काठमाडौं । सरकारले अनुमति दिएमा आफुसँग रहेको ४ ओटा वाइ १२ जहाज बेच्ने मुडमा नेपाल वायुसेवा निगम पुगेको छ । बर्षौदेखि अलपत्र रहेको ती जहाजकै कारण आन्तरिक उडानमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकिएको निगमको ठहर छ ।
२ ओटा खरिद गरिएको र २ ओटा चीनले उपहार स्वरुप दिएको जहाज पटक पटक ग्राउन्डेड हुदै आएको छ । नेपालका दुर्गम क्षेत्रमा उडान गर्ने उद्धेश्यका साथ ल्याइएको जहाज मर्मत सम्भारमै बार्षिक रुपमा करोडौं रुपैयाँ खर्च हुने गरेको छ ।
अर्कोतर्फ वाई १२ जहाज उडाउनका लागि पाइलट नपाउने भएकै कारण पनि निगम व्यवस्थापनलाई तनाव छ । अन्तर्राष्ट्रिय उडानमा आफ्नो स्थानलाई बलियो बनाउदै गएपनि आन्तरिक उडानमा भने निगमले आफ्नो स्थान जमाउन सकेको छैन् । नियमित उडान नहुने भएकै कारण अहिले आन्तरिक उडानमा निगमले यात्रु पाउन मुस्किल हुने गरेको छ ।
सुरुमा चीनले मर्मत सम्भारका लागि प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको भएपनि पछि आएर बेवास्ता गरेको छ । अहिले ४ ओटा मध्ये ३ ओटा जहाज कहिलेकाही उड्ने गरेको छ ।
निगमका एक उच्च अधिकारीका अनुसार वाई १२ जहाज उड्दा भन्दा ग्राउण्डेड भएर बसेको बेला फाइदा हुने गरेको छ । जहाज उडाउदा इन्धनदेखि पाइलटलाई तलव दिन समेत वाइ १२ को कमाईले नपुग्ने भएपछि निगमले सो जहाज बेच्ने मुडमा पुगेको स्रोतको भनाई छ ।
जहाज बिक्रिको लागि संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग प्रारम्भीक रुपमा छलफल समेत भएको छ । तर चीनले उपहार स्वरुप दिएको जहाज बिक्रि गर्दा नकरात्मक असर पुग्ने र अर्कोतर्फ अर्थ मन्त्रालयले पनि स्वीकृती दिनुपर्ने भएकोले तत्कालै निर्णय हुन नसकेको ती अधिकारीले क्यापिटललाई जानकारी दिए ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधबार पत्रकार सम्मेलनमा सरकारले स्वीकृति दिएमा ती जहाजहरु बेच्न तयार रहेको बताएका छन् । वाई १२ जहाज उडाउने पाइलट नै नभएको कारण समस्यामा परेको बताउदै बिक्रि नभएसम्मका लागि उडान गर्न लागिएको उनले जानकारी दिए ।