काठमाडौं। अस्ट्रेलियाका महिला उद्यमीले पोखरा राष्ट्र बैंकस्थित पद्मावती हस्तकला उद्योगको अवलोकन गरेर सीपका बारेमा जानकारी लिएका छन्।
अस्ट्रेलियाको फेयर ट्रेड डाउनअण्डरका सञ्चालक रोज जमिसन, जिलियन कुले, क्यारोलेन डान्ससहित आएको सातजनाको टोलीले हस्तकला सामग्रीबारे जानकारी लिएका हुन्। अवलोकनका क्रममा क्यारोलेन डान्सले नेपालका महिला सिर्जनात्मक, निकै मेहनती लागेको बताइन्।
उनले भनिन्, 'हामीले पोखराका केही हस्तकला उद्योगको अवलोकन गर्यौ, यहाँका महिला निकै सिर्जनात्मक मेहनती हुनुहुँदोरहेछ, खेर जाने सामानको उच्चतम तरीकाले सदुपयोग गरेर निकै आकर्षक सामग्री बनाएको पायौं।'
उनले चाउचाउ विस्कुटको खोल, मकै खोस्टा, गहुँको नल, बाबियाबाट बनेका झोला, मोडा, म्याट लगायतका सामग्री निकै आर्कषक लागेको बताइन्।
यसैगरी अर्का उद्यमी जिलियनले कुलेले अस्ट्रेलियामा विशेष गरी घरमा सजाउन बढी मात्रमा हस्तकलाका सामग्री प्रयोग हुने जानकारी दिइन्।
उनले अरुहरुको सहयोगका लागि हस्तकला उद्योग खोलेको जानकारी दिँदै आफ्नो देशमा निकै सिमित महिला मात्र हस्तकलामा रुची राख्ने र अरु पेशा व्यवसाय गर्ने महिला बढी भएको जानकारी दिइन्।
उनले केही हात र केही प्रविधिको प्रयोग गरेर सामान उत्पादन गर्ने जुन बढी मात्रामा घर सजावटका लागि प्रयोग हुँदै आएको उनको भनाइ थियो ।
पद्मावती हस्तकला उद्योग महिला उद्यमी हिरा भट्टराईले २०६३ सालमा पोखराको राष्ट्र बैंक चोकमा स्थापना गरेकी हुन्। यस उद्योगबाट बाबिया, मकैको खोस्टा, गहुँको नल, जलकुम्भि, ऊनी धागो, बाँसका चोया, फ्रेब्रिक लगायतका कच्चा पदार्थबाट झण्डै ५० बढी प्रकारका सामग्री उत्पादन हुने भट्टराईले जानकारी दिइन्।
उनका अनुसार उद्योगबाट उत्पादित हस्तकलाका सामग्री र देशका विभिन्न जिल्लाबाट उत्पादन भएका सामग्री ‘नेपाल कोसेली घर’ बाट बिक्री वितरण हुँदै आएको छ।
विशेषगरी मकैको खोस्टाबाट बनेका मोडा आन्तरिक तथा बाह्य पर्यटकले बढी मन पराउने गरेका छन्। उद्योगमा ४ जना प्रत्यक्ष र करिब १५ जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। कच्चा पदार्थ लगेर घरघरमा साग्रगी तयार गरेर महिलाले ल्याउने गर्छन। सामानको उत्पादन हेरेर सोहीअनुसार ज्याला दिने गरेको उनको भनाइ छ।