काठमाडौं। मुलुक चरम आर्थिक संकटसँग जुधिरहेका बेला अर्थतन्त्रको बागडोर डा. प्रकाशशरण महतको काँधमा आइपुगेको छ।
कतिपय साना तथा मझौला व्यवसाय बन्द हुने स्थितिमा पुगेका छन् भने ठूला उद्योग–व्यवसायका उत्पादन खुम्चिएको छ। जसका कारण मुलुकमा आर्थिक चलायमान सुस्ताएको छ। यस्तो बेला मुलुकले नयाँ अर्थमन्त्री पाएसँगै निजी क्षेत्र र आमजनताले नयाँ अपेक्षा लिइरहेका छन्।
खासगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ल्याउने नीतिका कारण व्यवसायहरू समस्यामा परिरहेका बेला निजी क्षेत्रले नयाँ अर्थमन्त्रीसँग धेरै अपेक्षा राखेको छ।
निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकमा जारी आर्थिक समस्या समधानका लागि अर्थमन्त्री महतले तत्कालै नयाँ नीति ल्याउने अपेक्षा लिएको बताए।
‘अर्थतन्त्र चलायमान बनाउन आवश्यक नीतिनियम बनाइ निजी क्षेत्रसँग समन्वय गरेर समाधानमा लाग्ने आशा र अपेक्षा लिएको छु,’ वरिष्ठ उपाध्यक्ष ढकालले क्यापिटल नेपालसँग भने।
नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रका हरेक क्षेत्र संकुचनमा परेकाले यसलाई फुकुवा गर्न विशेष भूमिका निर्वाह गर्ने अपेक्षा लिएका छन्।
मुलुकमा आर्थिक स्थायित्व निर्माण गर्न अर्थतन्त्र चलायमानका लागि आकासिएको ब्याजदर नियन्त्रणमा अर्थमन्त्रीले पहिलो कदम चाल्नुपर्ने मल्ले बताए। सरकारसँग निजी क्षेत्रले धेरै अपेक्षा राखेकाले मुलुकको अर्थतन्त्र सहजरूपमा चल्न सक्ने वातावरण बन्छ भन्नेमा पूर्णविश्वस्त रहेको उनले बताए।
ब्याजदर बढेका कारण उद्योग–व्यवसाय सञ्चालन गर्नसक्ने अवस्था नरहेकाले यसतर्फ पनि ध्यान दिनुपर्ने बेला आएको उनको भनाइ छ। यस्तै विकास खर्च बेलेमै हुने स्थिति ल्याउन सके अर्थमन्त्रीसँगको अपेक्षा धेरै मात्रामा पूरा हुने बताए।
महासंघका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले नवनियुक्त अर्थमन्त्रीले व्यवसायीको खस्कँदो मनोबल उच्च बनाउन तत्कालै नयाँ कदम चाल्नुपर्ने बताएका छन्। व्यवसायीको आत्मबल बढाउन तरलता व्यवस्थापन, ब्याजदर नियन्त्रण र कर्जाको समस्या तत्कालै समाधान होस् भन्ने निजी क्षेत्रको प्रमुख चाहना छ।
अहिले अर्थतन्त्र चलायमान नहुँदा बजार एकदम सुस्ताएको छ। जनताको खर्च गर्नसक्ने क्षमता घटेको छ भने सरकारको राजस्वसमेत घटिरहेको बेलामा नयाँ अर्थमन्त्रीसँग अपेक्षा धेरै रहेकाले यसलाई पूरा गर्न सकारात्मक कदम चाल्ने अपेक्षा राखिएको उनले बताए।
श्रेष्ठका अनुसार अहिले ६ खर्ब राजस्व संकलन भएकोमा ६ खर्ब १५ अर्बभन्दा बढी पुँजीगत खर्च भइसकेको छ। विकास निर्माण खर्च शून्यजस्तै भएका बेला सरकार सञ्चालनकै लागि आन्तरिक ऋण लिइरहनुपर्ने स्थिति आउनु गम्भीर अवस्थामा मुलुक पुगेको झल्को दिइरहेकाले यसलाई समेत समाधान गर्ने जिम्मेवारी अर्थमन्त्रीकै हो।
आर्थिक संकटमा परेका कारण व्यवसायीहरू पीडामा रहेकाले उनीहरूको आत्मबल बढाउने खालका निर्णय अर्थमन्त्रीले तत्कालै गर्न आवश्यक रहेको उनको भनाइ छ। ‘व्यवसायीको आत्मबल बढ्ने निर्णय गरेर अगाडि बढ्न सके अर्थमन्त्रीको कार्यकाल उत्साहजनक हुनेछ,’ उनले भने।
उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष रामचन्द्र संघईले नयाँ अर्थमन्त्री नियुक्तिपछि बिस्तारै अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिएको बताए।
‘अर्थतन्त्रमा जुन समस्या आइरहेको छ, यो समाधानमा गम्भीर भएर लाग्नु हुनेछ भन्ने अपेक्षा निजी क्षेत्रको छ,’ संघईले भने, ‘साना, मझौला उद्योग थला परिरहेको छ, यस्ता उद्योग पलायन हुनबाट जोगाउन अर्थमन्त्री महतले विशेष भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ।’
उनले अहिलेको जल्दोबल्दो समस्या समाधानमा अर्थमन्त्री महत गम्भीर भएर लाग्ने विश्वास निजी क्षेत्रले लिएको छ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष सुदेश खालिङले नयाँ अर्थमन्त्रीले जारी आर्थिक समस्या पार लगाउने आशा लिएको बताए।
‘पुरानो र अनुभवी व्यक्ति अर्थमन्त्रीका रूपमा पाएका छौं,‘ उपाध्यक्ष खालिङले भने, ‘अर्थ सचिव, राजस्व सचिव, राष्ट्र बैंक र निजी क्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गरेर कसरी चलायमान बनाउने भन्ने विषयमा निर्णय लिनु हुनेछ भन्ने अपेक्षाछ,’ उनले भने।
अहिले सरकारले खर्च गर्ने स्रोत नै जुटाउन मुस्किल भइरहेको अवस्था छ भने आन्तरिक ऋण बढिरहेको छ। सबैभन्दा समस्यामा परेको क्षेत्र भनेको निर्माणजन्य उद्योग भएकाले निर्माण व्यवसायीका बाँकी रकमहरु तत्कालै भुक्तानी गरिदिने हो भने बैंकमा तरलता अभाव हुने समस्या समधान हुने खालिङको भनाइ छ।
सरकारले आयोजनाहरुको रकम भूक्तानी नदिएकै कारण धेरै रकमहरु फसेको कारणले यस विषयमा अर्थमन्त्री ज्यूले विषेश भूमिका निर्वाह गर्ने अपेक्षा समेत आफुहरु रहेको बताए। उनले बैंक तथा वित्तिय संस्थाहरुले अहिलेको जारी समस्या समधानका लागि गर्नुपर्ने सम्पूर्ण भूमिकाहरु निर्वाह गर्नका लागि तयार रहेको बताउँदै राष्ट्र बैंकबाट आउने नीति तथा निर्देशनहरु पूर्ण रुपमा पालना गरिरहेको जानकारी दिए।