काठमाडौं। वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठको एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ रामचन्द्र संघईको ‘टिम’ मा भित्रिएपछि नेपाल उद्योग वाणिज्य महासंघको राजनीति नयाँ मोडमा पुगेको छ।
शनिबारसम्म अञ्जनको गोप्य भेलामा सहभागी भएकी ज्योत्सना आइतबार एकाएक संघईको टिमबाट एसोसिएट उपाध्यक्ष बनेपछि महासंघको आसन्न निर्वाचन राजनीतिले नयाँ मोड लिएको हो।
अहिलेको यो राजनीतिले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टिमका एसोसिएट उपाध्यक्ष भरत आचार्य कमजोर हुनसक्ने देखिएको छ। संघईका एसोसिएट उपाध्यक्षका प्रत्यासी सन्दीप गाडियाले उम्मेदवारी फिर्ता लिएर त्यो ठाउँमा ज्योत्सनालाई लगेपछि अंकगणितका हिसाबले ज्योत्सना शक्तिशाली बनेको देखिन्छ।
आफूबाहेक दुई प्रतिस्पर्धी हुँदा आचार्यलाई सजिलो थियो। त्यही भएर उनी शान्त बसिरहेका थिए। उमेशलालको टिमबाट उपाध्यक्षमा उम्मेदवारी दिने हल्ला चलाइए पनि हालसम्म आधिकारिक घोषणा भएको थिएन। वरिष्ठ उपाध्यक्षका प्रत्यासीद्वय अञ्जन र संघईले आ–आफ्ना एसोसिएट उम्मेदवार खडा गरेपछि उनी स्वतः उमेशलालकहाँ पुगेको जस्तो देखिन्थ्यो। तर, आइतबार एकाएक अञ्जन एसोसिएट उपाध्यक्षविहीन बने। यसको अर्थ उनले अञ्जन र आचार्य जसलाई पनि सहयोग गर्नसक्ने देखिन्छ।
उमेशलालको एसोसिएटमा राम्रो पकड छैन। आफू कमजोर भएकै कारण उनले भरतको सहारा लिँदै आएका थिए। तर, भरत आफैं कमजोर बन्ने अवस्था देखिएपछि आफ्नो रणनीति बदल्न सक्ने देखिन्छ। उमेशको एसोसिएटमा पकड नहुनु, बलियो पकड भएका अञ्जन एसोसिएट उपाध्यक्षविहीन बन्नु, चुनावको मिति नजिकिएसँगै नयाँ उम्मेदवार खडा गर्न सक्ने समय पर्याप्त नहुनुलगायत कारण महासंघको एसोसिएट उपाध्यक्षमा कसले कसलाई सहयोग गर्ने भन्ने अन्यौल बढेको छ।
आजको अंकगणित आधार मान्दा ज्योत्सनालाई शंकर ग्रुप र त्यसअन्तर्गतबाट २ सय, रामचन्द्र संघईसँग भएको १ सय ५० गरी ३ सय ५० ‘प्रोक्सी’ मत छ। त्यसैगरी १९ सदस्य र एक उपाध्यक्षले प्रतिउम्मेदवार २५ भोट जम्मा गर्दा ५ सय प्रोक्सी हुन्छ। यसरी दुई मत जोड्दा ८ सय ५० प्रोक्सी मत ज्योत्सनाको पक्षमा छ। महासंघका अनुसार १ हजार ७ सय ५० एसोसिएट मतदाता छन्।
दुई प्रतिस्पर्धी हुँदा जित्नका लागि ८ सय ७५ मत चाहिन्छ। उनीसँग अहिलै ८ सय ५० मत भएका कारण ज्योत्सनाको पल्लाभारी देखिन्छ। र, सन्दीप गाडियाले उम्मेदवारी फिर्ता लिनेबित्तिकै भरत कमजोर अवस्थामा छन्। यदि, आचार्यले अञ्जनको साथ पाएको खण्डमा ज्योत्सनासँग कडा टक्कर पर्नसक्छ।
टिम फेरबदल भएसँगै एकअर्काबीच शंकाको वातावरण निर्माण हुने खतरा उत्तिकै छ। किनभने, उमेशलाल एसोसिएटमा बलियो पकड भएको अवस्था हुन्थ्यो भने भरत ढुक्कसाथ बस्दा हुन्थ्यो। अब भरतले चुनाव जित्न कुनै पनि हालतमा भित्रभित्र अञ्जनसँग ‘बार्गेनिङ’ गर्न सक्छन्।