनेछ।
महासंघकै पहलमा सरकारले स्टार्टअप बिजनेसलाई तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको छ।
स्टार्टअपले सहुलियतपूर्ण ब्याजमा र बिना धितो कर्जा पाउने बाटो खुलेको जनाएको छ। कार्यविधि कार्यान्वयनमा आएसँगै अब सरकारले तोकेको मापदण्डमा परेका स्टार्टअपले अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बिना धितो कर्जा पाउनेछन्। यसले उद्यमशीलता विकासमा थोरै भएपनि टेवा पुग्ने विश्वास उनले लिएका छन्।
नयाँ वर्ष २०८० को प्रारम्भसँगै महासंघको नेतृत्व वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले लिने बताउँदै कुशल, क्षमतावान् र उद्योगी व्यवसायीको भावना बुझ्न सक्ने नेतृत्वकर्ता रहेको उल्लेख गरेका छन्। ढकालको नेतृत्वमा महासंघलाई थप उचाइमा पुर्याउनुपर्ने देखिएकाले आफू वरिष्ठ उपाध्यक्षको उम्मेदबार बनेको बताएका छन्।
भूकम्प, कोरोना महामारी र आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसाय क्षेत्र अस्थिर राजनीतिका कारण थप समस्यामा परेको छ। आर्थिक क्षेत्रलाई चलायमान बनाउन पूर्वाधार, औद्योगीकरण, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, सेवा आदि सबै क्षेत्रमा ठूलो लगानी भित्र्याउन अपरिहार्य रहेको छ।
यसका लागि लगानी बोर्ड, औद्योगिक प्रवद्र्धन बोर्ड तथा उद्योग विभागबाट भित्रिने लगानीको सहजीकरण आवश्यक रहेको बताइएको छ।
साना मझौला तथा स्वरोजगारमा आधारित उद्योगहरूले भोग्नु परिरहेका समस्याका विषयमा पनि बेलैमा सबैको ध्यान जानु आवश्यक रहेको र सूचना प्रविधिमा आधारित ‘डिजिटल अर्थतन्त्र’ लाई प्रवद्र्धन नगरी मुलुकको समग्र अर्थतन्त्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन नसकिने औल्याएका छन्।
त्रिवेणी ग्रुपअन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य दर्जनौँ उद्योगहरूमा करिब १८ हजार श्रमिक परिवार आबद्ध छन्। मुलुकको कुल जीडीपीको अढाईदेखि तीन प्रतिशतको प्रत्यक्ष अप्रत्यक्ष योगदान त्रिवेणी ग्रुपको रहेको उल्लेख गरेका छन्।
साना तथा मझौला उद्यम व्यवसायमा पनि संलग्न रहेकोले व्यवसायीले भोग्नुपरिरहेका समस्याबारे पूर्ण जानकार रहेको बताएका छन्। विगत २० वर्षदेखि महासंघमा निरन्तर क्रियाशील रहेको बताउँदै रविभक्त श्रेष्ठको पालादेखि महासंघमा काम गरिरहेको जनाएको छ।