काठमाडौं। राजधानीको नक्सालमा तीनतारे होटल सञ्चालनमा आउने भएको छ। १ अर्ब ७६ करोड २० लाख रुपैयाँ लगानीमा स्वर्णिम बुटिक होटल प्रालि सञ्चालनमा आउन लागेको हो।
होटल आगामी सन् २०२४ जनवरी (पुस) मा सञ्चालनमा आउने भएको छ। होटलले ९९ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
११ हजार ८ सय ३१ वर्गमिटर क्षेत्रफलमा फैलिने होटलको १ सय १० कोठा हुनेछ। होटलमा स्वीमिङपुल, बैक्वेट हल र स्पालगायत थुप्रै सुविधाहरू उपलब्ध छन्। निर्माणका क्रममा होटलको लागत ५०.७३ प्रतिशत बढेको छ।
यसअघि १ अर्ब १६ करोड ९० लाख रुपैयाँ लागत निर्धारण गरिएकोमा झण्डै ६० करोड रुपैयाँ लागत बढेको होटलले जनाएको छ।
कोरोना महामारीले समय थप भएको र निर्माण सामग्रीको भाउ बढेकाले लागत वृद्धि भएको होटलले जनाएको छ। होटलमा ५६ प्रतिशत बैंकको ऋण र बाँकी ४४ प्रतिशत संस्थापकहरूको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएका छ।
जसअनुसार ९९ करोड रुपैयाँ ऋण र ७७ करोड २० लाख रुपैयाँ स्वपुँजी राखिएकोमा लागत बढेकाले थपिने भएको छ। होटलको काम ७० प्रतिशतभन्दा बढी सकिएको छ।
इन्टरनेसनल होटल्स ग्रुप(आइएचजी) को होलिडे इन एक्सप्रेस ब्रान्डमा सञ्चालनका लागि सम्झौताको तयारी भइरहेको छ। होलिडे इन एक्सप्रेसले विश्वभरी ३ हजार ५९ होटलको व्यवस्थापन गरिरहेको छ।
यस्तै ६ सय ४३ होटल पाइपलाइनमा छन्। होलिडे इन मिडप्राइस ब्रान्डको होटल हो। होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटरको दूरीमा छ।
होटलको अध्यक्ष नरेशलाल श्रेष्ठ र सञ्चालकमा महेश्वर श्रेष्ठ रहेका छन्। महेश्वर हस्तकला व्यवसायीका साथै नेपाल क्यान्सर अस्पतालको सञ्चालकसमेत हुन्। होटल सन् २०१२ मा स्थापना भएको हो।