काठमाडौं। हरेक हिसाबले अर्थतन्त्र शिथिल भएका बेला यसलाई उचालेर ठाउँमा पुर्याउने जिम्मेवारी डा। प्रकाशशरण महतको काँधमा आइपुगेको छ। लामो समय ‘अर्थतन्त्र’ भन्दा ‘राजनीति’ बढी बुझेका अर्थशास्त्री महतलाई लगभग धराशयी हुने अवस्थमा रहेको मुलुकको अर्थतन्त्र पुरानै ‘ट्र्याक’ मा ल्याउन सोचेजति सजिलो भने छैन।
अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका महतलाई अर्थशास्त्री भए पनि अर्थतन्त्रको वर्तमान अवस्था बुझेर गति दिन गाह्रो पर्ने देखिन्छ। अर्थतन्त्र समस्यामा परेका बेला अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु महतका लागि ठूलो अवसर पनि हो। महतले यो अवसरलाई कसरी पार लगाउँछन्, अर्थतन्त्रलाई पुरानै लयमा कसरी फर्काउँछन्, भोलिका दिनमा उनले गर्ने निर्णयले देखाउनेछन्। यति चुनौती सामना गर्छु भनेरै महत अगाडि आएकामा दुईमत छैन।
अर्थमन्त्रीको कुुर्सीमा बसेलगत्तै महतले अर्थतन्त्र सुधार गर्ने र निजी क्षेत्रको मनोबल बढाउने पहिलो योजना क्यापिटल नेपाललाई सुनाएका थिए।
नेपाली बैंकसँग अहिले लगानी गर्न पुँजी नहुने र ब्याजदर पनि उच्च हुँदा लगानी बढ्न सकेको छैन। अहिले बैंक ब्याजविरुद्ध उद्योगी–व्यवसायी आन्दोलनमा छन्। गाउँमा सिमान्तकृत वर्गबाट चर्को ब्याज असुलेको भन्दै गरिब–सर्वसाधारण लघुवित्तप्रति नकारात्मक छन्। यस्ता समस्या चिर्नुपर्ने चुनौती अर्थमन्त्री महतको काँधमा आइपुगेको छ।
चालू आर्थिक वर्ष सात महिनामा भुक्तानी सन्तुलन १ खर्ब ३३ अर्ब रुपैयाँ बचतमा छ। विदेशी मुद्रा सञ्चिति १३.८ प्रतिशत बढेर १३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। यति रकमले करिब १० महिनाको आयात धान्न सक्छ। यस अवधिमा रेमिट्यान्स पनि २७ प्रतिशत बढे ६ अर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।
यस्ता केही सकारात्मक सूचक हेरेर अर्थतन्त्र ठिकठाक अवस्थामा छ भनेर अर्थमन्त्री टक्टकिने हो भने मुलुकको अर्थतन्त्र कता पुगेर कुन धापमा जाकिन्छ, त्यो उनले राम्रो बुझेका छन्। किनकि, उनलाई ढिलो गर्ने छुट पनि छैन।
अर्थमन्त्री महतले अर्थतन्त्रमा गुमेको विश्वास फिर्ता ल्याई लगानीमैत्री वातावरण बनाउन अतिजरुरी छ। ठूला उद्योग आधाभन्दा कम क्षमतामा चलेका छन्, वस्तुको माग घटेको छ, ब्याजदर महँगो भएको छ, आम्दानी बढ्न सकेको छैन, सरकारको राजस्व परिचालनले लक्ष्य भेट्न मुस्किल छ भने आर्थिक वृद्धि साढे ४ प्रतिशतमात्र हुने योजना आयोगको प्रक्षेपण छ। हो, यिनै विषयमा नयाँ अर्थमन्त्री महत केन्द्रित हुनुपर्छ।