काठमाडौं। नेपाल वायुसेवा निगम(नेवानि)का पाइलटलाई जहाज उडाउनै लाग्दा पखाला चलेपछि दुबई उडान रद्द भएको छ। शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए २२९ को कोपाइलटलाई पखाला चलेपछि काठमाडौंबाट दुबई जो र दुबईबाट काठमाडौं आउने ५४३ जना यात्रु विमानस्थलमै अलपत्र परेका हुन्।
निगमका प्रवक्ता अर्चना खड्काले उडान रद्द भएपछि बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको जानकारी दिइन्।
त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र कोपाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो । तर, जहाजमा उपलब्ध हुने खानाले ‘फुड प्वाइजन’का कारण पखाला लागेपछि को-पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए ।
दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान (आरए२३०) उडान पनि रद्द भएको छ । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा राखेको छ ।
प्रवक्ता खड्का अनुसार, शनिबार राति ११ः३० बजेको रद्द उडान आरए२२९ लाई आइतबार बिहान ११ बजेका लागि राखिएको छ । काठमाडौं र दुबईमा होटलमा कति यात्रु राखिएका छन् भन्नेबारे आइतबार बिहान १० बजेसम्म विमानस्थलमा रहेका निगमका स्टेसनहरुले एकिन संख्या रिपोर्टिङ गरिनसकेको प्रवक्ता खड्काले जानकारी दिइन्।
शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो । निगमसँग दुइटा वाइडबडी विमान छन् ।