काठमाडौं। मदन भण्डारी राजमार्ग आयोजना लक्षित समयमा सम्पन्न नहुने भएको छ। बर्सेनि कम बजेट विनियोजन हुँदा राष्ट्रिय प्राथमिकताप्राप्त सो आयोजना निर्धारित मितिमा सम्पन्न नहुने भएको हो।
आगामी आर्थिक वर्ष २०८१/८२ सम्ममा सम्पन्न गर्नुपर्ने आयोजना अन्तर्गत कतै निर्माण भर्खर सुरु भएको छ त कतै–कतै ठेक्कामा जानसमेत बाँकी रहेको जनाइएको छ।
आयोजनाले हालसम्म चार सय ५४ किमी ठेक्का व्यवस्थापन भएकामा दुई सय ६३ किमी सम्पन्न भएको छ। अझै दुई सय ८६ किमी ठेक्कामा जान बाँकी रहेकामा एक सय ८० किमी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको आयोजनाले जनाएको छ।
उक्त खण्डमा स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको आयोजनाका सूचना अधिकारी शिवशरण तिमल्सिनाले बताए। चालू आवमा सरकारले २४ किमीको लक्ष्य रहेको छ। उनले भने, 'अहिलेसम्मको बजेट विनियोजन, अर्थ मन्त्रालयबाट दिइने स्रोत सुनिश्चितता, बहुवर्षीय ठेक्का सहमतिका आधारमा त्यो अवधिमा नसकिने देखिएको छ।'
आयोजनाका लागि सुरु विनियोजित बजेट नै कम हुने गरेको आयोजनाले जनाएको छ। वार्षिकरूपमा पाँच अर्बमाथि खर्च हुने भए पनि चालू आवमा सुरु विनियोजन रु दुई अर्ब ८२ करोड थियो। उनले भने, 'कम्तीमा गत आव जतिको खर्च हुन्छ। आवको अन्त्यमा जाँदा बर्सेनि थप बजेट माग्नुपर्ने अवस्था रहेको छ।
बर्सेनि विनियोजित बजेट न्यून हुँदा आवको अन्त्यमा थप बजेट माग्नुपर्ने अवस्था रहँदै आएको छ। निर्माण व्यवसायीले बिल पेस गरेर रकम माग गर्ने तर समयमा पैसा नपाएपछि काम सुस्त गर्ने हुने उनले बताए। यसले गर्दा मजदुरले ज्याला नपाउने र निर्माण सामग्रीको पैसा दिन नसकेपछि पैसा नआउँदासम्म काम रोक्नुपर्ने हुनसक्ने उनको भनाइ छ।
आयोजनाअन्तर्गत ठेक्कामा जान बाँकी सडक र पुल दुवैका आधारमा तोकिएको अवधिमा आयोजना सम्पन्न नहुने देखिएको सूचना अधिकारी तिमल्सिनाले जानकारी दिए। बहुवर्षीय ठेक्का सहमति चाहिने र अर्थ मन्त्रालयबाट सहमति आएपछि ठेक्का व्यवस्थापन गर्न केही समय लाग्ने उनले बताए।
अहिले चलिरहेको ठेक्काको प्रगति राम्रो रहेको आयोजनाको दाबी छ। समयमा बजेट र स्रोत सुनिश्चितता नहुँदा कति वर्षमा सकिन्छ भन्न नसकिने भए पनि बजेट पर्याप्त हुँदा अबको तीनदेखि चार वर्षमा सम्पन्न गर्न सकिने सूचना अधिकारी तिमल्सिनाले जानकारी दिए। उनले भने, 'प्रगति बढाउनका लागि सुरु विनियोजन राम्रो हुनुपर्छ र स्रोत सुनिश्चितता हुनुपर्छ।'
ठेक्कामा जान बाँकी पुल छोटा र लामा दुवै किसिमका पुल रहेको उनले बताए। कणार्ली नदीलगायत ठूला नदीमा पुल बनाउनुपर्ने रहेकामा त्यो लामो हुने देखिएको छ। अरुतिर डेढदेखि दुई सय मिटरसम्मका पुल निर्माण गर्नुपर्ने उनले बताए।
अहिले निर्माण भइरहेको धरान–झापा खण्डमा जम्मा सात मिटर मुख्य सडक र दुवैतर्फ दुई–दुई मिटर नाली र पैदलयात्रुमार्ग गरी ११ मिटर रहेको छ। तराईमा ११ मिटर भए पनि पहाडमा छेउ संरचनाको भाग घटाएर डेढ मिटर त कतै ७५ सेन्टिमिटरमात्रै गरेर घटाइएको सूचना अधिकारी तिमल्सिनाले बताए। उनले भने, 'भूगोलअनुसार चौडाइ कायम गरिएको छ।'
सडकको चौडाइको समस्या बजार क्षेत्रमा बढी रहेको छ। साविकको बाटो चौडा गर्दा घर र टहरा पर्ने ठाउँमा समस्या रहेको उनले बताए। निर्माणाधीन अरु सडकमा जस्तै यो राजमार्गमा पनि सडकको अधिकार क्षेत्रका कारण समस्या आइरहेको छ। धरान, सुनसरी, मोरङ र झापामा अहिले निर्माणको काम भइरहेको छ। जुन–जुन ठाउँमा निर्माण भयो त्यहाँ–त्यहाँ समस्या आइरहेको उनले बताए।
अन्य निकायले यसअघि नै निर्माण भइरहेका सडकलाई कतिपय ठाउँमा अरु राजमार्गसँग जोड्ने वा गाभिने गरी सडक निर्माण गरिएको आयोजनाले जनाएको छ। विगतमा सञ्चालनमा रहेका सडक जोडेर बनाइएकाले पनि भइरहेको सडकको स्तरोन्नतिको काम बढी रहेको उनले बताए। उनले भने, 'हेटौँडाबाट गैंडाकोटसम्म महेन्द्र राजमार्ग, सिन्धुलीमा गए पनि बिपी राजजमार्ग, पश्चिममा रत्न राजमार्गमा गएर राजमार्ग मिसिएको छ।'
पहिलो चरणमा भइरहेका राजमार्गमा जोड्ने काम नै भइरहेको उनले बताए। राजमार्गको स्तरमा नभएका स्थानमा पनि दुई लेनमा सडक स्तरोन्नति गरिने उनले बताए। अहिले रिडी–तम्घासको २५ किमी खण्डमा दुई लेनमा स्तरोन्नति भइरहेको छ। अहिले एक वा मध्यवर्ती (इन्टरमेडिएट) सडकलाई दुई लेनमा लैजाने गरी छलफल भइरहेको उनले बताए। उनले भने, 'अबका दिनमा अरुको स्वामित्वको सडक पनि दुई लेनमा स्तरोन्नति गर्ने लक्ष्य रहेको छ।'
केही समय पहिले गृह मन्त्रालयले खानी उत्खननमा गरेको कडाइका कारण निर्माण सामग्री पाउन गाह्रो हुन थालेको थियो। अहिले खुलाइएकाले केही सजिलो भएको सूचना अधिकारी तिमल्सिनाले बताए। चुरे फेदीमा राजमार्ग बन्ने र त्यस क्षेत्रमा उत्खनन सजिलो नभएकाले समय–समयमा समस्या आइरहेको उनले बताए।
राजमार्ग निर्माणका क्रममा रुख कटानको समेत समस्या आइरहेको छ। धरान–झापामा वन कटानका लागि परिमार्जित अध्ययन गरेर सहमति लिन फाइल उठाइएको उनले बताए। पहिले अध्ययन गरेकोे भए पनि काट्नुपर्ने रुख संख्या थपघट भएर पुनः गर्नुपर्ने भएकाले पुनः गरिएको हो ।
आयोजनाअन्तर्गतका योजना कार्यालयले अहिले धरान–झापा, गुल्मी, सुर्खेतलगायतका जिल्लामा काम गरिरहेका छन्। पूर्वी खण्डमा धरान–झापा खण्डमा केही बाँकी छ भने पश्चिम खण्डमा बढी काम बाँकी रहेको छ।
पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रूपमा रहेको सो राजमार्गको लम्बाइ एक हजार तीन सय ९० किमी छ। सो मध्ये पनि आयोजनाले सात सय ४० किमी सडक र एक सय ८५ पुलको निर्माण गरिरहेको छ।
विसं २०७५ जेठ ६ को मन्त्रिपरिषद् बैठकबाट मदन भण्डारी राजमार्ग नामकरण गरेर निर्माण सुरु गरिएको थियो। त्यतिबेला लक्ष्य निर्धारण नभए पनि सरकारले नीति तथा कार्यक्रममा आव २०८१/८२ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको थियो। रासस